महन्थबाट विस्तृत मधेश एजेन्डा पाउने अपेक्षा (विचार)

जयप्रकाश गुप्ता

यस बर्षको होलीका बेलाको कुरा हो । भारतीय राजदूत रंजित रेले होली शुभ कामनाका लागि मधेशी मोर्चाका नेताहरूलाई दूतावासमा आमन्त्रण गरेका थिए । त्यहाँ महन्थ ठाकुरले राजदूतसँग “आन्दोलन एकाएक रोकिएकोमा गुनासो गर्नु भयो । मधेशीहरूले निर्णायक रूपमा पु¥याउन लागेको आन्दोलनमा एकाएक ब्रेक लाग्यो । मोर्चाको आन्दोलनमा ब्रेक लगाउने कार्यमा हामीभित्र र बाहिरका सहयोगी एवं शुभचिन्तकको समेत सहयोग रह्यो ।” भन्नु भयो । चैत्र १२, २०७२ को यो वार्तालापको समाचार तत्काल बाहिर आयो । यसमा महन्थ ठाकुर जीले “बाहिरका सहयोगी” भनेर भारतलाई इंगित गर्नु भयो । ठाकुरले राजदूतका समक्ष आन्दोलन रोकाउनमा भारतले खेलेको भूमिकाप्रति दुःखेसो नै पोख्नु भयो । ठाकुर जीले व्यक्त गर्नु भएको सो कुरा उहाँकै पार्टीका नेताको भनाई भनी पत्रपत्रिकामा आयो । बिभिन्न अनलाईनहरूको अभिलेखमा यो छ नै । मेरो विचारमा ठाकुरले एक कटु सत्य दुःखको रूपमा बोल्नु भयो । मधेशको राजनीतिमा चाख राख्नेहरू, समाचार तथा घटनाक्रमलाई पछ्याउनेहरूले यस समाचारमा ध्यान दिएकै हुनु पर्दछ । मधेशको राजनीतिमा किन यस्तो हुन्छ ? यसबारे थोरै भएपनि विमर्श हुनु जरूरी छ ।

महन्थ ठाकुर मधेशको राजनीतिमा आउनु हुँदा नेपाली टाईम्समा सिके लालले लेख्नु भएको थियो, “कालो बादलमा चांदीको घेरा देखियो ।” पहिलो मधेश आन्दोलनको असफलताले व्यक्तिगत रूपमा उपेन्द्र यादवको भूमिका, क्षमता र ईमान्दारिता संदिध्न भएको थियो । त्यसबखत महन्थ ठाकुरका प्रतिको उक्त टिप्पणी अपेक्षित र आशाप्रद संदेशयुक्त थियो । परिणामहीन भएको पहिलो मधेश आन्दोलनलाई पुनर्जीवन दिन ठूलो भरोसाका साथ व्यक्त भएको अभिव्यक्ति थियो त्यो । त्यस बखत हठात् उदाएका उपेन्द्र यादवलाई धेरैले चिन्न भ्याएका थिए । उनी प्रतिको ‘मीथ’ पखालिदै गएको थियो । महन्थ ठाकुर प्रतिको भरोसाको सबभन्दा ठुलो कारण पनि उहाँको परिचित व्यक्तित्व, प्रजातान्त्रिक आस्था र सद्भावका साथ शान्तिपूर्ण तबरमा मधेशको समस्यालाई समाधान गर्ने प्रतिवद्धता थियो । उहाँले परिणामहीन रहेको मधेश आन्दोलनलाई सार्थक टुंगोमा पु¥र्याउनुहुन्छ भनी धेरै मधेशीले भरोसा जाहेर गरे ।

यो यस्तो समय थियो, जतिबेला पर्वते समुदायका कतिपय राजनीतिक–सामाजिक सक्रियतावादीहरू समेत महन्थ जी जस्तो व्यक्तित्वको पहलमा मधेशी जनताको मागहरू पुरा होस् चाहेका थिए । पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, सुन्दरमणि दीक्षित, खगेन्द्र सँग्रौला, लोकराज बराल, कृष्ण खनाल लगायत यस्ता मानिसहरूको सूचि लामै थियो ।

