अमेरिकाद्वारा अल्पविकसित मुलुकका निम्ति ट्रेड प्रेफरेन्सेस कार्यक्रम विस्तारको घोषणा

वाशिङ्टन डि.सी., २३ असार । संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको छ । यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ ।

यस नयाँ नियम अनुसार जुलाई १ (असार १७ गते) देखि सुरु हुने गरी यी नयाँ उत्पादनहरू भन्सारछुट सुविधाका लागि योग्य बनेका छन् । सन् २०१५ मा अमेरिकाले करिब १० अर्ब डलर बराबरका यात्रा तथा लगेज सामग्रीहरू आयात गरेको थियो ।

“नेपाली व्यापार व्यवसायहरूका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउनलाई यो ठूलो अवसर हो,” अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भन्नुभयो । “खुला बजार नीतिप्रति बलियो प्रतिबद्धता, सम्पत्तिसम्बन्धी अधिकारलाई सुरक्षित गर्ने स्थायी र पारदर्शी कानुनी वातावरण, गतिशील उद्यमशील क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति र रणनीतिक पूर्वाधार लगानी भएमा नेपाललाई यस अवसरको भरपूर सदुपयोग गर्न मद्दत मिल्नेछ ।”

सन् २०१५ मा कम्बोडियापछि अमेरिकामा लगेज सामग्री निर्यात गर्ने अल्पविकसित मुलुकहरूमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो । सन् २०१४ यता नेपालका यस्ता उत्पादनहरूको निर्यातमा सात प्रतिशतले वृद्धि भई सन् २०१५ मा कुल १८ लाख अमेरिकी डलर पुगेको थियो ।

अमेरिकी ट्रेड प्रेफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रमहरूले विश्वका थुप्रै विपन्न मुलुकहरूलाई व्यापारको प्रयोगबाट आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्दै गरिबीबाट मुक्त हुने अवसर प्रदान गर्दछन् । ४० वर्षको उक्त जीएसपी कार्यक्रम सबैभन्दा ठूलो र पुरानो अमेरिकी व्यापार ग्राह्यता कार्यक्रम हो ।

जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकाले लाभग्राही विकासोन्मुख मुलुकहरूबाट आयात गर्दा अनेक सामग्रीहरूलाई भन्सारछुट सुविधा उपलब्ध गराउँछ र अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूलाई थप सामग्री निर्यात गर्ने सुविधा दिन्छ । जीएसपी कार्यक्रमअन्तर्गत ४३ अल्पविकसित मुलुक लगायत १२२ लाभग्राही विकासोन्मुख मुलुकमा उत्पादन हुने झन्डै ५ हजार सामग्रीहरू अमेरिकामा निर्यात हुँदा भन्सारछुट सुविधाका लागि योग्य छन् । यीमध्ये झन्डै १,५०० सामग्रीहरूलाई अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकलाई मात्र प्रदान गरिने भन्सारछुट सुविधाका लागि छुट्याइएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com