नेपालमा भेदभाव, रंगभेद र मिडिया (डा.सीके राउतको समसामयिक विचार)

डा. सीके राउत

मधेश आन्दोलनका क्रममा नेपाली मिडिया निरंकुश शासकवर्गको दाहिने हातका रूपमा प्रस्तुत भए । मधेशीमाथि हरेक अत्याचार र अन्याय गराउनमा तिनीहरू भागी त सधैं नै थिए, तर आन्दोलनका क्रममा तिनीहरूले आफ्ना सबै कुकृत्यका सीमा नै नाघे । मधेशीमाथि शासकवर्गद्वारा गरिएका भीषण आक्रमणहरू र जघन्य अपराधहरू लुकाउन र शासकवर्गहरूको कुकृत्यलाई उचित ठर्हयाउन उनीहरूले आफूलाई निम्नभन्दा पनि निम्न दर्जामा ढाले ।

नेपालका मिडिया शासकवर्गका अधीनस्थ छन्, र आज पनि मूलधार नेपाली मिडियामा मधेशी बिरलै पाइन्छ । परिणामस्वरूप पहाडमा भीरबाट भैँसी खस्दा ठूलो समाचार बन्छ भने मधेशका गाउँका गाउँ बाढीमा बग्दा, आगोमा खरानी हुँदा कुनै समाचार बन्दैन । कोही नबस्ने चुचुरासम्म जान पुल नहुँदा ठूलो महत्वको कभर स्टोरी बन्छ भने खान नपाई मधेशीहरूले आत्महत्या गरेको, आङ ढाक्न केही नहुँदा दर्जनका दर्जन मरेको कुनै पत्रपत्रिकाको चासोको विषय हुँदैन । जब पहाडी प्रहरी र सैनिकले मधेशी आइमाईलाई बलत्कार गर्छन्, पहाडीहरूले मधेशीका गाउँका गाउँमा आगो लगाउँछन्, जतिबेला सशस्त्र प्रहरीहरू निर्दोष मधेशीहरूमाथि गोलीको वर्षा गर्छन्, ती कुराहरू समाचार बन्दैनन् । आफ्नै अपराध तिनीहरूले किन सार्वजनिक गरून् ?

अन्धराष्ट्रवाद र मधेश–विरोधी हुनु नेपाली मिडियाको पहिचान हो । मधेश र भारत विरोधी हुनु यी मिडियामा बुद्धिजीवी बन्ने योग्यता हो । मधेशको विरोधमा बोल्ने जो कोहीलाई पनि तिनीहरूले हिरोका रूपमा चित्रित गर्छन्, र मधेशको अधिकारका बारेमा कुरा गर्ने जो सुकैलाई, भिलेन, खलनायकका रूपमा। खासमा त, मधेशको अधिकारका बारेमा कुरा गर्नेहरू यदि पहिलादेखि नै मिडियामा पकड बनाएका छैनन् भने यिनीहरूले त त्यस्तालाई कहिले बाहिर आउनै दिँदैनन् ।

मधेशीहरू कुनै राजदूत हुनासाथ, कुनै न्यायधीश वा मन्त्री हुनासाथ, कुनै ठूलो ओहदामा पुग्नासाथ नेपाली मिडियाले तिनीहरूलाई बदनाम गर्ने उग्र अभियान चलाउँछन् । तिनीहरूले उनीहरूको विषयमा बनावटी समाचारहरू छाप्छन्, दुई–चार जनालाई पैसा दिएर जथाभाबी बोल्न लगाउँछन्, आधा दर्जन जोकरहरूलाई क्यामेराअगाडि जम्मा गरेर मधेशी अधिकारको विरोध गर्न लाउँछन्, र अन्धराष्ट्रवादले खसी बनाइएका कथित बुद्धिजीवीहरूलाई मधेश विरोधी लेखहरू लेख्न लगाउँछन् । सबै, आफ्नो नेपाली साम्राज्य र अत्याचार कायम राख्न ।