महन्थ ठाकुर समेतको नेतृत्वमा दोस्रो मधेश आन्दोलन भयो । परिणामको दृष्टिले यस आन्दोलनको पटाक्षेप ठिक रहेन । यदि ठिक भएको भए आज मधेश र राज्य बीचको तनाव रहने थिएन । भारतीय दूतावासको अतिसक्रियताका बीच उपेन्द्र यादवले पनि घुँडा टेक्दै ८ बुंदे सम्झौता भयो । संविधानसभाको निर्वाचन गराई छोड्न मधेशलाई घुडा टेकाइयो । यस सम्झौताका कारणले नै संविधानसभाको निर्वाचन सम्भव भयो । मधेशले फगत तुष्टिकरणमा रमाउनु परेपनि देशलाई संविधान सभाको लीकमा हिडाउनुमा महन्थ जीको लचकदार व्यक्तित्वको योगदान रह्यो ।

यतिखेर संघर्ष, सत्ता र संसदका बीच समन्वयको गम्भीर चुनौति मधेशी दलका सामु आयो । यसबेला मधेशको राजनीतिलाई निष्ठाको डगरमा डो¥याउन महन्थ ठाकुरले केही अप्रत्यासित अडानहरू लिनु भयो । संविधान सभामा रहेका मधेशी दलहरूले राष्ट्रपतिको निर्वाचनमा रामवरण यादवलाई हैन रामराजा प्रसाद सिंहलाई मतदान गर्नुपर्ने उहाँको अडानलाई भारतीय दूतावासले हल्लाउन सकेन । माओवादी–मधेशी सहकार्यको राष्ट्रपतीय उम्मेदवार रामराजा प्रसाद सिंह हुनुहुन्थ्यो । भारतीय दूतावासले नेपाली कांग्रेस, एमाले र फोरम नेपालका बीच अप्रत्यासित गठबन्धन गरायो । यसैबाट रामवरण जी राष्ट्रपति बन्न सक्नु भयो । यसमा महन्थ ठाकुर सहमत हुनु भएन । उहाँले राष्ट्रपतिमा रामराजा प्रसाद सिंह र उपराष्ट्रपतिमा परमानन्द झालाई मतदान गर्ने निर्णय लिनु भयो । यद्यपि मतदानबाट रामवरण जी विजयी हुनु भयो । यसबारे कुनै बेला विस्तृत चर्चा गरौला ।

मेरो पहलमा फोरम नेपालका १४ जना सभासद् उपेन्द्र यादवको अपारदर्शी वा उतिबेलै गरिएको सत्ता समर्पण मुद्दा विसर्जनमुखी कार्यको बिरोधमा हामी रामराजा प्रसाद सिंहलाई मतदान ग¥यौं । अब सत्तामा सहभागिताबारे महन्थ ठाकुरले उपेन्द्र यादवको भन्दा अलग बाटो लिनु भयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री हुनबाट रोक्न नसकेपछि भारतले अन्ततः फोरम नेपाललाई सरकारमा सहभागी हुन दबाब दियो । भारतको दबाब, बिजय गच्छदार–राजेन्द्र महत्तोको उक्साहट तथा उपेन्द्र यादवमा भर्खर–भर्खर जन्मेको “पावर लस्ट” ले गर्दा उपेन्द्रले फोरम नेपाललाई सरकारमा जाने निर्णय गराए । बाध्यतावश नै होला, महन्थ ठाकुरले प्रचण्डको सरकारलाई समर्थन त गर्नु भयो । तर, पार्टीबाट सरकारमा सामेल गराउन मान्नु भएन । यतिबेलासम्म महन्थ जी यदाकदा यस्ता प्रलयकारी दबाबलाई झेल्न सक्षम देखिनु भएको थियो । यसपछि महन्थ जी लगातार सरकारलाई आठबुंदे सम्झौताको परिपालन गर्न दबाव बढाउँदै लानु भयो । महन्थजी संविधान सभाको निर्वाचनमा प्रत्यक्षबाट पराजित हुनु भएको थियो । यसका बावजूद महन्थजी मन्त्रिपरिषद्को मनोनित कोटाबाट संविधान सभाको सदस्य मनोनित हुनुभयो । उहाँले नैतिक रूपमै सत्ताप्रति कृतज्ञ हुने यस प्रस्तावलाई किन स्वीकार्नु भयो ? शायद यो उहाँको लालच थिएन । यद्यपि यहाँबाट महन्थ जीको नैतिक शक्तिमा ह्रास आएको भनी मान्नेहरूको संख्या बढेको देखिन्छ ।

