नेपालमा शान्ति र समृद्धि नै भारतको चाहना – चन्दा चौधरी

अध्यक्ष, नेपाल–भारत महिला मैत्री समाज

० नेपाल र भारत सम्बन्ध कस्तो छ ?
— नेपाल भारतको सम्बन्ध सदियौँ देखी प्रगाढ सम्बन्ध रहँदै आएको छ त्यो अहिले पनि कायम नै रहेको छ । दिन प्रतिदिन अझै प्रगाढ बन्दै गएको छ ।


० तपाईको संस्था नेपाल–भारत महिला मैत्री समाजको काम, कर्तव्य र अधिकार कस्तो रहेको छ ?
— नेपाल–भारत महिला मैत्री समाजले महिला सशक्तीकरणमा जोड दिन्छ  । महिलाहरूको आय–आर्जनको स्रोत पत्ता लगाई उनीहरूलाई समक्ष बनाउने काम हाम्रो संस्थाले गर्दै आएको छ । अहिले भक्तपुरमा १ सय जना महिलाहरूलाई हाम्रो संस्थाबाट प्रदान गरिएको तालिम लिएर आफ्नो काममा सक्षम हुनुभएको छ । जसमध्ये ५० जनाले व्यूटिशियन र ५० जनलाई सिलाई कटाई गर्न सक्षम हुनुभएको छ । उनीहरूलाई प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ । यस्तै प्रकारका तालिमहरू सर्लाहीमा पनि सुरू भइसकेको छ ।


० यो संस्थाको योजना के रहेको छ ?
— महिला, बालवालिका लगायत शिक्षा र स्वास्थको क्षेत्रमा अबका दिनमा नेपाल र भारत सरकारसँग सहयोग लिएर काम गर्ने योजना बनाएका छौं । पाँचवर्षदेखि विभिन्न व्यक्तित्वहरूको सहयोगमा यो संस्था चल्दै आइरहेको छ ।


० विगतका वर्षहरूमा तपाईको संस्थाले के–कस्ता काम गरेको छ ?
— हामीले संस्था दर्ता भएको चार वर्षमा ४५ वटा कार्यक्रमहरू गरिसकेका छौँ  । यसमा नेपाल भारत मैत्री सम्बन्धको विषयमा पनि केही कार्यक्रम भएका छन् । नेपाल–भारत सम्बन्ध ः अवसर र चुनौती भन्ने. विशेष कार्यक्रम नै सम्पन्न गरेका छौँ । काठमाडौँ, भक्तपुर, सर्लाही, चितवन र दिल्ली लगायतका विभिन्न ठाँउमा कार्यक्रम गरिसकेका छौँ । विभिन्न राजाीतिक दलका नेताहरूसँग पनि कार्यक्रम गर्दा उहाँहरूले पनि मधेशी महिलाहरूको विकासका लागि आफ्ना मन्तव्यहरू दिनुभएको थियो । नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउने तर्फ उहाँहरूको विचार आयो । हामीले स्वास्थ तर्फ रक्तदान जस्ता कार्यक्रम पनि गरेका छौँ । महिलाको आय–आर्जन सम्बन्धी, महिलाहरूको नेतृत्व विकास सम्बन्धी, महिला सशक्तिकरण सम्बन्धी, चेलीबेटी बेचविखन विरूद्ध कार्यक्रमहरू गर्दै आएका छौं ।


० मधेशका महिलाको उत्थान र विकासका लागि तपाईको संस्थाले मुख्य रूपमा के–के गरिरहेको छ ?
— महिला सशक्तिकरण सम्बन्धी विभिन्न प्रकारका तालिमहरू छन् । महिलाहरूको आय–आर्जनका लागि पनि हामी तालिम दिँदै आइरहेका छौँ । मधेशका महिलामा पनि अहिले धेरै नै सुधार भइसकेको छ । महिलाहरूको पार्टीगत र संस्थागत हिसाबले अहिले पनि सुधार हुँदैछ । मधेशी महिलाहरूको विकासको मामिलामा पहिले र अहिलेमा धेरै भिन्नता पाइन्छ । पहिला त मधेशी महिला चुल्होचौंका र घरभित्र मात्र सीमित हुन्थ्ये तर अहिले मधेशी मुुलका महिलाहरू पनि राजनीति देखी लिएर हरेक पेशासँग आवद्ध छन् । उनीहरू आफै सक्षम भएका छन् ।


