उपेन्द्र यादवको मौनता आरोपको पुष्टि हो : मनिष सुमन

नेता, राष्ट्रिय जनता पार्टी नेपाल

० अहिलेको राजनीतिक अवस्थालाई तपाईंले कुन रूपमा लिनु भएछ ?
— राजनीतिको शृङखलामा मधेश विरोधी संविधान जबरजस्ती जारी गरिरहँदा मेरा शाखाहरूलाई रगतले लतपताइएको थियो । जुन संविधानमाथि रगतका छिटाहरू छन् ती संविधानका बिरूद्ध हामीले निर्वाचन बहिस्कार गरेका हौँ । संगठनका क्षमता र आधार देखेर कम बढी देखिएको होला । तर निर्वाचन सशस्त्रक्त रूपमा नै वहिष्कृत भएको हो । त्यस्ता निर्वाचनहरू देशमा कति पटक भए तर राष्टिय जनता पार्टी नेपाल मधेशको ढुकढुकी र एउटा प्यारो पार्टी हो । हामी बिना गराइएको यी निर्वाचनहरूको कुनै अर्थ छैन । हिजो पनि दलाई लामाका बहिष्कार पश्चात चीनको तिब्बतका विभिन्न भागमा निर्वाचन गराईएको थियो । ति निर्वाचनहरूको महत्व रहेन । बंगललादेशका प्रमुख प्रतिपक्ष पार्टीका बहिस्कारका पश्चात पनि निर्वाचन गराईएको थियो तर त्यसको पनि मान्याता रहेन । हिजो अस्ती मात्र हामीलाई थूनेर राजाकालमा शाही सताले पनि नगर निर्वाचन गराईएको थियो तर त्यसको पनि उम्मेदवारले कुर्सीमा बस्न पाएनन् । यस्तै मधेशलाई वाईपास गरेर संविधानमा लागिएका रगतहरू सफा नगर्दै गरिएका संविधान कार्यान्वयनको प्रयास असफल भयो र असफल रहनेछ । तसर्थ यो निर्वाचनको कुनै महत्व छैन ।


० स्पष्ट रूपमा भन्नु पर्दा तपाईंहरू आन्दोनमा हुनुह्ुनछ कि चुनावमा ?
— हामी आन्दोलनमै छौँ ।


० तपाईहरू सरकारमा हुनुहुन्छ कि प्रतिपक्षमा ?
— सरकारलाई मत दिए पनि हामी प्रतिपक्षी छौँ । हामी प्रतिपक्षीकै बेन्चमा बस्छौँ र सरकारलाई मत दिनु एउटा टर्म र कन्डिसनमा सरकार सँग तीन बँुदे सहमतिमा गरेका हौँ उधारो होईन । सरकारलाई दिँदै आएका मत तथा समर्थन पनि फिर्ता लिन्छौँ तसर्थ प्रतिपक्षी हौं ।  


० समर्थन कहिलेसम्म फिर्ता लिनुहुन्छ ?
— सरकारलाई दिँदै आएका समर्थन फिर्ता लिन विभिन्न कारणहरू छन् । हामीले सरकारलाई समर्थन दिँदा सरकारले संविधान संशोधन गर्छ भन्ने विश्वास थियो । स्थानीय तहको संख्या जनसांख्यिक हिसाबमा बढाउने, सहिद घोषणा गर्ने, क्षतिपुर्ति दिने जस्ता वचन तीनबँदे सहमतीमा गरेको हुनाले हामीले मतदान गरेका थियौँ । र, ती सब लत्याएर सरकारले निर्वाचन तर्फ उन्मुख भएकाले सरकारलाई समर्थन दिइराख्नुको कुनै औचित्य छैन । हामी छिटै फिर्ता लिन्छौँ ।


० यो भन्दा पहिला प्रचण्ड सरकारलाई समर्थन दिनुभएको थियो तर सरकारले तपाईंहरूको मागहरू पूरा भएन । यसरी समर्थन दिइरहँदा देउवा सरकारसँग के आशा गर्नभएछ ? मागहरू पूरा हुन्छ कि ?
— संसदको एउटा जिम्मेवार राजनीतिक दल भएको हैसियतले संसदका गतिविधीहरूबाट हामीले विमुख रहन मिल्दैन । यो नैतिकताको आधार भयो । कानुनी आधारगत हिसाबले पनि हेर्नै हो भने संसदीय नियमावली र सर्वमानित सर्वोच्च अदालतको एउटा आदेश ती आधारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरू प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बहिष्कार गर्न पाईन्न । तसर्थ हामीले पनि जिम्मेवारी बोधका साथ संसदीय कार्यमा सहभागी भएका हौँ । तपाईंले त भोट किन दिनु भयो भनेर प्रश्न गर्नुभयो । जहाँसम्म समर्थनको । कुरा छ, प्रचण्डजीको सरकारलाई यस्तै निर्वाचन तोकेकै कारण हामीले समर्थन फिर्ता लिएका थियौँ । देउवाजीको सरकारलाइ यस्तै जबरजस्ती निर्वाचन गराएकै कारण हामी समर्थन फिर्ता लिन बाध्य हुँदैछौं । जनतामा त्रास फैलाएर गराईएको यो नाटकीय निर्वाचन कस्तो होला ?