मधेशले आफ्नो अधिकार पाउन मधेशी शक्तिका बीच दरो एकता हुनु आवश्यक छ – यो आज पर्यन्त सबै मधेशीको चाहना रहेको छ । महन्थ जी यस एकताको सबभन्दा भरपर्दो मियो मानिनु भएको हो । तर, मधेशी जनअधिकार फोरम नेपालको विभाजनमा उहाँको सर्वथा अनपेक्षित भूमिकाले मधेशी पार्टीहरूमा विभाजनको श्रीगणेश गरायो । साथै मधेशी एकताको चाहनालाई ठूलो नोक्सान पु¥यायो । फोरम विभाजनको कार्यमा महन्थ जी बिजय गच्छदारको साथ दिनु नितान्त गलत र अनपेक्षित कार्य थियो । भनिन्छ, मधेशका लौह पुरूषले दबाब थेग्न सक्नु भएन । माधव नेपाललाई प्रधानमंत्री बनाउनका लागि महन्थ ठाकुरको प्रयोग जसले गरेपनि त्यो उहाँको मर्यादित व्यक्तित्वको दुरूपयोग नै थियो । वास्तवमा यस घटनाले मधेशी पार्टीहरूका बीच घोडा खरीदको व्यापार “हर्स ट्रेडिंग” को जन्म दियो ।

मधेशी एकतालाई पनि धेरै पर धकेलिदियो । मधेशी नेतृत्वका बीच तिक्तता जन्मायो । माधव नेपाल जस्तो मानिसको मुकुटपोशीका लागि मधेशले ठूलो मूल्य चुकायो । अहिले महन्थजीले विजय गच्छदार र माधव नेपाल यी दुबै जनालाई सम्झिनु पर्दा दुःख र खेदको अनुभूति हुँदोहोला उहाँलाई । विश्लेषकहरूले अवश्य पनि खोजी गर्ने होलान कि कुन बाध्यतावश महन्थजी मर्यादाको ठाउँमा अड्न सक्नु भएन ? पहिलो र दोस्रो संविधान सभाका दौरान मधेशका सवालहरूलाई संस्थापन गराउनुमा र सत्ता राजनीतिमा महन्थ ठाकुर अन्य मधेशी नेताका भन्दा किन अलग देखिनु भएन ? यसको बस्तुनिष्ट मूल्यांकन गर्ने काम त विश्लेषकहरूकै हो ।

अहिले काठमाडौंकेन्द्रित आन्दोलन भैरहेको छ । म यस अघिको अर्थात नाकाबन्दीबाला मधेश आन्दोलनको चर्चा गर्न चाहन्छु । त्यस आन्दोलनमा महन्थ ठाकुर सर्वाधिक ठूलो नेता हुनुहुन्थ्यो । चार दलको मधेशी मोर्चामा ठाकुरजीको भूमिका पन्छाउनै नसकिने, निर्णायक र समन्वयकारीको थियो । यो भूमिकाको समुचित प्रयोग हुँदा पहिलो कुरा, अन्तिम बेलामा पनि संविधानसभालाई केही हदसम्म अझ उपयोगी बनाउन सकिने कतिपयको राय छ । अन्तिम र निर्णायक बेलामा पुग्नु अघि नै मोर्चाले निरन्तर संविधान सभाको बहिष्कार गरिरह्यो ।