० नेपाल–भारत महिला मैत्री समाजको अहिले चालिरहेको परियोजनाहरू के–के छ ?
— अहिले चलिरहेको परियोजनामध्ये सर्लाहीमा सिलाई कटाईको तालिम जारी रहेको छ । त्यस्तै अब महोत्तरी र चितवनमा चाँडै नै सुरू हुन्छ । त्यस्तै ब्यूटिसियन र सिलाई कटाई सम्बन्धी चलिरहेको तालिम भक्तपुरमा सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा सुलभ शौचालयको पनि नयाँ परियोजन छ, जुन अब सुरू हुन्छ । सुलभ शौचालय धनुषा, महोत्तरी र सर्लाही गरी तीन जिल्लामा संचालन भइरहेको छ ।


० अब फरक प्रसंग, अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्दै हुनुहुन्छ ?
— राजपा नेपालको मुख्य बटमलाइन संविधान संशोधन गरेर चुनावमा जानु पर्ने थियो तर त्यो भएको छैन । सत्ताधारी पक्षहरूले संविधान संशोधन नगरी जवरजस्ती राजपालाई पेलेर चुनावमा गएको हो । राजपाले सकेजतिको रोक्ने काम गरेको छ । आफ्नै देशका जनता माथी आर्मी लगाएर चुनाव गराएको छ जुन अहिलेसम्म कुनै पनि देशमा भएको छैन । मधेशी जनताको भावना विपरीत गराइएको चुनावको के अर्थ रहने त्यो हेर्न अहिले बाँकी छ, त्यो हैर्दै जाउँ । अब राजपाको संविधान संशोधन गराउने अडान रहिरहँदा दुई नम्बर प्रदेशको चुनाव गराउनु छ । यहाँ मधेशी जनता भन्दा, मधेशी पार्टी भन्दा वा मधेशको लागि वकालत गर्नेहरूलाई भन्न चाहन्छु कि, ती काँग्रेस एमाले र माओवादीलाई सोच्नु पर्ने हो, मधेशवादीले पटक पटक सम्झौता गरे, अहिले सम्म त्यसमा एउटा पनि सम्झौतालाई कार्यान्वयन नगर्ने कहाँको नैतिकता हो । उहाँहरूको नैतिकता माथी प्रश्न उठीरहेको छ । २०६४ फागुन ८ गते भएको सम्झौतामा, त्यसपछि १२ बुँदे, २६ बुँदे, १६ बुँदे जस्ता कैयौँ पटक सम्झौता हँुदै आएका छन् तर एउटा पनि कार्यान्वन गरेको छैन । प्रमुख तीन पार्टी माथी प्रश्नवाचक चिन्ह लागि रहेको छ । हामी त आन्दोलनकारी छौँ, आफ्ना अधिकार मागिरहेका छौँ ।


० राजपाभित्र रहेका तत्कालीन ६ दलले विभिन्न सरकार निर्माण भइरहँदा समर्थन गर्दै मतदान गर्ने गरेका छन् । तर, निर्वाचन बहिष्कार गरेर मधेशी जनताले मतदान गर्न नपाउने यो कहाँको न्याय हो ?
— मधेशी जनताले उठाइरहेको कुरा पनि आफ्नो ठाउँमा ठिक हो । तर, ठूला राजनीतिक दलसँग सम्झौता गरेर मतदान गर्नु पनि आवश्यकता रहेको छ । यसरी सम्झौता गर्दा मधेश र मधेशी जनताको माग पुरा हुन्छ भन्ने विश्वासमा मतदान गरेको हुन्छ तर उनीहरू विश्वासघात गर्छन् त्यसको जवाफ पनि छिट्टै पाउनेछन् । तीन बुँदे सम्झौता गरेर प्रधानमन्त्री बने तर त्यो पुरा गरेन त्यो त उहाँको गल्ती हो । प्रधानमन्त्रीको चुनावमा मतदान गरेर राजपाको कोही नेता मन्त्री बनेको छैन, यता पनि ध्यान दिन जरूरी छ ।


