भक्तिमय जनकपुर : मातामय जनकपुर

रामनारायण कापडि

अचेल जनकपुर नगर विजया दशमीको रमझममा रंगिएको छ । दशैंको उत्साह तथा हर्षोल्लास नगरवासीको चम्किलो अनुहारले नै प्रष्टाएको देख्न सकिन्छ । वडा दशैंको अवसरमा जनकपुर लगायत विभिन्न शक्तिपीठहरूलाई रंगरोगन, गेट पंडाल निर्माण लगायतको साज–सज्जाले दुल्हीन झैं सिंगारिनु अब प्रचलनमा आइसकेका हुन ।

जनकपुरको दशैं विगत केहि वर्ष यता दर्शनार्थी, श्रद्धालु र पर्यटक समेतको लागि आकर्षित गन्तव्य स्थल बन्दै गएको छ । राम मन्दिरमा अवस्थित तत्कालीन मिथिलाका राजा जनककी कुल देवी राजदेवीको भव्य रूपमा मनाउने पूजा विधि नै यो आकर्षणको केन्द्र हो । विजया दशमीको मुख्य आकर्षक केन्द्रको रूपमा रहेको प्रसीद्ध शक्तिपीठ राजदेवी मन्दिरमा घटस्थपना देखि दशैभरि विहान देखि बेलुका सम्म पुजा–अर्चना गर्ने श्रद्धालु भक्तजनहरूको घुइचो लाग्ने गरिन्छ ।

भनिन्छ शक्तिपीठ राजदेवीको दर्शन तथा पुजा–अर्चनाको आफ्नो छुट्टै महत्व रहको छ । यस पाली राजदेवी मन्दिरको साज–सज्जाको काम विशिष्ट रूपमा गरिएकोले समस्त नगरवासीमा चर्चाको विषय बन्नु स्वभाविकै हो । यसमा पनि सुनमा सुगन्ध थप्ने काम राम मन्दिर अगाडीको पार्र्कमा बनेको माता वैष्णव देबीको गुफाले गरेकै हुन ।

महावीर यूवा कमिटीको सक्रियतामा स्थानिय श्रद्धालु भक्तजनहरूले वैष्णव देवी दर्शनको मनोरम आनन्द लिन पाएकोमा कमिटीलाई साधुवाद दिनै पर्छ । विगतको भन्दा यस पाली अति विशिष्ट रूपमा राजदेवी मन्दिरलाई सजाइए पनि विगत भन्दा कम रकम खर्च भएको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले बताए ।

मन्दिर भित्रको प्रांगणमा स्थाई रूपमै जस्ता पाता ( चदरा ) को छाउनी निर्माण गरिएको र ९ हजार ५ सय वर्गफिटमा मार्बल लगाउने सहितको काम भएकोले मन्दिरको अस्थाई डेकोरेशनमा खर्चा कम हुन गएको अध्यक्ष साहको भनाइ छ । पहिला पंडाल निर्माण, विजुलीवती लगायतका विभिन्न सजावटमा १५ लाख भन्दा बढी खर्च हुने गरेको थियो भने यसपाली लगभग ९ लाख रूपैया खर्च हुने उहाँको अनुमान छ ।

व्यापारीले दिएको चन्दा र बली प्रदानको आम्दानीबाट सो खर्च व्योहोर्ने गरिन्छ । अध्यक्ष साहले मन्दिर गुठी संस्थानको मातहतमा रहेपनि विजया दशमीको तयारीमा गुढी संस्थानले आर्थिक सहयोग कहिल्यै उपलब्ध नगराएको र मन्दिर व्यवस्थापनका लागि डेढ करोड भन्दा अधिक लागतमा निर्माण गरिएको स्थाई संरचनामा पनि गुढीले आर्थिक सहयोग नगरेको उनले प्रष्टाए । यस सन्दर्भमा कुरा गर्दा गुढी संस्थान जनकपुरका कार्यालय प्रमुख नवराज पौडेलले प्रक्रिया नमिलेको कारण गुढीले विजया दशमीमा आर्थिक सहयोग गर्न नसकेको स्वीकार गर्दै राम मन्दिरको पुजा–अर्चना लगायतको वर्षभरिको सबै खर्च गुढीले नै तिर्ने गरेको भन्न चाही उहाँले छुटाउनु भएन ।