नेपाली मिडिया नेपाली–नाजीहरूको किल्ला हो । र कान्तिपुर, नेपाली दानवीय साम्राज्यको सार । नेपाली सांस्कृतिक अधिनायकत्व र प्रोपागाण्डा फैलाउने हतियारका रूपमा यसले समाचारपत्र र इन्टरनेट पोर्टल मात्र प्रयोग गर्दैन, कैयौं रेडियो र टीभी स्टेशनहरू र स्याटेलाइट प्रसारणको पनि प्रयोग गर्दछ । देशभित्र नेपाली नाजीवाद विस्तार गर्ने तर्फ मात्र लाग्दैन, देशबाहिरका संघ–संस्था र दातृ निकायहरू समक्ष पनि उत्तिकै जोडदार रूपले प्रोपागाण्डा फैलाउने काम गर्दछ । नेपालका मिडियामा प्रकाशित लेखहरू वाक्वाकी लाग्ने खालका हुन्छन्, आफूलाई ‘एकाडेमिक पेपर’ भन्ने टेलिग्राफ नेपाल जस्ताको पनि ‘स्तर’ हेर्न दुई–तीन सम्पादकीय पढे पुग्छ ।

जतिबेला देशका मिडियाले मधेशविरूद्ध अभियान नै छेडे, विश्वका मिडिया र सूचना केन्द्रहरू मधेश र मधेशीको समस्यासँग अनभिज्ञ नै देखिए । र जतिबेला तिनीहरूले मधेश आन्दोलनका बारेमा अन्ततः थाहा पाए, उनीहरू नेपालका शासकवर्गको जालमा थिए । उनीहरूसँग न त नेपालभित्र कुनै भौतिक पूर्वाधार थियो, न त नेपालबारे वृहत् ज्ञान, समाचारका लागि उनीहरू नेपाली मिडियाकै भर परे । र त्यही भएर तिनीहरू पनि शासकवर्गकै नारा र प्रोपागाण्डा दोर्होयाउन पुगे। र विदेशी मिडियामा भएका नेपालीहरू पनि त शासकवर्ग नै थिए, तिनीहरूले आफ्नो पहुँचको भरमार दुरूपयोग गरे, मधेशी सम्बन्धी प्रोपेगाण्डा फैलाउन । पहाडीहरूद्वारा संचालित बीबीसीको नेपाली सेवा यसका उदाहरण हुन्, जसले मधेशीलाई बदनाम मात्र गरेनन्, आफ्नो स्वार्थ अनुरूप राजाको शासनलाई बल दिने कोशिस पनि गरे । रवीन्द्र मिश्र जस्ताहरूले मधेशीको छद्मनाम धारण गर्दै आफ्नो स्वार्थ पूर्ती गर्न कैयौं लेखहरू लेखे ।

आन्दोलनको क्रममा नेपालमा उपस्थित केही विदेशी रिपोर्टरहरू यथार्थ बुझ्न झन् असफल रहे । आखिर तिनीहरू पनि त ट्राभेल गाईड र ट्रेकिंङ्ग रूटको नक्सा लिएरै नेपाल आएका हुन्छन्, कुनै इतिहासका किताब पढेर होइन । समतल भूभाग र काला रंगका मान्छेहरू तिनीहरूले परिकल्पना गरेको नेपालमा किन अटाउँथे र ? आदिकालदेखि मधेशमा बस्दै आएका मधेशीहरूलाई तिनीहरूले पनि आफ्नै भूमिमा विदेशी नै बनाइदिए । तिनीहरूको रूचि एभरेष्ट र कुमारीहरूमा हुन्थ्यो, तिनीहरू कुमारीको खोजीमा निस्किन्थे, यतिका पाइलाहरूपछाडि दगुर्थे, लाखौं मधेशीहरूले महिनौं गरेको आन्दोलन र राज्यले मारेका दर्जनौं मधेशीहरू तिनीहरूको चासोको विषय किन बन्थे ? मधेशका भोका-नाङ्गा बालबालिकाहरू, हिलाम्मे डगरहरू, मधेशीका झुप्राहरू, लामखुट्टे टोक्ने गाउँहरू तिनीहरूले किन देख्थे ? तिनीहरू त पहाडका मनोरम दृश्यहरूतिरै, काठमाडौंका मध्यकालीन मन्दिरहरूतिरै आफ्ना क्यामेरा सोझ्याए, मधेशीहरूमाथि भइरहेको नरसंहारमाथि होइन। काठमाडौं उपत्यका त्यसैपनि प्लेटोको गुफा नै हुन्, र काठमाडौंमा अवस्थित कुटनीतिज्ञ र विश्लेषकहरूको स्थिति ती कैदीहरूभन्दा भयावह थियो। र आफ्नो देशमा केवल जेनिटरका लागि योग्य ठहरिनेहरू जतिबेलासम्म यस देशमा कुटनीतिज्ञ र राजदूत बनेर आइरहनेछन्, तिनीहरूबाट बढी आशा पनि गर्न सकिन्न ।