दोस्रो कुरा ः आन्दोलन ६२ दिन नाघ्दा पनि मोर्चाले सूत्रबद्ध रूपमा मागहरू राख्न सकेन । उपेन्द्र यादवले एकोहोरो रूपमा २२ सूत्रीय र राजेन्द्र महतोले पटक पटक ८ सूत्रीय माग पुरा भए आन्दोलन स्थगित गरिने बताईरहे । यसपछि मधेशी नागरिक समाजका माध्यमबाट ३५ बुँदे अनि फेरि मोर्चाबाट औपचारिक रूपमा ११ बुंदे माग राखियो । यस आन्दोलनका दौरान र पछिका समेत गरी सरकारसँग मोर्चाको ३६ पटक वार्ता भयो । यी सबै वार्ताहरू मूलतः ९ बुंदामा केन्द्रित थियो । यो एक प्रकारले अत्यन्तै बिसंगत अवस्था हो । भारतले ओली सरकारसँग (कांग्रेस र माओवादी समेतसँग सहमति भएको भनिएको) ४ बुंदे सहमति गरेको समाचार आजपनि अकाट्य नै छ । भारतको परराष्ट्र मंत्रालयको विज्ञप्तिमै भनियो कि भारत सहमतिका लागि प्रस्तावित ४ वटै बुँदाको कार्यान्वयन चाहन्छ । आज धेरैलाई याद होला, मूलतः दुई विषयमा (प्रतिनिधित्व र समावेशीकरण) यस संविधानको पहिलो अपूर्ण संशोधन भएपछि भारतले बाँकी थप दुई (नागरिकता र सीमांकनको समिति) बिषयको पनि कार्यान्वयन हुनुपर्ने भन्यो ।

अहिले मोर्चाले, खासगरी मोर्चा समाहित भएको जनजाति समेतको गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखनको माग उठाएका छन् । राजेन्द्र महतोले यसको प्रतिवाद गरेको छ । यो बडो गंभीर विषय हो । आज धेरैले प्रश्न गरिरहेका छन् कि के वास्तवमा मधेशी दलहरू समाधान नै चाहेका छैनन् कि ? खाली अर्घेल्याई र अत्तो थपिरहेका छन् ? धेरैले सोध्छन कि हरेक आन्दोलनमा ४०–५० जनाको शहादतको पृष्ठभूमिमा के कुनै पक्ष यति गैरजिम्मेवार हुन सक्छ – जति कि मधेशी मोर्चा भएको छ ? यी सब विसंगत अवस्थाको अन्त्य गर्नमा महन्थजीको बडो ठूलो भूमिकाको सबैले आशा गरेका थिए । सीके राउतले स्वतन्त्र मधेश देश हुनुपर्ने माग राखेका छन् । यता उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र हृदयेशजी सबैले रिसाएर हो कि के हो – नेपाल टुक्रिन्छ भन्न थालेका छन् । धेरैको आँखा अगाडी संविधान सभाको त्यो दृश्य घुमिरहेको होला जहाँ तत्कालीन राष्ट्रप्रमुख रामवरण यादवले संविधानका प्रतिलाई निधारमा पटक पटक टेकाउदै भावविभोर भएर दायाँ, बीच र बायाँ घुम्दै गरेका थिए । कत्रो समर्पण र भक्तिभाव झल्काएका थिए मधेशीको रगतलाई लत्याएर आएको विवादित संविधानका प्रति राष्ट्रपतिले ! हालै जगत नेपालद्वारा लिखित पुस्तकको लोकार्पण गर्दाको बखत उनै राष्ट्रपतिले देशै टुक्रिन सक्ने भन्नु भयो । के पदमा नरहँदा यसो भन्न मिल्छ र ? पूर्वराष्ट्रपति र आन्दोलनरत् मधेशी नेताहरू सबैले भन्न सक्नु पर्दछ कि मधेश आन्दोलनका मागको अन्तिम सीमा के हो ? के अन्ततः मुलुकको विभाजन ध्येय हो त ?