माताको दर्शनका लागि हाल राजदेवि मन्दिरको प्रांगणको दक्षिण तर्फबाट नयाँ प्रवेशद्धारको निर्माण गरिएको छ भने पश्चिम तर्फबाट बाहिर निस्कने व्यवस्थापन गरेपछि श्रद्धालु भक्तजनहरूको जति चाप बढेपनि माताको दर्शनमा दर्शनाभिलाषीहरूले राहत महसुस गर्न थालेका छन । पहिला प्रवेश र निस्कने द्धार एउटै भएकोले माताको दर्शन गर्न असुविधा तथा अवरोध हुने गर्दथ्यो । अध्यक्ष साहले दिएको जानकारी अनुसार वैष्णव गुफा दर्शनका लागि राखिएको टिकट शुल्क ५० रूपैयामा गुफा निर्माण गर्ने कम्पनीले जग्गा र सुरक्षा वापत कमिटीलाई ३० प्रतिशत रकम अर्थात ५० को टिकटमा १५ रूपैया कमिटीलाई उपलब्ध गराउने छ ।



अब अगामी वर्षमा अमरनाथ बनाउने आफुहरूको योजना रहेको अध्यक्ष साहले बताए । गुफा दर्शनका लागि एक टिकटको ५० रूपैया रेट राखिएको प्रति स्थानिय सर्वसाधारणमा क्षोभ देखिएको छ भने यसको विरोधको चर्चा पनि नचलेको होइन । राजदेवी माताको प्रांगणमा भारतीय भजन मण्डलीद्धारा प्रत्येक साँझ झाँकी सहितको भजन हुने भएको छ । बौद्धी माता, अमरखाना माता तथा राम मन्दिरको दक्षिण र पूर्वपट्किो पंडाल, बिजुली वती, सजावट लगायतका जिम्मेवारी बहन गर्दै आएका राम युवा कमिटीले आफ्नो जिम्मेवारी पूरा गर्न उत्साहित तथा निष्ठापूर्वक लागेका छन ।

राम युवा कमिटीका अध्यक्ष शम्भु साह निर्मोहीले आफ्नो कमिटीद्धारा विजया दशमीमा १८ लाख भन्दा बढी खर्च हुने गरेको भन्दै यस पाली चन्दा असुली पनि थोरै हुने सम्भवना रहेको बताए । अनि कसरी जिम्मेवारी पूरा गर्न सक्नु हुन्छ सोध्दा–व्यापारीहरूले दिएको चन्दा, रामसागर पोखरीको केहि आम्दानी र बली प्रदान बाट हुने आम्दानीले मुख मिलान हुन सक्ने उनको तर्क छ । राम युवा कमिटीले पनि लाखौ रकम खर्चेर अमरखाना र बौद्धी मातालाई जोडने स्थायी रूपमा पीपीसी ढलान, अमरखाना मन्दिरमा भव्य गेटको निर्माण तथा सामूदायिक भवनको स्थायी संरचना निर्माण गर्न सफल भएको छ ।

कमिटीले रामसागर पोखरीमा घाट निर्माण योजनाको तयारीमा लागेको र चाँडै नै घाट निर्माणको कार्य शुभारम्भ हुने अध्यक्ष साहले जानकारी दिए । दर्शनार्थीहरूको मनोरंजनका लागि साँझ ७ बजे देखि राति ११ बजे सम्म कमिटीको प्रांगणमा भारतको मुजफरपुरका भजन मण्डलीद्धारा विशुद्ध भजन संध्या कार्यक्रम हुने भएको छ । महाअष्टमीका दिन बोकाको लाइन लगाउने र व्यवस्थापनको मुख्य जिम्मेवारी राम युवा कमिटीलाई नै हुन्छ । यसका लागि अधिक संख्यामा स्वंय सेवक परिचालन गर्नु पर्ने हुन्छ भने बोका लिएर लाइनमा बसेका सबैलाई राम युवा कमिटीले निशुल्क भोजनको व्यवस्था गर्ने गर्दछन । सो निशुल्क भोजन जनकपुरका एक जना व्यापारीले प्रत्येक वर्ष कमिटीको माध्यमले आयोजन गर्दै आएका छन् ।

