डा.सीके राउतको अभियान : भ्रम र यथार्थ

ई.दीपक कुमार साह

२०५२ सालतिर तराई विद्यार्थी नवजागरण संघ पुल्चोक क्याम्पसको सदस्य बनाउने क्रममा ललितपुरको चाकुपाटमा डेरा गरी बस्ने मधेशको विकट गाउँबाट आएका एक अद्भुत युवासँग भेट भएको थियो । जो पुल्चोक कलेजमा ओभरसियरमा अध्ययनरत् थिए । उनलाई संघको सदस्यता लिन आग्रह गर्दा ‘मधेशी–पहाडी केही हुँदैन, हामी सबै नेपाली हो’ भनेर सुनाएका थिए ।

भर्खरै १७ वर्ष लागेको त्यो ठिटाले एक जनाको दिमागले अर्को मान्छेको दिमागसँग सूचना आदान–प्रदान कसरी गराउन सकिन्छ भन्ने सोच्दथे । उसले जिम्मा पाएको काम एकदिन अगाडि नै सकाउँथे । उही युवा अमेरिकाको सुखमय जीवन त्यागी मधेश फर्केर समृद्ध मधेश निर्माणमा लागिपरेका छन् । जसको नाम हो, डा.सीके राउत । आफ्नो अस्तित्व खोज्ने क्रममा मधेश र मधेशीको अस्तित्व संकटमा रहेको महसुस गर्दै ‘स्वतन्त्र मधेश गठबन्धन’ घोषणा गरी सम्पूर्ण मधेशीहरुलाई एक ठाउँमा उभिन उसले आग्रह गरेका छन् ।

उनको बारेमा अनेकन समाचार आउन थालेपछि उनको अभियानबारे खोजबिन गर्नतिर लागे ।

डा.राउतले गर्न खोजेका आन्दोलनहरु :

मधेश गठबन्धनका रुपन्देही संयोजक भुपेन्द्र यादवको भनाई अनुसार डा. राउतले कार्यकर्तालाई दिने गरेको तालिममा नेपाली राज्यको विरोध मात्रै नगरी समाजमा रहेका कमी–कमजोरीको विरोधमा अझै सशक्त रुपले आन्दोलन गर्नुपर्ने कुरा सिकाउने गरेको छ ।

पहिले हामी आफ्नो व्यक्तित्व विकास र उन्नतिका लागि आन्दोलन गर्नु जरुरी छ । उदाहरणका लागि शिक्षाका लागि आन्दोलन, स्वयम्सेवक अभियान, सामाजिक जागरण अभियान, मधेश फर्किने आन्दोलन, दहेज प्रथा विरुद्ध आन्दोलन, वैवाहिक फिजुलखर्ची बन्द आन्दोलन, सराब र जुवा विरुद्ध आन्दोलन, छुवाछूत र भेदभाव उन्मूलन आन्दोलन, महिला अधिकार आन्दोलन, मधेशी भाषा र भेषभुषा आन्दोलन, मधेश खेलकुद विकास आन्दोलनका कुराहरु आत्मसात गरी समाजलाई सकारात्मक दिशामा लाग्न सिकाउने गरेको छ ।

उनले आफ्ना कार्यकर्तालाई क्रोध नगर्न, प्रतिशोध नलिन, सरकारले गिरफ्तार गर्न खोजे गिरफ्तारी दिन, गालीगलौज नगरी आदर गर्न, सरकारी कर्मचारी र नेपाल प्रहरीलाई पनि आक्रमण र अनादरबाट बचाउनु पर्ने गान्धीवादी कुराहरु सिकाउने गर्छन् ।

मधेशमा बसेका पहाडीहरुलाई पनि सम्मान गरी हाम्रो अजादीको आन्दोलनमा सहयोग गर्न आग्रह गर्न भन्छन््, जस्तै कि भारतको अजादी आन्दोलनमा अंग्रेजहरुले सहयोग गरेका थिए ।

