बिना संशोधन निर्वाचनमा जानु धोका हो : राजेन्द्र महतो

अध्यक्ष मण्डलीय नेता, राष्ट्रिय जनता पार्टी, नेपाल

० अहिलेको राजनीतिक अवस्थालाई तपाई कुन रूपमा लिनु भएको छ ?
— अहिले त अन्योलको अवस्था छ । जनताको संघर्ष अधिकार प्राप्तिको जुन लडाई हो, आन्दोलन हो त्यो चलिरहेकै छ । अहिलेको अवस्था बडा अन्योलको अवस्था छ । एकतर्फ निर्वाचनको घोषणा भएको छ भने अर्कोतर्फ संविधान संधोधन लगायतको विषयहरू, मधेशी जनजातिले उठाउँदै आएका मागहरूलाई सम्बोधन गरी निर्वाचनमा जानु उपयुक्त होला ।


० मधेशी मोर्चाका ६ वटा दल मिलाएर राजपा नेपाल बनाउनु भयो, यो कसरी सम्भव भयो ?
— जनताको भावना, चाहना र माग सबभन्दा महत्वपूर्ण कुरा हो । दोस्रो संविधानसभापछि आम मधेशी जनताले एकताका कुरा उठाए कि मधेशकेन्द्रित पार्टीहरू एकताबद्ध भएर आउनु पर्छ । एउटै उद्देश्य र लक्ष्यका लागि मोर्चाबन्दी गरेका पार्टीहरू संघर्ष गर्नसक्नु हुन्छ भने ती उदेश्य पुरा गर्नको लागि तपाईहरू यो मोर्चालाई एउटै पार्टीमा बदल्नुस, सात ओटा झण्डा नराख्नुस, एउटै झण्डा राख्नुस र एउटै नाम राख्नुस र तपाईहरू मिलेर आउनुस भनेर जनताको जनादेश आएपछि सम्भव भएको हो । हामी सडकको संघर्षमा र निर्वाचनमा पनि एउटै मधेशवादी दललाई मतदान गर्न चाहन्छौं, छुटाछुटै हुँदा मत विभाजन हुन्छ । हामी विगतमा काँग्रेस एमाले माओवादीलाई मतदान गर्यो त्यसैको परीणाम स्वरूप यो गलत संविधान बनेको हो । काँग्रेस माओवादी र एमालेले हाम्रै मत लिएर हाम्रो विरूद्धमा संविधान बनाए, सरकार बनाएर हामी माथी गोली चलाए, त्यसैले यो कुरा हामी बुझेको छौं र यसको भुलसुधारको लागि तपाईहरू एक भइदिनुस हामी मतदान देखी सडक संघर्षसम्म एकभएर अगाडी बढ्छु भन्ने कुराको सम्पूर्ण मधेशका जनताले हामीलाई पटक पटक आग्रह गरेका थिए । प्रेरणा हामी मधेशी जनताबाट पाएका थियांै र मधेशको बृहत हितमा एउटा शक्तिको आवश्यता छ । एउटा शक्तिशाली पार्टीको निर्माण गरौँ भन्ने जनादेशको हामीले पालना गरेका हौँ । हामी सातैओटा दल एक हुन खोजेका थियौँ तर त्यसमा उपेन्द्र यादव जी मधेशसँग एकता गर्न चाहनु भएन । उहाँ बाबुराम भट्टराईसँग जानु भयो । मधेशी जनताको चाहना र भावना अनुसार ६ पार्टीको एकीकरणबाट मधेशमा एउटा लहर चलेको छ, मधेशमा खुसीयाली छाएको छ । अब सम्पूर्ण मधेशी जनता आफ्नो अधिकारका लागि राजपामा आउनु पर्छ ।