अनलाइन मिडियाको आगमनले पनि विपन्नवर्गलाई खासै राम्रो गरेन । साइबर संसारमा पाइने स्वतन्त्रता आम जनताका लागि वरदान सावित हुने विश्वास मेरो थियो र ओपेन सोर्सलाई मैले लामै समयदेखि प्रचार गर्दै आएको थिएँ । मैले सोचें, ब्लग, विकीपेडिया, र अनलाइन नागरिक पत्रकारिता जस्ता कुराहरूद्वारा आम जनताहरूले आफ्नो दबाइएको आवाज विश्व समक्ष ल्याउन पाउलान्। तर अनलाइन मिडियाको फाइदा पनि शासक र सम्पन्न वर्गले नै लिए, अनलाइन मिडियाको दुरूपयोग नै गरे, र विपन्न वर्गका लागि यसले फाइदा र्पुयाउनुको साटो घाटा नै पु¥याए ।

अनलाइन मिडिया पनि शासक वर्गद्वारा प्रयोग गरिए, जससँग संगठित हुने शक्ति थियो, लगानी गर्ने क्षमता थियो, दर्जनका दर्जन लेखक र कमेन्ट गर्नेहरूलाई हायर गर्ने क्षमता थियो। ती कुराहरू विपन्न र पिछडा वर्गहरूको सामर्थ्य बाहिरको कुरा थियो। अनलाइन मिडियामा पनि शासक वर्गकै वेबसाइटहरूको बोलबाला हुन्छ, र के प्रकाशित हुने–नहुने त्यो तिनीहरूमै निर्भर ।

विकीपेडियाजस्ता जनस्तरबाट निर्माण हुने भनिएको साइटहरूमा समेत शासक वर्ग नै अन्ततस् धावा बोल्छन् । शासकवर्गसँग भए झैं त्यहाँ अनेकौं लेखहरू राख्ने क्षमता वा जनशक्ति विपन्न वर्गसँग नभएर होला, सन् २००६ तिर विकीपेडियामा मधेश वा मधेशीसँग सम्बन्धित कुनै लेख थिएन । त्यही भएर मैले ‘मधेश’ सम्बन्धी एउटा सामान्य जानकारीमूलक लेखको शुरूवात गरी दिएको थिएँ, र अन्य केहीले पनि पछि जानकारी थपे । तर मधेश आन्दोलन पश्चात् त्यो पेज हेर्दा म अचम्भित भएको थिएँ, त्यो झूठो जानकारी र प्रोपागाण्डाले भरिएको थियो । नेपाली शासकवर्गले प्रोपागाण्डाको प्रभावकारी माध्यम समातेका थिए । अवश्य पनि मधेश आन्दोलन दौरान विश्वभरि धेरैले त्यहाँबाट जानकारी लिएको होला, तिनीहरू सबै पहाडी प्रोपागाण्डाको शिकार बने ।

विकीपेडियाको त्यस पेजमा कसैले संयुक्त राष्ट्र संघको रिपोर्ट उद्धृत गर्दै ‘आन्दोलनका दौरान मधेशीमाथि राज्यद्वारा अनावश्यक र अधिक शक्ति प्रयोग गरिएको’ भनेर लेखेका थिए, तर त्यो के बाँकी रहन्थ्यो ? पछि त आन्दोलनको चर्चा नै गायब हुन थाल्यो ! शासकवर्गका मान्छेहरू ती पेजहरू सक्रियतापूर्वक हेर्दा रहेछन् र आफूलाई मन नपर्ने कुरा तुरून्तै हटाउँदा रहेछन् । तर एक दिन यस्तो आउनेछ, जब मधेश आन्दोलन र मधेशीमाथि तिनीहरूले गरेको नरसंहार नकार्नु होलोकास्ट नकार्नु जस्तै मानिनेछ ।

