नेपाल–भारतको सेतु : मिथिला पञ्चकोशी परिक्रमा

नागेन्द्र कुमार कर्ण

हजारौं साधु, सन्त, महन्थ, नागा, गृहस्थहरु सहभागी हुने मिथिलाको धार्मिक तथा साँस्कृतिक महत्वको मिथिला परिक्रमा शुरु भइसकेको छ । यस भेगकै लामो समयसम्म चल्ने ऐतिहासिक परिक्रमाको आफ्नै महत्व र विशेषताहरु रहेको कारणले पनि यसमा सहभागी हुनेहरुको संख्यामा कमी आएको छैन । 

मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाईन्छ । मन्दिरमा होस अथवा कुनै पनि पुजा पाठ पश्चात मन्दिरको एक फन्का घुम्नु नै परिक्रमा हो । परिक्रमा निश्चित ठाउँको गर्ने गरिन्छ । मिथिलामा विवाह देखि मृत्यु पर्यन्त परिक्रमा गर्ने गरिन्छ ।

विवाहमा वरवघुले वेदीको वरिपरी घुम्ने गर्छ त्यो पनि परिक्रमाको प्रतिक हो । यस्तै परिक्रमा मिथिलाञ्चलमा सदियौ देखि मनाईदै आएको छ । मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दु मानी परिक्रमा गर्ने चलन यहाँ रहेको छ । जसलाई पंचकोशी, माध्यमिकी परिक्रमाको नाउँबाट सम्बोधन गर्ने गरिन्छ ।

हरेक वर्ष फाल्गुण कृष्णपक्षको अमावश्यादेखि शुरु भई फाल्गुण पूर्णिमा सम्म पञ्चकोशी परिक्रमा मनाईन्छ । परिक्रमा जनकपुरबाट शुरु भई जनकपुरमै गई ईतीश्री गर्ने गरिन्छ । परिक्रमा वृहत, मध्य र अन्तगृही पश्चात सम्पन्न गर्ने गरिन्छ । वृहद परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गंगा र पश्चिममा गण्डक सम्मको परिक्रमा पछि सम्पन्न गर्ने गरिन्छ । आजभोली यो परिक्रमा विरलै गरेको भेटिन्छ ।

मध्य परिक्रमा अठारौं शताब्दी भन्दा पूर्व देखि मनाईदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला ५ दिन सम्म मनाईने गरिन्थ्यो । यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिन बनाए । जसले गर्दा अहिले ती परिक्रमामा साघुसन्त, महन्थ, गृहस्थी, नागा लगायतका वृहद उपस्थिती हुने गर्छ ।

मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दू मानी नेपाल र भारतको १५ विश्राम स्थलमा बसोबास गरी फाल्गुण पूर्णिमा दिन जनकपुरमा अन्तगृही परिक्रमा गरी यस पर्वको समापन गर्ने गरिन्छ । १५ विश्रामस्थल जनकपुरबाट पाँच पाँच कोशको दुरीमा रहेको कारण यसलाई पञ्चकोशी परिक्रमा भनिएको हो । फाल्गुण अमावश्याको दिन धनुषाको कचुरीबाट मिथिला विहारीको ( रामसीता ) र किशोरीजीको डोला बाजागाजा सहित जनकपुर स्थित जानकी मन्दिरमा ल्याई परिक्रमाको विधिवत शूरुवात गरिन्छ ।

यो डोला मिथिलाको विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको स्थलको परिक्रमा गरी जनकपुरमा आएर सम्पन्न हुन्छ । जनकपुरमा मध्य परिक्रमा अन्तगृही परिक्रमामा परिणत भई सम्पन्न गर्ने गरिन्छ । परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाई पछि इतिश्री गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणा लगायतका ठाउँहरुमा परिक्रमाबासीहरु बसोबास गर्छन । परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्वको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत दिने गर्छ । विश्रामस्थल विशिष्ट महत्वको भएपनि अवस्था दयनिय रहेको छ । ति स्थलमा रहेको जलाशय, मठ, मन्दिर अपेक्षाको कारण जिर्ण बन्दै गएको छ । परिक्रमा सडकको निर्माण हरेक वर्ष जोडतोडका साथ उठेपनि अहिले सम्म सो सडक निर्माण नहुदाँ परिक्रमाबासीहरुलाई ज्यादै नै सास्ती भोग्नुपरिरहेको छ ।

परिक्रमा गर्दा सुख, शान्ति, मनोकामना पुर्ण हुने लगायतका मान्यताका कारण वर्षैनी परिक्रमा गर्नेहरुमा बढोत्तरी हुदै आएको छ ।

परिक्रमा मार्ग

मध्य परिक्रमा अर्थात पञ्चकोशी परिक्रमा नेपाल भारतको ८० कोशको वृत्ताकारमा धुमि मनाईने गरिन्छ । नेपाल र भारतको १५ विश्राम स्थलमा फाल्गुण अमावश्यादेखि शुरु गरी फाल्गुण पूर्णिमा सम्म यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्विक महत्व रहेको छ । यहाँ यसैबारे चर्चा गरिन्छ ।

