मधेशी मोर्चाले सत्ता त्यागे, भत्ता जोगाए ! (विचार)

रामसुकुल मण्डल // 
अहिले नेपालको राजनीतिक गतिविधि हेर्दा गम्भीर मोडमा पुगेको छ । मधेशले संविधान अस्वीकार गर्दा संविधान घोषणा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयन भएको छैन । तैपनि, राष्ट्रवादी भनाउँदाहरुले जसरी पनि चुनाव गराएरै छाड्ने, संविधान संशोधन हुन नदिने लगायतका कुराहरु गरिरहेका छन् । तर, वास्तविक कुरालाई आत्मसात नगर्दा मुलुकमा द्वन्द्व बढ्दै गएको छ ।

अहिलेको राजनीतिक केन्द्रबिन्दू मधेश बनेको छ । मधेशी मोर्चाका नेताहरुले आफूहरु नै मधेशका सर्वोपरि हुँ भनेर ठान्न्ले पनि समस्या बढेको छ । मधेशको मनस्थिति के हो भन्ने कुराको सामान्यज्ञान हुँदाहुँदै पनि मनपरि गरिरहँदा न त मधेशले आफ्नो मुद्दालाई सम्बोधन गराउन सकेको छ न त मोर्चाले नै ।
 
मधेशी मोर्चा र मधेशी जनताको मागमा तात्विक फरक देखिएको छ । मोर्चाले मधेशलाई आफ्नो ठान्नु तर, मधेशको मनोविज्ञानलाई आत्मसात नगर्नु नै अहिलेको मुख्य समस्या देखिएको छ ।

काठमाडौंमा बसेर मोर्चाका नेताहरुले आफूखुशी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्छन् । आन्दोलनका अन्य घटकहरुसँग विचार, विमर्श, छलफल, सरसल्लाह आदि इत्यादि गर्ने आवश्यक ठान्दैनन् मोर्चाका नेताहरुले । तर, जनतामा विकसित भएको राजनीतिक चेतना र मधेशी जनताले बुझेका कुराहरुबाट अहिलेसम्म मोर्चाका नेताहरु अनभिज्ञ छन् ।

आन्दोलन घोषणा गर्नु र आन्दोलन सफल नहुनुका मुख्य कारक तत्व मोर्चाका नेताहरु स्वयम् छन् । वास्तवमा भन्ने हो भने मोर्चाका नेताहरुले नै मधेशको समस्याको निकास चाहिरहेका छैनन् । मधेश युवा पत्रकार तथा विश्लेषकले मधेशवाणी पत्रिकामा लेख लेखेका थिए कि मधेशी मोर्चाका नेताहरु नै मधेशका मागबारे प्रष्ट छैनन् भनेर ।

वास्तवमा ती पंक्तिकारको विश्लेषणलाई अध्ययन गर्ने हो भने सही नै लाग्छ । ती पंक्तिकारले मोर्चाका नेताहरु मधेशको मागबारे प्रष्ट नरहेको उल्लेख गरका छन् ।

ती पंक्तिकारले लेखेका छन्, ‘मधेशवादी दललाई सरकारले वा सरकार पक्षीय दलले सोधखोज गर्न छोडे पछि वा सरकारको लागि भागबण्डा चाहिएको बेला मोर्चा सक्रिय हुने गरेको छ । अहिलेसम्म मधेशी मोर्चा मधेशको माग बारे प्रष्ट हुन नसक्नु मधेशीका लागि लाजमर्दो कुरा हो ।’

अहिले पनि मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता त लिएको छ तर, मधेशी जनताको जुन आवाज उठिरहेको छ त्यसलाई बुझेर पनि बुझ पचाइरहेका छन् मोर्चाका नेतागणले । मधेशले अहिलेसम्म संसद वा सरकारबाट खासै उपलब्धि पाउन सकेको छैन ।
पाएका उपलब्धिहरुसमेत गुम्ने खतरा बढेको छ । मधेशी मोर्चाका नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर ठूलो उपलब्धि हासिल गरिसकेको ठान्छन् तर, आमजनताले मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लियो तर आफूहरुले पाइरहेको भत्ता खाइरहने बाटो खुला नै राखेको भनिरहेका छन् ।