उनको नेतृत्वमा संचालन हुने मधेश नेतृत्व विकास तालिम, स्वयम्सेवक तालिम हरेक मधेशी राजनीतिक पार्टीको सदस्यहरुसँगै हरेक मधेशीका लागि हो । उनको कार्यक्रममा नेपाल प्रहरीको गुप्तचरदेखि पत्रकारसम्म उपस्थित हुने गरेको छ । उनको हरेक गतिविधि अन्तर्राष्ट्रिय कानुनलाई मान्य हुने गरी सञ्चालन गरेको देखिन्छ ।

स्वयम्सेवक दस्ता गठन गरी आगलागी रोकथामको उपाय गाउँ–गाउँ गएर सिकाउने र आगलागी निभाउन सधै तत्पर रहन आग्रह गर्ने गरेको छ ।



मधेशी–थारुको नरसंहार रोक्ने शूत्र :

२०६९ सालमा डा.राउत मधेशमा बस्ने गरी आउनुभन्दा अगाडि नै माओवादीको हिंसात्मक आन्दोलनमा लागेर हजारौं थारू–मधेशीको नरसंहार भइसकेको थियो । माओवादी जनयुद्धको नाममा हजारौं सैनिक, प्रहरी बल थपिदा हरेक नेपाली जनताले बढी कर बुझाउनु परेको छ । अन्य कयौं किसिमको मारमा परेका छन् जनता ।

पछि स्वतन्त्र मधेशका लागि स्थापित सशस्त्र समूहको नाममा सैयौं मधेशी युवाहरुको राज्यबाट नरसंहार भयो । हजारौं गैरन्यायिक हिरासतमा छन् । मधेशीहरुको नरसंहार हुने क्रम मधेश आन्दोनलमा पनि जारी नै रहेको छ । मधेशी राजनीतिक पार्टीको विभाजन, नातावादले मधेशी जनतामा निराशा छाएको छ ।

डा.राउत नेपालमा आएर न त कुनै राजनीतिक प्रक्रियामा बाधा उत्पन्न गरेको छ न त कुनै सरकारी कामकाजमा अवरोध गरेको छ । न त कसैको ज्यानलाई धरापमा राखेका छन् । उनी आएपनि न आएपनि आन्दोनल हुन्छ नै, आतंक मच्चिन छ नै । उनको विचारले मधेशका युवाहरुलाई सही बाटोमा हिंड्न जोश पैदा गरेको छ, मधेशलाई समृद्ध बनाउने बाटोमा लाग्न खोजेका छन् ।

मधेशमा चुनौती र द्वन्द्व व्यस्थापन गर्नतिर लागेका छन् । जसका लागि स्वयम्सेवक तालिमहरु संचालन गर्दै हिंडेका छन् । उनका कार्यकर्तालाई नेपाल प्रहरीले दमन गरेपनि प्रहरीलाई गुलाबको फुल दिन प्रेरित गरेका छन् ।

गोर्खा सैनिकले नेवारहरुको जात्राको दिन भोजभतेर भएको बेला नरसंहार गरेको इतिहास छ, अहिलेसम्म पनि कतै न कतै उक्त मनोविज्ञान झल्कने गरेको छ । मधेश र मधेशीको अधिकारका लागि हतियार नै उठाउनु पर्नेलाई पनि सधैं शान्तिपूर्ण रुपमा आन्दोनल गर्ने तरिकाहरु सिकाउन खोजी हजारौं मधेशी–थारुहरुलाई नेपाली राज्यबाट हुन सक्ने नरसंहारबाट बचाउन खोजेका छन् ।

उनको दस्तावेजहरु अध्ययन नगरी कुरा काट्नेहरु आफैलाई धोखा दिँदैछन् अथवा आफूलाई भ्रममा राखेर रमाउन खोजेका छन् । डा.राउतले १०–१२ वर्षपछि स्वतन्त्र मधेशका लागि लड्ने कुरा गरेको छ, उक्त मुद्दा सशक्त हुने नहुने नेपाल राज्यको मधेशी जनताप्रतिको उत्तरदायित्वमा भर पर्ने निश्चित छ ।
(लेखक : मधेशी अधिकारकर्मी हुन् ।)

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com