पत्रकार महासंघ केन्द्रिय कार्यलयको रवैयाका कारण पत्रकार पीडित

चन्दनकुमार यादब, काठमान्डौ,३ वैशाख । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयका पदाधिकारीहरुले हालसम्म देखाइरहेको रवैयाका कारण सप्तरीका पत्रकारहरु पीडित बनेका छन् ।
गत चैत ३० गतेदेखि केन्द्रिय कार्यालयमा तालाबन्दी गरी धर्ना दिइरहेका पत्रकारहरुको मागबारे सचिवालयको बैठक गत शनिबार बिहान बसेर छलफल गर्ने बताएपनि कुनै केन्द्रिय पदाधिकारी आन्दोलनस्थलमा समेत आएनन् ।
पत्रकारहरुले केन्द्र आफैंले ल्याएको समस्या चाँडै समाधान गर्ने अपेक्षा राखेपनि केन्द्रिय पदाधिकारीहरुले अझै हेलचक्राइँ गरिरहेका छन् ।

केन्द्रिय अध्यक्ष महेन्द्र विष्टले आफ्नो संगठन प्रेस चौतारी निकटका पत्रकारलाई मात्रै काँखी च्यापेर बाँकी सम्पूर्ण सकृय पत्रकारलाई वाइपास गरेपछि सप्तरीका पत्रकारहरु तालाबन्दी गर्दै धर्ना दिएका छन् ।
महेन्द्र विष्टको संगठन प्रेस चौतारीका सदस्य प्रकाश खतिवडा महासंघ सप्तरीमा निर्वाचित भएपछि गरेको आर्थिक अनियमितता र मनमानीबिरुद्ध सप्तरीका पत्रकारहरु अविश्वास प्रस्ताव दर्ता गरी पारित गरेपछि बिष्ट चिढिएका हुन् ।

जिल्लाका कुल सदस्यमध्ये दुई तिहाईभन्दा बढी सदस्यले बिधान अनुरुप विशेष साधारणसभा मार्फत अविश्वास प्रस्ताव पारित गरेपनि विष्टसहितका केन्द्रिय पदाधिकारीले यसलाई मान्न तयार छैनन् ।
आफ्ना मान्छेलाई हटाएको आक्रोशमा बिष्टसहितका केन्द्रिय पदाधिकारी सप्तरीका सात जना पूर्व अध्यक्षसहित सकृय जति सबै पत्रकारको सदस्यता नवीकरण गर्न मानेका छैनन् ।

विशेष साधारणसभा मार्फत निकालिएका अध्यक्षकै नेतृत्वमा अधिवेसन गर्न दवाव दिइरहेका केन्द्रिय पदाधिकारीले वैशाख ७ गतेभित्र अधिवेसन गराउन निर्देशनै दिएका छन् ।
जबकी पूर्वाञ्चलका जिल्लाहरुमा फागुन ७ गते अधिवेसन निर्धारण गरिएकोमा केन्द्रले नै सप्तरीलाई विवादित जिल्लाको सूचीमा राखी फागुन ५ गते यो जिल्लाको अधिवेसन स्थगित गराएको थियो ।
तर केन्द्रको पछिल्लो निर्णयले विवाद समाधानै नगरी वैशाख ७ गतेभित्र अधिवेसन गर्न भनेपछि पत्रकारहरु आन्दोलित भएका छन् ।

यसैबीच सप्तरीका पत्रकारहरुले केन्द्रिय कार्यालयमा तालाबन्दी गरी दिइरहेको धर्नामा ऐक्यबद्धता जनाउनेहरु बढ्दै गएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकार गोबिन्द आचार्य, प्रेस चौतारीका केन्द्रिय सदस्य सुभाष झा, संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिव रामसहाय यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, पूर्व सिंचाई मन्त्री उमेश यादव, प्रेस मंचका सल्लाहकार राजकुमार यादव, पूर्व सांसद बिनोद सापकोटा, केदार कोइराला सहितकाले सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

 

 

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com