विकीपेडियाको यस्तै दुरूपयोगका कारण पछि म त्यहाँबाट केही पढ्नै छोडें, सोचें त्यहाँबाट केही जानकारी लिनु, खास गरी विपन्न र पहुँच नभएका वर्गका विषयमा जानकारी लिनु, उनीहरूमाथि ठूलो अन्याय हुनेछ ।

त्यसै गरी ब्लगमा विपन्न वर्गको आवाज आउला भनेर आशा गर्नु पनि व्यर्थ छ । पाँच प्रतिशत साक्षरता दर र चालीस डलर प्रति व्यक्ति आय भएको समुदायको मान्छेले ब्लगमा आएर आन्दोलन गर्ला भनेर सोच्नु गलत छ । ब्लग कसले लेख्छन्? शासकवर्गको अत्याचार र आतङ्क भोगिरहेका, शासकवर्गका सैनिकबाट बलात्कारित जंगलका आदिवासीहरू, कि शहरका शिक्षित, संगठित, र सम्पन्न शासकवर्गका मान्छेहरू ? र शासकवर्गका मान्छेहरूले ब्लगमा के–कस्ता कुरा लेख्छन् र के–कस्ता प्रोपागाण्डा फैलाउँछन् भन्ने कुरा माइसंसार डट् कम जस्ता नेपाली ब्लगहरूमै पनि देखिन्छ नै । म त कहिलेकाहीं सोच्छु, त्यस्ता कुराहरू लेखेर पनि तिनीहरू कसरी बिहान ऐना हेर्न सक्छन् ।

अहिले त झन् नेपाल सरकारले ‘राष्ट्रिय हितलाई आँच’ पु–याउने कुनै पनि पोस्टमा रोक लाउने कानून नै ल्याएको छ । गृह मन्त्रालयले कुनै नेता वा सार्वजनिक व्यक्तिलाई बदनाम हुने कुनै संदेश लेखे कडा कारबाही गरिने चेताएको छ । नियम तोड्नेलाई एक लाखको जरिवाना ररवा पाँच वर्ष कैद हुने भनिएको छ । त्यो कानून फेसबूक र ट्वीटरका पोस्टहरूमा समेत लागू हुने भनिएको छ । बन्द गरिनु पर्ने वेबसाइटहरूको सूची पनि सरकारले इन्टरनेट प्रदानकर्ता कम्पनीहरूलाई बुझाएको छ, जसमध्ये अमेरिकी समाचारसेवा हफिङ्गटन पोस्टको वेबसाइट पनि परेको छ । अब त इन्टरनेटमा पनि खाली पहाडी शासक वर्गको प्रशंसा मात्र सुन्न सकिनेछ, उनीहरूको अत्याचार, आतङ्क र रंगभेद त सदाका लागि पर्दापछाडि नै रहनेछन् ।

अनलाइन मिडियाको अर्को हास्यास्पद पक्ष त्यसका सर्वेक्षणहरू हुन्, जुन एनजिओ/आइएनजिओ र समाचारपत्रहरूले बडो गौरबका साथ प्रयोग गर्ने गर्छन् । ती सर्वेक्षणहरू ‘के तपाईं दश दिनदेखि खानपाउनु भएको छैन ?’ सोध्नु र त्यसको मत परिणाम हेरेर कोही पनि भोको नरहेको निष्कर्ष निकाल्नु जस्तै हो । बिजुली नै नपुगेको ठाउँका अशिक्षा र भोकमरीले पिडित समुदायहरू यी एनजिओ÷आइएनजिओका आधुनिक सर्वेक्षणहरूमा कसरी समावेश होलान् ?

