मिथिला, कृषि, संस्कृत र स्वास्थ्यको प्रतीक ‘जुडशीतल’ पर्व

प्रवीण झा

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यो पर्व मिथिलाञ्चलमा नयाँ वर्षका रुपमा मनाइन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ ।

मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको सुस्पष्ट प्रभाव प्रतिपादित हुन्छ । जुडशीतल पर्वमा प्रयोग हुने सबै कृषि कर्मबाट उत्पादित उत्पादन हुन्छन् । यस पर्वलाई वैशाखीसमेत भन्ने गरिएको छ । यसमा सातुको प्रधानता रहन्छ । यस पर्वमा घरका सबैभन्दा पाकोले बिहान उठेर नुहाइधुहाइ गरी जल लिएर आफ्ना ससाना बालबालिकाको तालुमा जलसिञ्चन गरी आशीर्वाद दिने गरिन्छ । यसो गर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा मन दिन्छ भन्ने विश्वास पाइन्छ ।

यस पर्वमा विभिन्न किसिमका तरुवा, खाना, करिबरी पकाई भोलिपल्ट आफ्नो इष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सो दिन चुल्होमा आगो बालेर खान नपकाउने चलन पनि रहेको छ । अघिल्लो रात पकाएको बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भने जनविश्वास पनि पाइन्छ । यस पर्वमा पुर्खाका लागि भनेर जलले भरेको घैँटो, सतुआ, जौ, आँपको टिकुला तथा पङ्खा दान गर्ने परम्परासमेत रहेको छ ।

जुडशीतल पर्वमा गृहिणीले इष्टदेवलाई पूरै निको पातमा सतुवा, आँपको टिकुलाबाट बनाइएको चटनी (अचार) पनि चढाउने चलन छ । यस पर्वमा रूखका जरामा पानी हाल्ने र इष्टदेवलाई बासी, बरी, भात, पुरी र तरकारीजस्ता परिकार पनि चढाइने गरिन्छ ।

जुडशीतलकै दिनदेखि तुलसी चौरा वा शिवलिङ्ग छेउमा बाँस गाडेर त्यसमा घैँटोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिङ्गमा थोपाथोपा पानी झर्ने गर्छ । यो क्रम सङ्क्रान्तिसम्ममा रहिरहन्छ ।

सुकिसकेका इनार तथा पोखरीलाई पुनः जलले सिञ्चित गर्ने चलन पनि रहेको छ । इनार र पोखरीलाई सफा पार्ने सन्दर्भमा बालकदेखि वृद्धसम्म जुटेर शरीरमा हिलो माटो खन्ने गर्छन् । भ्रातृत्वको भावनालाई बढाउन र एकआपसमा प्रेम गर्ने प्रेरणासमेत यस पर्वले दिने गरेको छ । यस पर्वमा समाजका सबै जाति मिलेर एकसाथ हिलोमाटो छ्यापेर उमङ्गसाथ रमाइलो गर्छन् । शरीरमा हिलो छ्यापेर वा दलेर यो पर्व मनाउँदा शरीरको गर्मी समाप्त भएर जान्छ भन्ने विश्वाससमेत पाइन्छ ।
(प्रवीण झाको फेसबुकबाट साभार)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com