० राजपा कार्यकार्ताहरूले पनि दबाब दिइरहेका छन कि तपाईहरू संसदमा किन बस्नु भएको छ, राजीनामा दिएर सडकमै आन्दोलन गर्नू भन्ने उनीहरूको माग हो । संसदबाट राजीनामा दिनुहुन्छ ?
— त्यसका बारेमा पनि हामीले पनि सोचिरहेका छौँ । तर संसदमा रहुन्जेल संसदका गतिविधिमा सहभागी हुनु पर्दछ र हामी सहभागी भईरहेका छौँ । संसद परित्याग गर्ने जुन जनताको दबाब छ, त्यसको बारेमा पनि सोच्दै छौँ । सरकारी दलले चालका जबरजस्ती कदमहरू विरूद्ध आज पनि हाम्रा कार्यकार्ताहरू रूष्ट छन् । सरकारसँगको नाता तोडेरै अब शसक्त रूपमा हामी जनतासँग हिड्नु पर्दछ भने ठम्याईमा हामी पनि भएको छ ।


० तपाईहरू निर्वाचनको विरूद्धमा हुनुहुन्छ तर तपाईंकै कार्यकर्ताहरू जिल्ला जिल्लामा दोस्रो तहको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् नि?
— जो जसले कथित निर्वाचनमा उम्मेदवारी दिए उनीहरू पार्टीको कार्यकर्ता होइनन, समर्थक पनि होइनन । त्यस्ता कार्यकर्तालाई जनताले निर्वाचनमार्फत नै कारवाही गर्नेछ । हाम्रा अध्यक्ष मण्डलको बैठक दूई÷तीन दिन भित्रै हुदैँछ । सरकारसँगको नाता र त्यस्ता उम्मेदवार उभ्याउने पार्टीको नीति र सिद्धान्त विपरित जाने पार्टीकै नेताहरू माथि कारवाही गरिनेछ । पार्टीको नीति र सिद्धान्त विपरित जाने जो सुकैलाई कारवाही हुन्छ ।


० कस्तो कारवाही हुन्छ र कहिलेसम्म हुन्छ ?
— पार्टीको विधानमा लेखिए अनुसार हामीले त्यस्ता उम्मेदवार र ती उम्मेदवारलाई उभ्याउने नेता र कार्यकर्तालाई कडा कारवाही हुन्छ । यसमा दुई मत छैन ।


० दोस्रो चरणको निर्वाचन भई रहँदा राजपा नेपालको विरोध कार्यक्रम फितलो देखियो नि ?
— हाम्रा कार्यकर्तालाई पनि प्रेसर कुकर पड्काउन आउँछ । तर, हामी गजेन्द्र नारायण सिंहका अनुयायी भएकाले हामी अहिंसामा विश्वास गछौं । गजेन्द्र नारायण सिंहका अनुयायी हिंसात्मक गतिविधि गर्र्दैन । त्यसैले दोस्रो चरणको निर्वाचन भइरहदा हामी कुनै हिंसात्मक गतिविधि नगरेको हो । हामीले शान्तिपूर्ण माध्यमबाट निर्वाचन विथोलेका हौं । शान्तिपूर्ण रूपमा विरोध भएकोे छ । मधेशका थुप्रै मतदान केन्द्रहरूमा भोट खसाल्न कोही गएन । नवलपरासीमा पार्टीका वरिष्ट नेता हृदेश त्रिपाठीज्युको गाउँमा मत खसाल्न कोही गएनन् । त्यसैले उत्साहका साथ मतदान भएको भन्ने सरकारी पक्षको भनाइमा सत्यता छैन । निर्वाचन धोका हो र मधेशसँग नाता तोड्ने एउटा कडी हो ।


० उपेन्द्र यादवले पैसा लिएर निर्वाचनमा सहभागी हुनुभएको भनेर तपाईंको संगिन आरोप छ । यसलाई कसरी पुष्टि गर्नु हुन्छ ?
— मैले पुष्टि गरेको छु र पुष्टि गर्ने प्रयास पनि गरेको छु । उपेन्द्र यादवमाथि लगाइएको आरोपको जवाफको अपेक्षा आम नेपाली जनताले गरेका छन् ।


० के प्रश्न गर्नु भएको छ ?
— जेठ ७ गते रामा होटलमा गोप्य रूपमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भयो । प्रधानमन्त्रीसँग भेटेर निस्कदा सधैँ सन्चारकर्मीसँग साक्षात्कार गर्न लालायित रहने उपेन्द्र यादव सो दिन कुनै प्रतिक्रिया नदिइ जानुभयो । त्यसको भोलीपल्ट उहाँका भनाइहरू एकाएक परिवर्तन भयो । हिजोसम्म चुनाव वहिष्कार गर भनेर जनतालाई प्रशिक्षित गर्ने उहाँ रातारात निर्वाचनको पक्षमा जानुभयो । जनतालाई छाता र रेनकोट ओढेर भएपनि मतदान गर्न जानू भनेर किन भन्नुभयो ? जुन सरकारलाई उहाँले संविधान संशोधन बिना मधेशमा निर्वाचन गराइस भने यस्तो हुन्छ उस्तो हुन्छ भनेर धुर्की दिनुहुन्थ्यो, त्यो अचानक कसरी सरकारको समर्थन गर्नुभयो । ७ गतेको त्यो घटनापश्चात उनका फेरिएका बोलीहरूको जवाफ आम नेपाली जनताले खोजेको छ । मैले प्रमाणहरू सबै राखेको छु । उहाँ भेटघाट गरेको, भेटघाट गरी ललुकेर हिँडेको, मुख छोपेर हिँडदाको फोटोहरू सार्वजनिक भईसकेका छन् । त्यही भएर सार्वजनिक गर्ने अब मेरो जरूरी रहेन । अब पालो उपेन्द्र यादवज्युको हो । मौनतालाई पनि स्वीकृति भनिन्छ । उहाँको मौनता नै उहाँ माथि लागेको आरोपको स्वीकृति र पुष्टि हो ।

(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)

 


प्रकाशित मिति : २०७४ साल, असार १६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com