वैकल्पिक दलको खोजीमा मधेशी जनता - रामसुकुल मण्डल (बेलाको बोली )

मधेशी दलहरु काठमाडौं केन्द्रित हुँदा बाबुराम मधेशमा स्थान बनाउँदै

६ महिनाभन्दा बढी समयसम्म चलेको मधेश आन्दोलन बिना कुनै ठोस निष्कर्ष स्थगित भएपछि मधेशमा विभिन्न किसिमका शक्तिहरूले आफ्नो पकड बनाउन प्रयास तीव्र पारेका छन् । मधेशलाई राजनीतिक प्रयोगशालाको रूपमा प्रयोग गर्दै आएका सत्तारूढ पार्टीहरूले जनताको भावनालाई कहिल्यै पनि बुझेनन् । उनीहरूले जहिले पनि यो वा त्यो बहानामा मधेशीलाई दास र मधेशलाई उपनिवेश बनाइरहने राजनीतिका तानाबाना बुन्दै आए । सत्तारूढ समुदायको लागि मधेश नभइ नहुने भएपनि त्यहाँका आदिवासीहरूलाई उनीहरूले बहरिया देख्ने गरेका छन् । साथै सोही अनुरूपको व्यवहार सत्तारूढ समुदायहरूले गर्दै आएका छन् । पछिल्लो समय सत्तारूढ समुदायका व्यक्तिहरूको नेतृत्वमा रहेको माओवादी पार्टीले पनि मधेशको आत्मनिर्णय र स्वशासनको नारा लगाएपनि व्यवहारमा त्यो पूरा गरेन् । परिणाम संघीयताकै लागि मधेशीहरूलाई आन्दोलन गर्नुपरेको थियो । अनि अहिले स्वायत्त मधेशका लागि मधेशीहरूलाई आन्दोलन गर्नुपरिहेको छ ।


सत्तारूढ समुदायको उदारतामा पनि कुटिलता समावेश भएको पाइन्छ । उनीहरूले मधेशमा जाँदा मधेशी पहिरनमा सजिएर जनताको सामुने उभिएर भावनासँग खेलवाड गर्ने तर, काठमाडौं आउने बित्तिकै मधेशको ‘म’ पनि सुन्न चाहने गरेका छैनन् । तर मधेशीहरू सत्तारूढ खस समुदायका अनुहारप्रति बढी आसक्ति राख्ने गरेको पाइन्छ । यसका दुई कारणहरू हुन सक्छन् ।

शताब्दीयौंसम्म गैर नागरिकको रूपमा अपमान र अपहेलना सहनुपरेको अवस्था र उपनिवेशको रूपमा पीडा भोगेकाहरूको समुदायको मानसिकताले मधेशीहरूले ती अनुहारहरू प्रति बढी अनुग्रहित भएको हुन सक्ने विज्ञहरूको बुझाइ रहेको छ । मधेश हरेक किसिमबाट उर्वर भूमि हो । कांग्रेस, एमाले र एमाओवादीलगायतका पार्टीहरूको आधार भूमि मधेश हो । मधेशबाट मत र करसम्मको मात्र सम्बन्ध राख्दछन् यी दलहरू ।


मधेश आन्दोलन २०६३÷०६४ पश्चात् मधेशको राजनीतिमा उदाएका मधेशकेन्द्रित दलहरूबाट मधेशी जनताले धेरै आशा गरेका छन् । नेपालको राजनीतिक वृत्तमा इतिहासमै पहिलोपटक चौंथो शक्तिको रूपमा मधेशीले मधेशकेन्द्रित दलहरूलाई संविधानसभामा पठाएका थिए ।
तर, सिंहदरबार छिर्ने बित्तिकै मधेशकेन्द्रित दलहरू सत्ता र भत्ताको लोभमा फँसेर मधेशी मतादेशको अपमान गरे । आफू मन्त्री हुँदा मधेशको मुद्दाबारे एकपटक पनि नबोल्ने तर, मन्त्री पदबाट हट्नेबित्तिकै ठूलो आन्दोलनकारी हुने गरेका थिए ।


६ महिनासम्म चलेको मधेश आन्दोलनमा ५५ जना मधेशीले शहादत प्राप्त गरे तरपनि आन्दोलनका मागहरू सम्बोधन हुनसकेन । यसका कारक तत्व के हो र किन आन्दोलन सम्बोधन हुन सकेन भन्ने कुराको आत्मसमीक्षा हुन सकेन । अहिले राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिँदै मधेशी मोर्चाका नेताहरू काठमाडौंकेन्द्रित भएका छन् ।
यता, मधेशमा आफ्नो पकड बनाउन डा. बाबुराम भट्टराई गाउँ–गाउँ घुमिरहेका छन् । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानले मधेश जागरण अभियान लिएर मधेशका घर–घरमा पुगिरहेका छन् । यहाँसम्म कि मधेशमा गएर मधेशी मोर्चाका नेताहरूलाई ‘दोगला’ भन्ने उपनाम पनि दिँदै हिंडेका छन् ।


मोर्चाका शीर्ष नेताहरू काठमाडौं केन्द्रित भएका छन् भने भट्टराईले मधेशमा मधेशी मोर्चाकै नेताविरूद्ध वक्तव्य र भाषणहरू गर्दै हिंडेका छन् । भट्टराई मधेशी मोर्चाका नेताहरू दोगला चरित्रको रहेको भनेपनि त्यसको जवाफ मोर्चाका नेताहरूसँग छैन । मोर्चाका शीर्ष नेताहरूमाथि प्रहारको जवाफ खोज्न उनीहरूलाई व्यवस्थापिका संसदबाट हटनुपर्ने आँट चाहिन्छ ।

त्यो आँट नभएसम्म डा. भट्टराई लगायत मधेशीहरूको नजरमा विश्वास गुमाएका मधेशी केन्द्रित राजनीतिक दलका नेताहरूमाथि मधेशी जनताको गुमेको विश्वास पलाउन गाह्रो हुनेछ । सरकारमा सामेल हुन खोज्ने तिकडम भिराएर राजधानी बसेका मधेश केन्द्रित दलका नेताहरूले आफूविरूद्ध अविश्वास जन्माएका छन् । सोही अविश्वासको आधार टेकेर डा. भट्टराई जस्ताले मधेशको नेतृत्व लिँदा आश्चर्य मान्नु पर्दैन ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com