यदि राज्यको ज्यादतीविरूद्ध विपन्न समुदायका मान्छेहरूको केही प्रतिक्रिया देखिएन भने त्यसको मतलब तिनीहरूले त्यसलाई स्वीकारेका छन् भन्ने होइन । तिनीहरू आफ्नो कथा भन्न, ब्लग र समाचारपत्रमा लेख्न, तस्वीर र भिडियो प्रकाशन गर्न नै असमर्थ हुन्छन् । मधेशीहरूसँग न त त्यो तहको चेतना छ न त पहुँच नै, न आत्मरक्षाको साधन नै । त्यहीं अर्कोतिर, पहाडीहरू संगठित छन्, तिनीहरूसँग प्रोपागाण्डा फैलाउने विशाल जनशक्ति र भौतिक पूर्वाधार छ । तिनीहरू बारेमा एउटा मिस्प्रिन्ट गरेर त हेर्नुुस्, घंटाभरिमा सयौं–हजारौं कमेन्टको ओइरो लाग्छ, प्रतिआक्रमणका लेखहरूको लाइन लाग्छ । नेपाल बारेमा मिस्प्रिन्ट गर्ने ‘टाइम’ पत्रिकालाई सोध्नोस्, के हालत हुन्छ भनेर । यी पहाडीहरू मिडिया अभियान चलाउन यति सक्रिय हुन्छन् कि अरबौं जनताको देशमा समेत प्रशान्त तामाङ्गलाई जिताउन सक्छन्, सीएनएनको छनोटमा पनि अनुराधा कोइरालालाई पार्न सक्छन् ।

तर विश्वका सबै विपन्न वर्गहरूको समस्या लगभग उस्तै छ, तिनीहरू असंगठित, अशिक्षित र असक्षम छन्, विना कुनै मिडिया पूर्वाधार, विना कुनै जानकारी उत्पादन र वितरण गर्ने संयन्त्र, विना अनलाइन पहुँच । जबकि शासकवर्गसँग प्रोपागाण्डाका लागि सबै साधनश्रोत उपलब्ध हुन्छन् — मिडिया, गैरसरकारी संस्था, ‘बुद्धिजीवी’वर्ग, अध्ययन–अनुसंधान केन्द्रहरू, पावर अफ् अथोरिटी, सबै । शासकवर्गले ती सबै संयन्त्रहरू राज्यका अपराध र अन्याय लुकाउन, विपन्न वर्गलाई बदनाम गर्न, र उनीहरूमाथि आफ्नो साम्राज्य लाद्न प्रयोग गर्ने गर्छन् । यदि मिडियाले मधेशीहरूमाथि एक प्रतिशत पनि न्याय गरेको भए आधा जति समस्या त त्यहाँ हुने नै थिएनन् । नेपालमा भेदभाव, रंगभेद र साम्राज्य लाद्न नेपाली मिडिया निकै नै जिम्मेबार छ ।

हालमा आएर अनलाइन सोसअल नेटवर्किंग साइटहरूमा केही मधेशी कार्यकर्ताहरू झुम्मेको पाउँछु, अनलाइन मिडियामा विपन्न र पिछडिएका वर्गको पहुँच त नाइँ बराबर नै छ, तर यी कार्यकर्ताहरू त्यहाँ दिन–रात घंटौघंटा बहस गर्दै बिताउँछन्, अनलाइन ग्रुपहरू खोलेर के–के न गरेको सोच्छन् । मान्छेहरू पनि ‘लाइक’मा क्लीक गर्दै आफ्नो दायित्व पूरा भएको ठान्छन्, यो तृप्त हुने सजिलो उपाय भएको छ । तर यी गतिविधिहरू एक्टिभिस्टको इनफर्टाइल मास्टरबेशनबाहेक केही हैन । केही समूहमा त दशौं हजार मान्छेहरू महिनौंसम्म जोशिएर आबद्ध भएको पाउँछु, तैपनि उपलब्धिबिहीन हुन्छन् तिनीहरू । ती दश हजार मान्छेहरू वास्तविक संसारमा दश दिनसम्म त्यही जोशले जम्मा हुने हो भने तिनीहरूको शक्ति र प्रभाव कति फरक हूँदो हो ।
(डा. राउत स्वतन्त्र मधेश गठबन्धनका संयोजक हुन् ।) (साभार : फेसबुक)

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com