मधेशीको सहादत मेयर, उपमेयर वा मुखिया पदका लागि होइन : रम्भा मिश्रा

नेतृ, राष्ट्रिय जनता पार्टी नेपाल

० राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिरहेको छ, किन ?
— ठूला दलहरूले जहिले पनि आफ्नो स्वार्थपूर्तिका लागि मधेशवादी दलहरूसँग सम्झौता गर्छन् र जब उनीहरूको स्वार्थ पूरा भइसकेपछि हाम्रा मागहरूलाई बेवास्ता गर्दैआएका छन् । हामी पटक–पटक धोका पाइरहेकोले हामी समर्थन फिर्ता लिने मनसाय बनाएका छौं ।


० तर, तपाईँहरू समर्थन फिर्ता लिँदैमा सरकार त ढल्दैन नि ?
— सरकार ढाल्न वा सरकार बनाउन हामी समर्थन दिने वा फिर्ता लिने गरेका छैनौं । हामीले आफ्नो माग पूरा गराउनका लागि समर्थन गरेका थियौं । तर, हामीसँग गरिएको प्रतिबद्धता पूरा नभएपछि समर्थन गरिरहनुको कुनै औचित्य रहँदैन ।


० तपाइँहरूले समर्थन फिर्ता लिएपछि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार तपाइँहरूको माग पूरा गर्छ त ?
— जबसम्म हाम्रो माग पूरा हुँदैन भने आगामी असोज २ गतेको स्थानीय तहको निर्वाचन बहिष्कार मात्रै गर्दैनौं विथोल्छौं ।


० यो कुरा त तपाइँहरूले पहिला पनि भन्नुभयो थियो । तर, दुई चरणमा चुनाव त भयो नि ?
— यो सरकारले सेना परिचालन गरेर, मधेशीहरूलाई बन्दी बनाएर, तराई–मधेशमा भयत्रासको वातावरणमा चुनाव भएको हो । निर्वाचन भनेको लोकतान्त्रिक अभ्यास हो, जसमा जनताले भयरहित वातावरणमा मतदान गरोस् तर, सरकारले मुलुकको आधा जनसंख्या रहेको मधेशी समुदायलाई निर्वाचनबाट वञ्चित गराएकै हो ।


० जसरी सरकारले दोस्रो चरणमा सेना परिचालन गरेर भएपनि निर्वाचन गराउन सफल भयो, त्यसरी नै तेस्रो चरणमा पनि सरकारले गर्ने सम्भावना छ कि छैन ?
— नयाँ संविधान पनि त बन्दूकको बलमा जारी ग¥यो तर, अहिलेसम्म किन लागू हुन सकिरहेको छैन । संविधानका त्रुटिहरू नसच्याएसम्म लागू हुनैसक्दैन । त्यस्तै, सरकारले अहिले बलजबरजस्ती सेना लगाएर चुनाव गरायो । तर, हामीलाई यो चुनावमा मान्य छैन । यो निर्वाचन खारेज गर्नुपर्छ भन्ने हामी भनेका छौं । सरकारले तेस्रो चरणमा पनि सेना परिचालन गरेर तराई–मधेशमा निर्वाचन गराउन सक्छ तर, त्यो निर्वाचन सफल हुँदैन ।


० तेस्रो चरणको निर्वाचनभन्दा पहिले तपाइँहरूको माग पूरा भएन भने कस्तो किसिमको बहिष्कार गर्नुहुन्छ ?
— हाम्रो माग पूरा भएन भने तेस्रो चरणमा हामी कडारूपमा प्रतिवाद गर्छौं । सरकारले हामीलाई प्रदेश नं. २ मा मात्र सीमित ग¥यो तर हामी मधेशका २२ वटै जिल्लामा बहिष्कार गरेका छौं । सेना लगाएर जबरजस्ती निर्वाचन गर्न खोजियो भने त्यसको परिणाम भयावह हुनेछ ।


० अहिले सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा मधेशका दलहरूको जुन परिणाम आयो यसलाई कुन रूपमा लिनुभएको छ ?
— निर्वाचनमा भाग लिएर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले बाटो बिराएको छ । फोरमले शासक दलहरूसँग चुनावी सहकार्यसम्म पनि गरेको छ । फोरमले आफ्नो नैतिकता बिर्सेको कारणले गर्दा नै आज मधेशमा आक्रोश देखिएको छ ।


० मधेशकेन्द्रित दलहरू फोरम नेपाल, लोकतान्त्रिक फोरम र राजपाबीच जुन किसिमको मतभिन्नता देखिएको छ, आगामी दिनमा तपाइँहरूबीच सहकार्यता हुने सम्भावना कतिको छ ?
— उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले बाटो बिराएर अवसरवादीको रूपमा देखा परेका छन् । मधेशको माग सम्बोधन गराउनका लागि यदि उहाँहरू हामीसँग मिलेर आन्दोलनमा आउनुहुन्छ भने हामीलाई आपत्ति छैन । उहाँहरू अवसरवादी हुन् भन्ने कुरा सबैलाई थाहा छ । तर, कोही आफ्नो घर फर्किन चाहन्छन् भने हामी स्वागत गर्छौं ।


० राजपाबाट कोही कोहीले स्वतन्त्ररूपमा निर्वाचनमा भाग लिएका छन्, यसलाई कुन रूपमा लिनुहुन्छ ?
— राजपाका जस–जसले निर्वाचनमा भाग लिए उहाँहरू अब राजपाका सदस्य रहनुभएन । जो जित्नु भएका छन् उहाँहरूलाई बधाई छ तर, उहाँहरू अब राजपामा रहनुभएन । किनभने राजपाले सुरूदेखि नै निर्वाचन बहिष्कार गरेको छ ।


० स्थानीय निर्वाचनमा राजपाले ठूलो गल्ती ग¥यो भन्ने पनि सुनिन्छ, यसमा के भन्नुहुन्छ ?
— सरकारले मधेशको न्यूनतम् मागहरूसमेत पूरा गर्न नसकेको अवस्था छ । संविधानमा यति धेरै त्रुटिहरू छन् कि लागू हुनैसक्दैन । त्यसैले, त्रुटिपूर्ण संविधानलाई लागू गराउने षड्यन्त्रमा हामी सहभागी हुँदैनौं । मधेश आन्दोलनमा मधेशी सपूतहरूले दिएको बलिदानी मेयर, उपमेयर अथवा मुखिया पद पाउनका लागि थिएन । मधेशी शहीदहरूले जुन कुराका लागि सहादय दिएका छन् त्यो पूरा नभएसम्म निर्वाचन सहभागी हुने नैतिकताले मान्दैन ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल असार २३ गते शुक्रबार । 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com