आन्दोलन जारी नै रहेको अवस्थामा मधेशी दलहरू आ–आफ्नो पार्टीलाई ठूलो बनाउने होडबाजीमा लागे । मधेशी जनताले यस कृत्यलाई पटक्कै मन पराएन । हुँदाहुँदा उपेन्द्र यादव र राजेन्द्र महतोजीको यस्तो होडबाजीमा महन्थजीले पनि आफूलाई रोक्न सक्नु भएन । धेरै ठाउँमा यस्तै कार्यमा महन्थ जीलाई पनि तमलोपाबालाहरूले फसाए । यो आन्दोलनको बजारीकरण हो । यस्तो कार्य रोक्नुमा महन्थ जीको भूमिका थियो । उहाँलाई पनि अरू सरह नै उभ्याइदिए । के महन्थजीको ज्ञान, साख, अनुभव, प्रतिवद्धता, व्यवहार कुशलता, जनभावनालाई बुझ्ने क्षमता, राजनीतिको धरातलीय यथार्थको समझ अन्य मधेशी नेताकै समकक्ष छ र ? म कसरी मानु यस कुरालाई !

मधेशी राजनीति ओरालो लागेकोमा एक्लो महन्थ ठाकुरको आलोचना गरिनु हुँदैन । महन्थजीलाई विराट स्वरूपको देखाएर अनि खेदो खन्नु हुँदैन । महन्थ ठाकुर, उपेन्द्र यादव जस्तो आलोचनामुक्त, अभेद्य र महान व्यक्ति पनि हैन । सीके लालले भने जस्तै ठाकुरजीसँग व्यावहारिक कुराहरू परिपालनको अपेक्षा राख्नु पनि गलत हैन । हामीले कुनैपनि नेतालाई शाब्दिक मसिहा बनाउनुभन्दा पनि उसको राम्रा नराम्रा कुराको गंभीर र बस्तुनिष्ठ मूल्यांकनबाट मात्र कुनै नेताको बारेमा निष्कर्ष निकाल्न सक्छौ । उहिले देखिकै भनाई हो “जीतमा सेनाले जश्न मनाउँछ । पराजयमा कप्तानले शोक मनाउँछ ।” नाकाबन्दीबाला पछिल्लो मधेश आन्दोलनले नेताहरूलाई यही नियतिमा पु¥याएको छ । राजनीतिमा एक पटकको असफलता नेताको असान्दर्भिकता हुँदैन । महन्थ ठाकुर किमार्थ पनि असान्दर्भिक हुनु भएको छैन ।



