मधेशलाई आन्दोलन उपहार !

ओमप्रकाश सर्राफ

विगत छ महिना पहिला माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीच त्रिपक्षीय तीनबुँदे सहमति भएको थियो । यी सहमतिको बुनियादमा प्रचण्डको नेतृत्वमा नयाँ सरकारको निर्माण भयो र प्रचण्ड सरकारको रचनाकारका रुपमा मधेशी मोर्चाले पनि सरकारलाई सहयोग गरेको थियो । सरकार मधेशी मोर्चाको दबाबमा सहमति अनुसार सरकारले गर्न सक्ने केही निर्णयहरु पनि गर्यो तर मधेशी मोर्चाको मुख्य मागलाई बारम्बार दरकिनार गर्ने प्रयत्न गरि रहयो । त्यसपछिको परिस्थितिलाई आलटाल गर्दै अधुरो अपुरो संविधान संशोधन विधेयक संसदमा पेस गर्यो । उक्त विधेयकलाई प्रतिपक्षले राष्ट्रघाती भन्दै सडक र सदनबाट विरोध गरे भने मधेशी मोर्चाले अपुरो अधुरो भन्दै आपत्ति जनाए । सो सिलसिला चलिरहँदा वर्तमान अवस्थामा निर्वाचनको हल्ला खल्ला खुब चल्दै छ ।

वर्तमान संविधानको कार्यान्वयनको दुहाइ दिदै स्थानीय निकायको निर्वाचनको तयारी सरकारले अनौपचारिक रुपमा थालिसकेको छ । आज–भोलिमै स्थानीय निकाय निर्वाचनको मिति पनि घोषणा हुने तयारी पनि सरकारले गरेको अवस्था छ ।

सरकार चौतर्फी घेरामा छ, सशक्त प्रतिपक्षको निर्वाचन गर्ने अडान र संशोधनको ‘स’ पनि सुन्न नसक्ने अडान तथा मोर्चाको संविधान संशोधन बिना निर्वाचनको नि पनि नसुन्ने अडान यसै बिच प्रचण्ड सरकार चेपुवामा परेको छ ।

संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा लगत्तै सरकारका रचनाकारकै एउटा मुख्य शक्ति मधेशी मोर्चा आन्दोलनमा जाने तयारी गरिरहेको बेला संविधान लागू हुने झनै अनिश्चित छ, जुन संविधान कार्यान्वयनका लागि सरकारले निर्वाचनको घोषणा गर्दै छ, त्यो संविधानको केही धारा र उपधारा एवं प्रस्तावनामा असहमति जनाउँदै मोर्चाले उक्त संविधान जलाइसकेको छ । संशोधनको विरोधमा विश्वलाई नै झकझकाउने गरी छ महिनासम्म घनघोर आन्दोलन पनि गरिसकेको छ, जसमा करिब पाँच दर्जन मधेशीको बलिदानी पनि भएको छ ।

सरकारको प्राथमिकतामा यदि संविधान कार्यान्वयन छ भने निर्वाचन गराउने जतिको शक्ति, सामर्थ्य, विवेक संशोधनका लागी लगायो भने सबभन्दा उत्तम तरिकाले निकास निस्किन्छ । सदनमा प्रतिपक्षको एक तिहाइ भन्दा बढी संख्याले डराएको सरकारले संशोधनका लागि प्रतिपक्षलाई विश्वासमा लिने र निकास दिन पहल गर्ने उत्तम बाटो हुने थियो । तर सरकार ढालेको प्रतिशोधमा रहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेको शक्ति सदन भएकोले संख्याको दम्भमा छ, सरकार सदनको संख्याबाट डराएर बैकफुटमा जाने बाध्यात्मक अवस्था दर्साएर संशोधनलाई थाँती राखी निर्वाचनतिर जाने मनस्थितिमा छ ।

मोर्चाको शक्ति वर्तमान सेनारियोलाई अवलोकन गर्दा सदनभन्दा सडकमा छ । अहिले सरकारसँग दुई वटा शक्तिको सामना गर्नु पर्ने अवस्था छ । संशोधनमा जाँदा सदनको शक्ति सशक्त प्रतिपक्षसँग भने चुनावमा जाँदा मधेशी मोर्चाको सडक शक्तिसँग ।

मधेशी मोर्चा जुन संशोधन गरि संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारबाट बनवास, त्याग, तपस्या एवं बलिदानी भोगेका छन् नैतिक रुपले पनि आफ्ना एजेन्डालाई छाडन सक्दैन । बिना संविधान संशोधन एवं आन्दोलनको सार्थक परिणाम बिना चुनावमा जानुको कुनै अर्थ नै रहदैन भन्ने सोचमा देखिन्छ र यथार्थ पनि हो । बारम्बार आफ्ना उदघोष एवं निर्णयहरुमा माग पूरा बिना चुनाव हुन दिन्नौं, चुनावमा भाग लिन्नौं भन्ने अभिव्यक्ति, भनाइहरुले पनि मोर्चा चुनाव भाँड्ने वा बहिस्कार गर्ने पक्षमा नै छ ।

दुबै शक्तिको बिच जनचाहनालाई मिनिमाइज गर्न सकिदैन । जनतालाई स्थिर सरकार चाहिएको छ, सुशासन चाहिएको छ, विकास चाहिएको छ, दिगो शान्ति चाहिएको छ ।

निर्वाचनको मिति घोषणा हुने अवस्थामा मधेशी जनता आक्रोसित त देखिन्छ नै यो सरकारप्रति निरासा पनि छाएको छ । यो सरकारसँग संविधान संशोधन हुने र आफ्ना अधिकार प्राप्त हुने बडो अभिलाषाका साथ सरकारका कदमहरुलाई बुद्धिजीबीहरुको साथै आम मधेशी पनि बडो चासोका साथ नियाल्दै थिए । प्रचण्ड सरकारले मधेशी मोर्चा र मधेशी जनतालाई समर्थनको बदलामा आन्दोलन उपहार दिनेछ भने आशा गरेको थिएन । निर्वाचनको मिति घोषणा भयो भने मोर्चाले आन्दोलनको मिति र कार्यक्रम घोषणा गर्नेछ र मुलुकमा शान्ति, निकासको उद्देश्यले बनेको सरकार आन्दोलनको रचनाकार बन्ने छ ।

मधेशी मोर्चा यो सरकारबाट बाहिर रहेर चतुर्याइँ देखाएको छ, यी सरकारको योजनाअनुसार मधेशी मोर्चा सरकारमा गएको भए अहिले सरकारले गर्ने मधेश विरोधी निर्णयहरुको विरोधमा मधेशी जनता साथ दिँदैन्थ्यो होला । मोर्चाले ढिलै भए पनि सात वटा मधेशकेन्द्रित पार्टीसँग आफ्नो गठबन्धनको विस्तार गरेको छ ।

पुनस्चः संविधान संशोधन बिना चुनावको मिति घोषणा भयो भने मधेशमा आन्दोलन हुने बाध्यात्मक अवस्था आउँछ र माओवादी केन्द्र, नेपाली कांग्रेसको मधेशमा पुनः जाग्दै गएको प्रभाव आन्दोलनसँगै आक्रोशमा बदलिदै जानेछ र फेरि तिनै दल मधेशी जनता विरोधी निर्णयमा एक साथ हुँदो रहेछ भने भावना मधेशी जनतामा छर्लङ्ग हुने छ । आन्दोलनको दौरान हुने परिणाम गत वर्षझैं नहुने हो भन्न सकिन्न । लाखौ मान्छे सडकमा ओर्लेका थिए फेरि ओर्लिदैन भन्न सकिन्न ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com