० राजपा नेपालले दोस्रो चरणको निर्वाचनलाई बहिष्कार गर्ने भनेर घोषणा गरेको थियो त्यो बहिष्कार कतिको सफल भयो ?
— हामीले चुनावलाई बहिष्कार त गरेका हौं । तर, राज्यको हातमा सेना छ, प्रहरी छ, त्यो लगाएर चुनाव गरायो । यदि हामीसँग पनि ती शक्तिहरू भएको भए हामी पनि बहिष्कार गर्न सक्थ्यांै नि । तर, पनि कयौं ठाउँ यस्तो छ कि जहाँ २ वटा मत मात्रै खसेको छ । कुनै पनि युद्धको मैदानमा हतियार दुइटै पक्षलाई हुनु प¥यो तर त्यो त्यहाँ भएन त्यसैले सफल वा असफल केही भन्न सकिदैँन ।


० त्यसो भए, तेस्रो चरणको चुनाव राजपाको असहमतिमा पनि सरकारले सेना परिचालन गरेर गराउन सक्छ ?
— अहिले जसरी तीन ओटा प्रदेशमा सेना परिचालन गराएर सरकारले चुनाव गरायो कि दुई नम्बर प्रदेशको चुनाव पनि जसरी पनि गराउँछ सरकारले । राजपाको माग पुरा गरेर चुनावमा जान्छ कि जादैँन त्यसको पनि अहिले कुनै ग्यारेण्टी छैन । हाम्रो माग अहिले पनि जारी छ, यदि संविधान संशोधन भएन भने राजपा कुनै पनि हालतमा चुनावमा सहभागि हुँदैन ।


० पहिलो र दोस्रो चरणको चुनाव सरकारले संविधान संशोधन नगरी गरायो त्यसरी नै तेस्रो चरणको चुनाव गराई हाल्यो भने राजपाको अगाडीको कार्यनीति के होला ?
— उहाँहरूसँग सबै शक्तिहरू छ जसको प्रयोग गरेर जनतलाई दबाएर चुनाव गराउँछ जुन लोकतन्त्र भएन । लोकतन्त्रलाई नै सरकारले धरापमा पारिरहेको छ त्यो त सरकारको गल्ती हो । सरकारले त यो समस्यालाई समाधान गरेर अगाडी बढ्नु पर्ने जिम्मेवारी त हो नी तर गरिरहेको छैन । आफ्नै देशको जनतालाई, मधेशलाई विदेशी जस्तो व्यवहार गर्ने, आन्दोलनमा आउँदा टाउको र छातीमा गोली हान्ने त्यो त लोकतन्त्र भएन नि त । यो कुरालाई अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको छ नि । जतिवटा चुनाव गराए पनि हामी आन्दोलनमा छौँ , आन्दोलनमा नै रहन्छौँ ।


० नेपालमा प्रधानमन्त्री हुनै वित्तिकै भारत भ्रमणमा जाने प्रचलन छ यसले गर्दा नेपाल र भारत सम्बन्धमा कस्तो प्रभाव पर्ला ?
— सम्बन्ध सुधारको लागि नै नेपालका प्रधानमन्त्री भारत जाने गरेका हुन् । नेपाल भारतको सम्बन्धमा राजनीतिक उतार–चढाव हुन्छ तर यी दुई देश वीचको सम्बन्ध जनता–जनता वीचको सम्बन्ध हो, खेत खलियानको सम्बन्ध हो, आरी –धुरको सम्बन्ध हो । नदी –नालाको सम्बन्ध छ । यो सम्बन्धलाई कसैले विगार्न सकिदैँन ।


० नेपालमा केही नराम्रो भयो भने भारतले नै गरिदिएको हो भनेर आरोप लगाउने गरिन्छ यस्तो प्रकारको परिपाटीलाई तपाई कुन रूपमा लिनु हुन्छ ?
— यो कुरा कुनै अधिकारीक व्यक्तिले भन्दैन नि, यो त केही व्यक्तिले भन्ने हो । अब केही व्यक्तिले भन्दैमा भन्दैमा नेपालको गतिवीधिमा भारतको हस्तक्षेप हुन्छ भन्ने कुरा म मान्दिन् ।


० नेपालको राजनीतिमा भारतको हस्तक्षेप रहेको पनि आरोप छ नि त ?
— मेरो नजरमा नेपालको राजनीतिमा भारतको हस्तक्षेप छैन । भारतले चाहन्छन् कि नेपालमा शान्ति र सम्बृद्धि होस् । भारतले कहिले पनि नेपाललाई नोक्सान होस् भन्ने चाहँदैन ।


(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल असार ३० गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com