० विगतमा पनि पार्टी एकीकरणको लामो प्रयास भएको थियो, त्यतिबेला किन सम्भव भएको थिएन त ?
— कुनै कामको समय हुन्छ । विगतमा पनि दोस्रो संविधानसभाको निर्वाचन पछि सदभावना, तमलोपा र मधेशी जनअधिकार फोरम नेपालबीच एकताको कुरा धेरै लामो समयसम्म चल्यो । तर, उपेन्द्रजी त्यतिबेला पनि तयार हुनु भएन र अहिले पनि उहाँ मधेशसित एकता हुन तयार हुनु भएन । उहाँ पहाडसित एकता गर्नु भयो । पहिले अशोक राईसँग गर्नु भो अहिले बाबुराम भट्टराईसित एकता गर्नु भयो । जसले हाम्रो विरूद्धमा बनेको संविधानमा हस्ताक्षर गरेका छन् त्यो व्यक्तिसँग उपेन्द्रजीले सहकार्य गर्दै हुनुहन्छ । तर, मधेशसँग एकता गर्न रूचाउनु भएन, चाहनु भएन । उहाँले नचाहदैँमा केही बिग्रेको छैन । उहाँ आफूलाई पहाडकेन्द्रित पार्टी भनाउने भइहाल्नु भयो । जो वास्तवमा मधेशी, जनजातिको लागि काम गर्ने त्यो अहिले भइसकेको छ । जो मधेशलाई एक हुनमा बाधकको रूपमा थियो मधेश छाडेर जानु भयो ।


० राजपा नेपालमा कोही गजेन्द्र नारायण सिंह, कोही काँग्रेस त कोही एमालेको स्कुलिङबाट आएकाहरू छन् । यस अवस्थामा पार्टीमा एउटा विचार र सिद्धान्त तयार गर्न कतिको गाह्रो भइरहेको छ ?
— गाह्रो त हुन्छ नि । सबैको आ–आफ्नो राजनीतिक पृष्ठभूमि र इतिहास छ । हाम्रो त झन २८ वर्ष लामो इतिहास छ । अरू त काँग्रेस, एमाले, माओवादीबाट आएका साथीहरू थिए तर हामी त २८ वर्षदेखि गजेन्द्रबाबुको स्कुलिङबाट आएका छौं । हामीलाई त झन् त्यो पुरानो लिग्लेसी र पहिचान छोड्न बडा अप्ठारो थियो, धेरै अप्ठेरो भयो, एकदमै पीडा भयो । तर मधेशी जनताको हितको लागि मधेशी जनताको भावनाको कदर गर्दै मधेशीको अधिकारको लडाईलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्नो पीडालाई बिर्सेर जनताको पीडालाई समाधान गर्नका लागि हामी एकताबद्ध भयौं । सबै कठिनाईलाई पार गर्दै एकदमै आत्मीय ढँगले एकतावद्ध भएका छौँ ।


० सुनिन्छ, गजेन्द्रनारायण सिहको विचार र योगदानलाई पार्टीको विधानमा नसमेटीएको कारण विवाद भएको थियो रे हो ?
— हैन् त्यस्तो केही कुरा पनि होइन, कसैको योगदानलाई कसैले मेटाउन सकिदैन । इतिहास कहिल्यै मेटिदैँ मेटिदैन्, यो त मिडियाको काम हो । यो एकता विरोधमा लाग्ने थुपै्र तत्वहरू छ । मधेशमा पनि मधेशी अनुहारहरू यो एकतालाई बिथोल्न खोजेको हो । मधेश विरोधी खसवादीहरू यो एकतालाई मन पराएका छैनन् । उनीहरूले यस्ता अनर्गल प्रचार गरिहाल्छ नि ।