(१) हनुमानगढी ः— फाल्गुण अमावश्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी ( मिथिलाविहारी ) को डोला जानकी मन्दिर हुदै बाजागाजा सहित हनुमानगढीमा राति विश्राम लिन्छन । यहाँ सयौ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।

(२) कल्याणेश्वर ( कलना ) ः— विश्रामको दोस्रो पडाव स्थल भारतको कल्याणेश्वर अर्थात कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर अवस्थित छ । राजर्षी जनकले आफ्नो राजधानीको चारै कुनामा स्थापना गरेका चार महादेव मध्ये यो एक हो ।

(३) गिरिजास्थान ( फुलहर ) ः— कल्याणेश्वरस्थानबाट चार कोस दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको पडाव स्थल हो । यो पौराणिक स्थल रहेको मान्यता छ । त्रेता युगमा सिताले यही फुल चुनिरहेको बेला रामको पहिलो भेट भएको क्ंिवदन्ति छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र फुलवारी रहेको छ ।

(४) मटिहानी ः— मिथिला पञ्चकोशी परिक्रमा चौथो दिन अर्थात फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्राम स्थल मटिहानी प्रवेश गर्छ । यहाँ सीताजीको मटकोरको लागी माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मी सागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ ।

(५) जलेश्वर ः— मटिहानीबाट परिक्रमाबासी चौथो दिन जलेश्वर पुग्छन जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पुजा आराधना गर्ने गर्छन ।

(६) मडै ः— फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छन र यहाँ राति विश्राम लिन्छन । प्राचिनकालमा यहाँ माण्डव ऋर्षीको आश्रम र सीताजीको बिहेको लागी मडवा ( वेदी ) यही बनाईएको जनश्रुति पाईन्छ ।

(७) धु्रवकुण्ड ः— मडैबाट सातौ दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिईन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुव कुण्ड रहेको छ ।

(८) कञ्चनवन ः— ध्रुवको दर्शन गरेर परिक्रमाबासी महोत्तरीको अन्तिम पडाव स्थलको रुपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन । यहाँ ईच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेको थियो । त्रेता युगमा यहाँ भगवान रामले होली खेलको क्ंिवदन्ति अनुसार यहाँ परिक्रमाबासी पुगि अविर खेली होली मनाउने गर्छन ।

(९) पर्वता ः— नवम दिन परिक्रमाबासी धनुषाको पर्वतामा विश्राम लिन्छन । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।

(१०) धनुषाधाम ः— पर्वताबाट परिक्रमाबासी दशौ पडावस्थलको रुपमा रहेको धनुषाधाम पुग्छन । यहाँ जनकपुरमा सीतको स्वंयम्वर हुदाँ मर्यादापुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमान लगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रविन्दु धनुष रहेको पाईन्छ ।

(११) सतोषर ः— फाल्गुण शुक्ल दशमीका दिन परिक्रमाबासी डोलासंगै सतोषर पुग्ने गर्दछ । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर रहेको छ ।

(१२) औरही ः— विमला नदीको तटमा रहेको औरहीमा १२ औं दिनको विश्राम लिईन्छ ।

(१३) करुणा ः— नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौ दिनमा प्रवेश गर्छन । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।

(१४) विशौल ः— करुणाको विश्रान्ति पछि परिक्रमाबासी चर्तुदशीको दिन भारतको विशौल पुग्ने गर्दछ । यहाँबाट कमला नदी वग्दछ भने यहाँ ऋर्षी विश्वामित्रको मन्दिर समेत रहेको छ ।

(१५) जनकपुर ः— परिक्रमाको अन्तिम पडावस्थल जनकपुरमा परिक्रमाबासी पुगी विश्राम लिन्छन । यहाँ राति विश्राम पश्चात अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन । जानकी र राममन्दिरलाई केन्द्रविन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन । सो पश्चात मिथिलामा होली प्रारम्भ हुन्छ ।

स्थानीयवासीहरुको उदासिनता तथा सरकारले ध्यान नदिएको कारण परिक्रमास्थलहरुको स्थिती दयनिय वन्दै गएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका ती ठाउँहरुमा परिक्रमाबासीहरुलाई पहिलोजस्तो सुविधाको अभाव छ । पहिला पहिला परिक्रमा विश्रामस्थलहरुमा धना बनहरु र रुखहरु रहने गरेका थिए भने पोखरीहरुको पनि समूचित व्यवस्था थियो तर अचेल यसमा कमि आएको देख्न सकिन्छ । तर पनि स्थानीयहरुबासीहरुले परिक्रमाबासीहरुको ध्यानमा राख्दै खानेपानी, विजुलीवत्ती, शौचालय, ओखतीमुलो सहित खानपिनको बन्दोवस्त गर्ने गरेको पाईन्छ ।

वर्षोदेखि भारतसरकारको सहयोगमा परिक्रमा सडक निर्माण गर्ने आवाजहरु उठेपनि अहिलेसम्म त्यो निर्माण हुन सकेको छैन् । सरकारले स्थानीयहरुको सहकार्य तथा बृहत्तर जनकपुर विकास परिषदको सहयोगमा परिक्रमास्थलहरुको उद्धार गर्ने हो भने यसमा फेरी साधु, सन्त, महन्थ, नागा र गृहस्थहरुको उपस्थिती बढने देखिन्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com