नाकाबन्दीको बारेमा सहज तर्क दिइन्छ कि शान्तिपूर्ण आन्दोलनमा ४०औं जना मारिए । सरकारले सुनेनन् । मधेशको सडकमा रहेर मर्नु भन्दा हामी नाकामा पुग्यौ । यो तर्कलाई उ बेला र आजपनि अधिकांशले पत्याएको छैन । असोज ३, २०७२ मा संविधान जारी भयो । यो ३ र ४ गते मधेशका सडकहरूमा, हरेक सदरमुकामहरूमा लाखौं मानिसहरू ओर्ले । सर्वत्र संविधान जलाउने काम भैरह्यो । मधेशी जनताको व्यापक विरोधको यस अवस्थालाई बुझेर अन्तर्राष्ट्रिय जगतका भारत, चीन, अमेरिका, युके, युरोपीयन युनियन सबैले आन्दोलनरत् मधेशीसंग वार्ता गर्न जोड दियो । उनिहरूले समेत संविधानमा खोट देखाए । सडकमा उत्रेका मधेशी जनताको खिलाफमा नेपाली सेना जान नसक्ने कुरा प्रधान सेनापतिले नै बोले । उनले राजनीतिक पहलमा जोड दिए । यसअघि पर्वते समुदायका धेरैले सामुदायिक स्वार्थको नाममा मौन धारण गरेका थिए । यिनीहरूले पनि मौनता तोडे । प्रधानमंत्री सुशील कोईरालाले तत्काल संविधान संशोधन गरिने कुरा बोले । यस बेला भारतको बिरोध तथा सुझाव बडो अर्थपूर्ण थियो । एक्लै भारतको यस विरोधमा ठूलो शक्ति थियो । प्रतिकूलताका बीच जन्मेको यस अनुकूल परिस्थितिको अध्ययन भएन । एक्कासी असोज ५ गते नाकामा बस्ने निर्णय भयो । यदि भारतले यसो गर्न सुझाएको हो भने त्यो एकदमै गलत सुझाव थियो । मोर्चाले यो निर्णय गर्नु ठूलो गलती थियो । यसले उब्जाउने प्रतिकूलता र यसबाट नेपाली राजनीतिक–सामाजिक जीवनमा तक्षण उत्पन्न हुने ध्रुवीकरण बुझ्ने क्षमता महन्थ जीमा नहुने कुरै छैन । तर, उहाँको यस क्षमताको उपयोग भएन ।

नेपालको पछिल्लो ईतिहासमा भएको परिवर्तनहरूको अध्ययन गरौ । नेपाली राजनीतिलाई निर्धारण गर्ने खेलाडीहरू भेटिन्छन । ती खेलाडीहरूमध्ये यदि धेरै जसो परिवर्तनको पक्षमा ध्रुवीकृत रहें भने परिवर्तनले आकार लिएको छ । अन्यथा परिवर्तनका अनेकन भगीरथ प्रयत्नहरू असफल भएको ईतिहास छ । यी खेलाडीहरू ः १) मुख्य दलहरूमा कांग्रेस, एमाले, माओवादी तथा दक्षिणपंथी दलहरू, २) नेपाली सेना र यसका घरेलु पृष्पोषकहरू, ३) दरबारियाहरू, ४) भारत, ५) चीन र ६) अन्य विदेशी शक्तिहरू । खासगरी यी ६/७ पक्षमध्ये यदि बहुमतको जोड परिवर्तनको पक्षमा छ भने परिवर्तन हुन्छ । अन्यथा हुँदैन । नाकाबन्दीले यस मध्येका भारत बाहेक सबैलाई एकै ठाममा, मधेश आन्दोलनको घोर बिरोधमा उभ्यायो । यस मधेश विरोधी ध्रुवीकरणबाट आन्दोलनलाई जोगाएर अर्को बाटो लिन सक्ने क्षमता महन्थ ठाकुरमा थियो, यसको प्रयोग भएन । नाकाबन्दी गलत एवं प्रतित्पादक कार्य ठहरिने निश्चित नै थियो । मधेशी मोर्चाभित्र महन्थ ठाकुरभन्दा अरू को थिए, जसले भारतलाई यसो नगर्न भन्न सक्थ्यो !