० ६ पार्टी एकीकरण गर्ने वित्तिकै उपेन्द्र यादवसँग जुध्नुपर्ने अवस्था किन आयो ?
— हामीले कसैसित जुध्नु पर्ने आवश्यता नै छैन । उपेन्द्र यादव मधेश केन्द्रित पार्टीसँग एकता गर्न चाहनु भएन । संविधानमा अधिकार प्राप्तिको विगतमा लामो समयसम्म आन्दोलन गर्यो । संविधान संशोधन नगरी चुनावमा जानु हुँदैन भन्ने मोर्चा र संघीय गठबन्धनको बटमलाइन बन्यो । मधेशी जनताले अधिकार नपाउन्जेल कुनै पनि निर्वाचनमा हामी जानु हुँदैन भन्ने गरेका थियौं । जनताले निर्वाचनमा जानका लागि सहादत, बलिदान र रगत बगाएको होइन । निर्वाचनका लागि हजारौँ मान्छे घाइते भएको होइन र ६–६ महिना बन्द हडताल, चक्कजाम निर्वाचनमा जानका लागि गरेको होइन । तिनीहरू अधिकार प्राप्तिको लागि गरेको हो । त्यो अधिकार प्राप्ति संविधान संशोधन जनताको माग थियो त्यो आन्दोलनकै एजेण्डा थियो । त्यो एजेण्डालाई उपेन्द्र यादवले लत्याएर गएकोले स्वाभाविकरूपमा उहाँलाई कारबाही गरिएको हो । गठबन्धनमा रहेको बाँकी दलहरूले संविधान संशोधन नगरीकन निर्वाचनमा गएकोले गठबन्धनको सिद्धान्त, नीतिअनुसार उहाँ नचलेकोले त्यसमा आवद्ध पार्टीहरूले अर्को संयोजकको रूपमा महन्थ ठाकुरलाई चयन गरेका हुन् । विना संशोधन निर्वाचनमा जानु कुनै तुकै थिएन, जानु पनि हुँदैन ।


० पहिलादेखि नै तपाइँले संघीय गठबन्धनलाई मन पराउनुभएको थिएन, बैठकमा अनुपस्थित नै हुनुहुन्थ्यो तर अहिले आएर एकाएक खुबै मन पराउन थाल्नुभयो । किन होला ?
— संघीय गठबन्धनमा उहाँको काम कारवाही ठिक थिएन भन्ने म सुरूदेखि नै भनिरहेको थिएँ । जतिवेला उहाँ संघीय गठबन्धनको संयोजक बन्नु भयो त्यो गलत तरिकाबाट बन्नु भएको थियो । अहिले आएर गठबन्धनका साथीहरूले भनिरहेको छ कि उहाँको सञ्चालन प्रक्रिया ठिक थिएन । संघीय गठबन्धनमा हामी त्यतिबेला पनि थिए आज पनि छौँ । त्यतिबेला उहाँको क्रियाकलाप मन नपरेर प्रायः म बैठकमा अनुपस्थित नै हुन्थे । अहिले हाम्रो आफ्नै कार्यालयमा भइरहेकोले एक्टिभ हुनु स्वभाविक हो । अहिले त संघर्षको बेला हो आन्दोलनको बेला हो यस्तो बेलामा आफ्नो पार्टीको बैठक गठबन्धनको बैठकमा आन्दोलनलाई अगाडी बढाउनलाई जानुपर्छ ।


० सत्तापक्ष र प्रतिपक्षबाट पटक–पटक धोका खानु भएको छ, यो पल्ट पनि संशोधन गरिएन भने तपाईहरू साचिक्कैँ निर्वाचनमा नजाने त ?
— पटक–पटक मधेशले धोका खाएकै हो र धोका दिनेलाई जनताले जवाफ दिन्छ । हामी कहिल्यै पनि जनतालाई धोका दिएका छैनौं । हामी २८ वर्षदेखि भने अनुसारको काम गर्दै आएका छौँ । मधेशका लागि काम गर्न कसैले हामीलाई सिकाउनु पर्दैन । संविधान संशोधन भएन भने कुनै पनि हालतमा कुनै पनि निर्वाचनमा जानु हुदैँन, संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो पार्टी, गठबन्धन र मेरो व्यक्तिगत मान्यता पनि हो । संविधान संशोधनका लागि जनताले शहादत दिएको थियो न कि निर्वाचनका लागि । त्यसैले जनताको शहादतलाई बिर्सेर पद प्राप्तिका लागि निर्वाचनमा गइहाल्ने त्यो अवस्था छैन । हाम्रो अहिलेको काम जनसंख्याको हिसाबमा स्थानिय निकायको संख्या बढाउनु पर्ने, झुठा मुद्दा लगाएको साथीहरूलाई र जेलमा रहेको साथीहरूलाई रिहा गर्नु प¥यो, शहिद घोषणा गर्नु प¥यो । रेशम चौधरी देश बाहिर बसिरहेका छन्, लक्ष्मण थारू झुठा मुद्दामा जेलमा छन् । यस्ता सैकडौं साथीहरू छन् जसलाई राज्यपक्षले त्यस्ता मुद्दाहरू फिर्ता गर्नुप¥यो । मूख्य रूपमा यी तीनवटा कुरा तत्काल सम्बोधन गर्नु प¥यो ।