शक्ति आगमनको प्रत्यक्ष मान्यता भएकोले पनि दशैंमा देवीको विभिन्न स्वरूपको विशेष पुजा–आराधना गर्ने गरिन्छ । विजय दशमी देवीको विभिन्न स्त्रोतहरूको साधनाको बेला भएकोले पनि साधकहरू दशैंभरि साधनामा लीन हुने गर्दछन । सामन्य अवस्थाको श्रद्धालु भक्तजनहरूले शक्ति प्राप्तीका लागि दशैभरि राजदेवी मन्दिर लगायत विभिन्न शक्तिपीठहरूमा वा आ–आफ्नो घरमा दुर्गा सप्तसतीको पाठ सहित विभिन्न देवी–देवताको नियमपूर्वक पुजा–अर्चना गर्ने गर्दछन् ।

यस क्षेत्रका प्िरसद्ध शक्तिपीठ राजदेवी माताको घटनस्थापन देखि दशैभरि विशेष पुजा–आराधना गर्ने प्राचीन परम्परा रहेको मान्यता छ । घटस्थापना देखि दशैभरि विधि विधानले भव्यताका साथ हुने राजदेवी माताको पुजा–अर्चना सम्बन्धि राम मन्दिरका महन्थ राम गिरीले दिएको जानकारी अनुसार घटस्थापनाको दिन राजदेवी माताको मुल पीडी नजीक एक स्थानमा जमरा उमार्नका लागि जौ छरेर कलश स्थापना गरिन्छ ।

त्यस्तै बौद्धी मातामा कलश स्थापना हुन्छ भने अमरखना माताको मन्दिरमा कलश स्थापनाको परम्परा छैन । घटस्थापना दिन देखि दशमी सम्म भक्तजन एवं दाताहरूद्धारा संध्या आरतीको आयोजन हुने गर्दछ । महन्थ गिरीका अनुसार घटस्थापना देखि पंचमी सम्म वर्षभरि हुने नियमित विधि विधान अनुसार नै माताको पुजापाठ हुने गर्दछ भने पंचमीको दिन भैरवको आव्हानको रूपमा वटुक भैरबको ध्वजा स्थापना गरिन्छ ।

राजदेवी मन्दिरमा बटुक भैरवका स्थापना भए पश्चात मात्रै यस क्षेत्रका अन्य शक्तिपीठहरूमा बली प्रदानको शुभारम्भ भएको मान्यता छ । त्यस्तै षष्टीको दिन नागरिक समाज, राम यूवा कमिटी र महावीर यूवा कमिटी सहित स्थानिय विभिन्न कमिटीको सहयोग तथा मन्दिरका पुजारी, श्रद्धालु भक्तजन, नगरवासी एवं स्थानिय पुलिस प्रशासन र नेपाली सेनाको सहभागितामा गाजा–बाजा सहित बिषहारा कुटी नजीक रहेका बेल बृक्षलाई आमंत्रण गरेर चामुण्डा देवीलाई आव्हान गरेर बेल नौती कार्यक्रम सम्पन्न हुन्छ ।

सतमीको दिन माता राजदेवीलाई विशेष सिंगार गरिन्छ भने नगरवासीहरूले आजको दिन आ–अफना घरबाट आरती ल्याएर मातालाई विशेष आरती गर्ने प्राचीन परम्परा रहेको छ । आजको दिन देवी पुजालाई विशेष महत्वपुर्ण मानिन्छ ।

आजको दिन आमंत्रण गरिएको बेललाई तोरेर बेलतोरी सम्पन्न गरिन्छ । नागरिक समाज, विभिन्न यूवा क्लबहरू, मन्दिरका महन्थहरू, पुजारी, श्रद्धालु नगरवासी, स्थानिय प्रशासन र नेपाली सेनाको विशेष सहभागितामा बेलतोरी सम्पन्न हुने गर्दछ । बेलतोरीको लागि मन्दिर बाहिर निस्कने बेलामा एक राउण्ड गोली सांकेतिक रूपमा प्रहरीद्धारा हवाई फायर गरिन्छ भने बेल टिप्ने बेलामा दुई–तीन राउण्ड गोली हवाई फायर गरेर सलामी दिने गरिन्छ ।