मधेशमा चीनको झण्डा किन जलाईयो ? यो कार्य सद्भावना पार्टीको गलत कार्य थियो । राजकिशोर यादवका मानिसहरू समेत यसमा लागेको कुरा तिनीहरूको गिरफ्तारीबाटै पुष्टी भएको छ । चीनको कुटनीतिलाई “साईलेण्ट किलर” पनि भनिन्छ । नेपालको आन्तरिक सवालमा हिमाल पारीको ड्रागनलाई उक्साउने कार्य यिनीहरूको उच्छंख्रलता बाहेक केही थिएन । यसको दुष्प्रभाव अहिले देखा पर्दैछ । महन्थ ठाकुरले फलामे हातबाट यसलाई रोक्नुपर्दथ्यो भने गंभीर मानिसहरू भनिरहेका छन् ।

महन्थ ठाकुरका विचारलाई पछ्याउने हामीहरूले कयौं पटक उहाँका विचारहरू पढेको हुनुपर्छ, “मधेश एक राष्ट्र हो र मधेशी एक राष्ट्रियता ।” यो एक गहन विचार “लाउड थिंकिंग” हो । नेपालका सबै जनजातिहरूको स्वायत्तताको माग यही विचारबाट नै जन्मेको हो । यो विचार पोख्दा महन्थ ठाकुरलाई देश टुक्राउन खोज्ने भनियो तर जनजातिलाई भने राज्यले अंकमाल नै गरेको छ । यहींनेर मधेशी नेताहरूले पनि बुझ्नसक्नु पर्ने हो कि मधेशलाई राष्ट्र मान्ने हामीहरू यो मधेशको स्वार्थहरूको निर्धारण गर्ने कि नगर्ने ? संघीयताको अन्तिम ध्येय नै अधिकारको उपयोग, स्वशासन र उच्चत्तम् उन्नति हो । यिनै तीन उद्देश्य हासिल गर्नका लागि संघीयताका पक्षधर कुनैपनि शक्ति वा समुदायले आफ्नो राष्ट्रिय स्वार्थको निर्धारण गरेको हुन्छ । मधेशले पनि गर्नै पर्दछ ।

आजभन्दा दशकौं अघि कंकाई बहुउद्देश्यीय परियोजना किन बन्न सकेन ? सुनकोशी कमला डाईभर्सन कस्को कारणले अगाडी बढन सकेन ? कर्णाली पारीका २२ बटा पुलहरू दशकौंसम्म किन बनेन वा के भएर पछि बन्यो ? पूर्व पश्चिम राजमार्गसंगै जडान हुने संचारको अप्टिक फाईबर नेटबर्क के कारणले बर्षौसम्म अवरूद्ध भयो र किन बन्न सक्यो ? नेपालको जलस्रोतको उपयोगमा तल्लो तटीय लाभको बिषयमा किन विवाद छ ? के यसको समुचित सुनिश्चितताबाट मधेश लाभान्वित हुँदैन र ? आजसम्म हुलाकी सडक किन बनेन, यो के कारणले भारत मुखापेक्षी मात्र भएर थन्किएको छ ? मधेशका कयौं जिल्लाहरू बर्षेनी किन डुवान क्षेत्रमा रूपान्तरित हुदै गएको छ ? भौगर्भिक जोखिम र लाभको दृष्टिले के निर्विवाद रूपमा कोशी उच्चबांध मधेशको हीतमा छ ? नेपाल र भारतका बीच हुने र भैसकेका विविध परियोजनाहरूका वारेमा मधेशको कुनै दृष्टिकोण नै छैन त ? के यी सब बिषयमा मधेशको निरपेक्षता मधेशी राष्ट्रवादको अनुकूल छ त ?

म यदाकदा मधेशी नेताहरूसंग कुरा उठाउने गरेको छु । उनीहरू भन्छन, अहिले यो कुरा उठाउनु हुँदैन । ठिक बेला हैन । मैले सोध्ने गर्छु, भारत र बांगलादेशका बीच दशकौं अगाडी भएको गंगानदीको जल संशाधनको बांडफांट सम्बन्धि सम्झौता अहिले ममता बनर्जी वा भर्खरै असम राज्यमा सरकार बनाएको बीजेपीले नै बदल्न सक्छ र ? यो आफैले आफुसंग सोध्नुपर्ने सवाल हो कि के हामी मधेशका सन्दर्भमा साच्चै नै मधेशी राष्ट्रवादका पक्षमा छौ त ? मेरो सोधाई महन्थ ठाकुरसँग छ ।