० सरकारले ११ वटा जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि अधिकृतलाई सर्कुलेट गरेको थियो त्यो फेरि किन फिर्ता बोलाइयो ?
— ११ वटा जिल्लामा मात्र बढाएर हुँदैन । किन ११ वटा जिल्लामा मात्र बढाउनुपर्छ, त्यसैले फिर्ता लिनुपर्छ । मधेशको सबै जिल्लामा जनसंख्याको अधारमा गाउँपालिका र नगरपालिकाको संख्या बृद्धि गर्नुपर्छ । अव सबै जिल्लामा संख्या नबढाएसम्म निर्वाचन हुँदैन ।


० वर्तमान अवस्थामा राजपा नेपालमा पदाधिकारीहरू चयन भइरहेको सुनिन्छ, त्यो कुन अधारमा भइरहेको छ ?
— हाम्रो महाधिवेशनसम्म ६ वटा पार्टीको जतिपनि पदाधिकारी सदस्यहरू मनोनय गरिएको छ त्यो सबैलाई हामीले राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारीको रूपमा स्वीकारेका छौँ, मान्याता दिएका हौँ र महाधिवेशनसम्म पार्टीलाई अगाडी बढाउँदै जानेछौँ ।


० अहिले राजपा नेपालभित्र के–कस्तो गतिविधि भइरहेको छ ?
— अहिले मूख्य रूपमा सबै जिल्लामा अध्यक्षमण्डले संयोजक चयन गर्ने कार्यक्रम रहेको छ । सहमतिको अधारमा संयोजक चयन हुनेछ । चक्रीय प्रणाली अनुसार पालैपालो संयोजक भएर अध्यक्ष मण्डल जसरी केन्द्रमा राखेको छ त्यसरी नै जिल्लामा तत्काललाई जिल्ला सञ्चालन गर्ने र बैसाख २९ गते गाउँदेखि लिएर जिल्लाको नेतासम्मको एकता बैठक आ–आफ्नो जिल्ला सदरमुकाममा गर्ने कार्यक्रम रहेको छ । जेठ १ गते सबै जिल्लामा धुमधामका साथ एकता मोटरसाइकल ¥याली निकाल्ने छ, विरोध स्वरूप जसको तयारी भइरहेको छ । हाम्रो यहाँ दलको दर्ता प्रक्रिया पनि निर्वाचन आयोगमा चलिरहेको छ । हामी पार्टी दर्ताको लागि दस्तावेजहरू (विधान, घोषणापत्रहरू) तयार गर्दैछौँ । चाडँै नै निर्वाचन आयोगमा आफ्नो पार्टीलाई आधिकारीक रूपमा दर्ता गराउँछौँ । अगामी दिनमा मेची–महाकाली एकता ¥यालीको पनि कार्यक्रम हुनेबाला छ । राजपा नेपाल सम्पूर्ण मधेशमा मजबुत भएर आफ्ना गतिविधीहरू सञ्चालन गर्नेछ । जनताको जुन भावना हो त्यो भावना अनुसार काम गर्ने हो ।


० वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै अन्त्यमा जनतलाई के भन्न चाहनुहुन्छ ?
— संविधान संशोधन नगरिकन हामी कुनै पनि निर्वाचनमा भाग लिन्नौं । यो देश र जनताको हितमा मान्न सकिदैन । मागहरूको सम्बोधन बिना मधेशमा कुनै पनि हालतमा निर्वाचन हुन दिदैँनौं । जबरजस्ती निर्वाचन गरायो भने त्यो मुलुकको लागि दुर्भाग्य हुन्छ, मधेश अर्को कोर्समा जान सक्छ । त्यो परिणाम नराम्रो आउँछ । त्यसैले त्यतातिर मधेशलाई धकेल्नु हुँदैन ।


(मधेशवाणी टीभीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)
  
प्रकाशित मिति : २०७४ साल वैशाख २९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com