केहि बेलपत्र र एक जोडा बेल तोरेर मन्दिर भित्र भित्र्याइन्छ । यस प्रकार महाअष्टमीको राति ( निशा पुजा ) गरेपछि बली प्रदान गर्ने परम्परा अनवरत रूपमा जारी छ । महाष्टमीको तयारी सतमीको राति देखि नै हुन्छ । महाअष्टमीका बिभिन्न कार्यक्रम सहित राम यूवा कमिटी र महावीर यूवा कमीटीको संयूक्त आयोजनामा नगरका सबै क्लबहरू, स्थानिय प्रशासनको सक्रियतामा बली प्रदान हुन्छ ।

बोका चढाउन आएका भक्तजनहरूको लागि स्थानिय एक जना व्यापारीले राम युवा कमिटीको माध्यमले निशुल्क खानाको व्यवस्था गरेको हुन्छ । साथै बोका बलीका लागि घंटौ लाइनमा बस्नेहरूको लागि सर्वत पानीको व्यस्था पनि गरिएको हुन्छ । अधिक मात्रामा बोकाको बली प्रदान हुने भएकोले महाअष्टमीको राति विभिन्न स्थानिय क्लबहरूको सहयोगमा लगभग १५ सय स्वयंम सेवक परिचालन हुन्छ । स्थानिय प्रशासनले मन्दिरको चारैतिर कडा सुरक्षा व्यवस्था मिलाएको हुन्छ । लगभग साँझ साढे ६ बजे देखि ंशुरू हुने बोका बली विहान साढे ४ बजे सम्म अनवरत रूपमा जारी रहन्छ । गत वर्ष करीव १५ हजार बोकाको बली दिइएको थियो ।

महाअष्टमीको छुटेको बोका नवमीको बौद्धीमाता र अमरखना माताको मन्दिरमा बली प्रदान गन्छि । बलीे पछि मन्दिरको राम्ररी सफा–सुग्घर गरेर ९ जना बाहुन पंडीतद्धारा हवन–पाठ (चण्डीपाठ ) गन्छि । आजको दिन ९ स्वरूपकी भगवतीलाई कुमारी भोजन र १ जना कुमारलाई भैरवको रूपमा दही–च्यूरा, मिष्ठान खाना खुवाउने गरिन्छ । साथै उनीहरूलाई नयाँ वस्त्र र भोजन दक्षिणा दान दिने गरिन्छ ।

नवमीको साँझ राम युवा कमिटीद्धारा महाप्रसादको आयोजन गरिन्छ, जसमा नगरका विशिष्ट व्यक्तित्वहरू सहभागी हुन्छन् । आव्हान गरिएको देवी–देवतालाई मन्त्रद्धारा विसर्जन गरिन्छ भने विहान १०,११ बजे भगवती नजीकको जमरा एवं टीका सर्वसाधारण भक्तजनहरूमा वितरण हुन्छ । त्यो दिन विहान रामजानकीको डोला राममन्दिरबाट निस्केर धनुष सागरको परिक्रमा गरेर जनक मन्दिरमा टीका ग्रहण गरेर पुनः राम मन्दिरमै डोला ल्याइन्छ ।

साँझ ४ बजे पुनः राम भगवानको डोला मन्दिरबाट निस्केर नगर परिक्रमा गर्दै दशरथ मन्दिरमा, जानकी मन्दिरमा, लक्ष्मण मन्दिरमा टीका ग्रहण गरेर पुनः राम मन्दिरमा डोला आएर सम्पन्न हुन्छ । दशमीको चारदिन पछि चौठारी पुजा हुने गर्दछ जसलाई भगवतीको शुद्ध पुजा मानिन्छ । घटस्थापनादेखि प्रत्येक साँझ राजदेवी माताको मन्दिरमा र बौद्धी माताको प्रांगणमा संध्या भजन तथा धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजन हुने गर्दछ ।

यसरी जनकपुर क्षेत्रको सुप्रसिुद्ध शक्तिपीठ राजदेबीमाताको पूजा आजा सम्पन्न हुँदै बिजयादशमी पर्वको औपचारिक समापन भएको बुझिन्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com