हठात् आन्दोलन रोकिएपछि विश्लेषक तुलानारायण साहले “मधेश आन्दोलन तुहियो“ भनि सामाजिक संजालमा प्रतिकृया लेख्नु भयो । उहाँको टिप्पणी रूप र सारमा सत्य थियो । तर मोर्चा र यसका समर्थकहरूले तुलानारायणको मन नै हल्लाउने गरी आलोचना गरे । सामाजिक संजालहरूमा देखिईरहने मधेशका विश्लेषकहरू, मानव अधिकारवादीहरू, लेखक–पत्रकारहरूलाई पनि आन्दोलन “तुहिएको“ भनि लेख्नु पचेन । के थियो त यथार्थ ? कारक जेसुकै होऊन, तर आन्दोलन त तुहिएकै थियो । यिनीहरू पानी माथीको ओभानो हुन खोजे । यसको वास्तविक मूल्यांकन गरिएन । धेरै जसो बिश्लेषकहरू, मानव अधिकारवादीहरू र लेखक–पत्रकारहरू मधेशका अमूक–अमूक पार्टीका फगत अनुसायी हुन पुगेका छन् । अब बाटो कस्ले देखाउने ?

मधेशमा अहिले सत्यलाई अग्राह्य बनाउने काम भैरहेको छ । मोर्चाले आलोचना तथा सुझावलाई मान्न छोडेको छ । मोर्चाका नेताहरूले आपसमै असहिष्णुतालाई बढाउँदै लगेको छ । मोर्चाका ठूला नेताहरूले तालिवानी मधेश बनाउँदै छन् ।

मोर्चाका मधेशको परिभाषा भित्र थारू, मुसलमान र मधेशी दलितको स्थान छैन । कांग्रेस, एमाले र माओवादीले नयाँ संविधानमा हाम्रो लागि अंश छुट्याएझै संघीय फोरम नेपाल, तमलोपा र सदभावनाहरूले थारू, मुसलमान र दलितका लागि अंश निर्धारणका दैवी शक्ति आफूहरूमा संचित रहेको ठानेका छन् । छ महिना लामो मधेश आन्दोलनका दौरान मोर्चाले मधेश भित्रका कुनै पनि सरोकारबालासँग छलफल गरेन । के यो उदाहरण पर्याप्त छैन ?

देस्रो संविधान सभा मधेशका लागि प्रत्युत्पादक भैसकेपनि मोर्चाका सदस्यहरूले संविधान सभा त्यागेनन् । बहिष्कारको नाटक गरेर सत्तापक्षलाई “वाकओभर” को मौका दिए । सुशील कोईरालालाई भोट हालेर केपी ओलीको बिस्थापनलाई मधेश आन्दोलनको लक्ष्य बनाए । अब शेरबहादुरमा मधेशी अधिकारको भू्रण देख्दैछन् । के यिनको अनीतिले संविधानको पुनर्लेखन संभव छ र ? मधेशको नाममा आन्दोलन पनि गरिरहने र संसदमा भावपूर्ण प्रतिपक्ष भैरहने, सत्ताको यस्ता “लोयल रेभुल्यूशनरी” को मायाजालमा मधेश परेको छ । यसबाट मुक्तिका लागि महन्थ ठाकुरले “कालो बादलमा चाँदीको घेरा” बन्न सक्नु पर्दछ । महन्थ ठाकुर स्वंयले आफूलाई मधेशी जन अपेक्षाका वाहक प्रमाणित गर्न सक्नु पर्दछ । मलाई लाग्दछ, यौटा कम्प्रिहेन्सिभ मधेश एजेण्डाको रेखांकन र आन्दोलनबाट त्यसको प्राप्तिको लागि महन्थ ठाकुरले आफूलाई नव रूपमा प्रस्तुत गर्नु पर्दछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com