बारम्बार मधेशवादी दलका नेताहरूले आन्दोलनको घोषणा गरेर आफू काठमाडौंकेन्द्रित हुने र जनता, कार्यकर्ता तथा नेतालाई राज्यको दमनको शिकार हुन दिने परम्पराबाट आन्दोलनका अन्य पक्षधरहरू आक्रोशित देखिएका छन् । गत मधेश आन्दोलनमा पनि काठमाडौंबाट नाकाबन्दी, मधेश बन्द लगायतका घोषणा गरेर मधेशका जनता नै बढी पीडित भएका थिए । तर, आन्दोलन घोषणा गर्नेहरूले काठमाडौंमा बसेर चियागफमा नै रमाइरहेका थिए ।

सत्ताका लागि बार्गेनिङ्ग गर्दै थिए । काठमाडौंमा बसेर राज्यको गोली खाएर मरिरहेकाहरूप्रति दुःख र आक्रोश व्यक्त गरिरहेका थिए । तर, आन्दोलनको रणनीति कस्तो हुने, मागहरू के–के हुने, मधेशीलाई अधिकार सम्पन्न कसरी बनाउने भन्ने विषयमा ती नेताहरूले आपसमै सल्लाह र सहमति गरेर निर्णय गरेको पाइएको आमगुनासो । आन्दोलनमा ती पार्टीहरूका कार्यकर्ताहरू मात्र थिएनन्, सबै मधेशीहरूले साथ दिएका थिए । तर, आन्दोलन फिर्ता लिने बेलामा पनि काठमाडौंमै निर्णय गरेर ६ महिनासम्म चलेको आन्दोलनलाई बिना कुनै ठोस निष्कर्ष टुंग्याइएको थियो ।

अन्य आन्दोलकहरूलाई पुनः त्यहीं पीडा हुन थालेको छ । फेरि काठमाडौंमै बसेर केही नेताहरूले आन्दोलनको घोषणा तरे तर, अन्य आन्दोलकहरूसँग कुने किसिमको छलफल वा विचार विमर्श गरिएन । तसर्थ, यसपटक कसैले शहादत किन दिनुप¥यो, विगतका शहादतको प्रतिफल के भयो किन मागहरू पूरा भएन भन्ने कुराको जानकारी आम जनतालाई हुनुप¥यो भन्ने मान्यताका साथ मधेशका अन्य आन्दोलकहरूले मधेशवादी नेताहरूलाई झक्झक्याउन थालेका छन् ।

तसर्थ, मोर्चाले सत्ता त्यागे पनि भत्ता पाइरहनेछन् । सत्ता र भत्ताको मोहमा फँसेर मोर्चाले मधेशका माग र मुद्दालाई ओझेलमा पार्ने कार्य गर्दै आइरहेको छ । मोर्चाको नाममा आफ्नो राजनीतिक अभिष्ट मात्र पूरा गर्दै आएको विश्लेषकहरुको भनाई छ ।

केही दिन पहिला मधेशका एक बुद्धिजीबी तथा अधिवक्ताले भनेका थिए, ‘कृप्या तपाईहरू अब काठमाण्डौँमा नबसदिनुुस् । आन्दोलन घोषणा गरेर शीर्षस्थ नेताहरू काठमाण्डौँमा बस्नु उपयुक्त हुँदैन । त्यसैपनि काठमाण्डौँको मायामोह र भ्रमजालमा धेरै नपर्नुस, तपाइले ग्राउण्डमा संघर्ष नगरेसम्म काठमाण्डौँले सुन्ने र केही दिने वाला पनि छैन ।’ विस्तृत मधेशवाणीको चैत्र ११ गतेको अंकमा प्रकाशित हुनेछ.......


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com