माग पूरा नभएसम्म हामी आन्दोलनमै रहन्छौं : केशव झा

महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल

० वर्तमान राजनीतिक अवस्थालाई तपाई कुन रूपमा लिनु भएको छ ?
— वास्तवमा मुलुक अहिले राजनीतिक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । ठूला दलका शीर्ष नेतृत्वहरूका कारण अहिले मुलुकमा अस्थिरता बढ्दै गइरहेको छ । मुलुकको राजनीतिले निकास पाइराखेको छैन । नेपालको नयाँ संविधान बनेको दुई वर्ष हुन लाग्यो तर, अहिलेसम्म कार्यान्वयन हुने अवस्थामा छैन । संविधानमा यति धेरै त्रुटिहरू छन् कि त्यसलाई नसच्याइकन लागू हुनै सक्दैन । त्यसका लागि मुख्य कुरा संशोधन गर्नुपर्ने हुन्छ । तर, संविधान संशोधन हुन पाइरहेको छैन । अहिले पनि हाम्रो माग र मुद्दा यथावत छ, जसका लागि हामी संघर्षमा छौं । जबसम्म यी समस्याहरू समाधान हुँदैन तबसम्म संविधानको कार्यान्वयन हुँदैन । त्यसकारण मुलुकमा अहिले समस्याहरू उत्पन्न भइरहेको छ ।

० तपाईको विचारमा अबको राजनीति कुन कोर्सतिर गइरहेको छ ?
— अहिलेको राजनीतिक घटनाक्रमले दुईटा कोर्सतिर गइरहेको प्रष्ट बुझ्न सकिन्छ । मुलुकमा रहेको विद्यमान समस्याहरूलाई समाधान गरेर गयो भने वास्तवमा मुलुक २१औं शताब्दीमा जनताले अपेक्षा गरेअनुसार रोजगारी, आर्थिक वृद्धिदर, विकास इत्यादी कुराहरूमा अगाडी बढ्छ । यदि समस्याको समाधान गरेर अगाडी गएन भने मुलुक गृहयुद्धतिर जान सक्छ । मुलुक अन्योलमा फस्छ जसको निकास सम्भव नहुन सक्छ ।

० मुलुकलाई निकास दिने जिम्मेवारी राजपा नेपालको होइन र ?
— निश्चित रूपमा निकास दिने काम राजपा हो ।

० यदि हो भने, मुलुकलाई निकास दिनका लागि राजपा नेपालले के–कस्तो कार्यनीति र रणनीति अपनाएको छ ?
— मुलुकलाई निकास दिनका लागि राजपा नेपाल अहिलेसम्म आन्दोलनमा छ । राजपा नेपालले उठाएका मुद्दाहरू राष्ट्रिय मुद्दा हो । हामी कुनै एउटा क्षेत्र, वर्ग वा समुदायका लागि मात्र आन्दोलन गरिरहेका छैनौं । समग्र मुलुकका वर्षौंदेखि उत्पीडन र शोषणमा परेका समुदायका लागि आन्दोलन गरिरहेका छौं । आम जनताको भावनाको प्रतिनिधित्व होस्, उनीहरूले अधिकार पाओस्, सबैले मुलुकमा अपन्त्व महसुस गर्न पाओस् र राज्यको हरेक निकायमा समान रूपमा समावेशीको आधारमा प्रतिनिधित्व गर्न पाओस्, जसका लागि राजपा निरन्तर संघर्षमा छ । बोली नभएको जनताको बोलीको रूपमा भएर राज्यलाई एक ढिक्का बनाएर अगाडी बढाउनका लागि हामी निरन्तर संघर्षमा छौं । मुलुकलाई निकास दिनका लागि नै हामीले यो बाटो अपनाएका हौँ । मुलुकलाई बर्बाद भएको हामी देख्न सक्दैनौं । मुलुकलाई हरेक समस्याबाट जोगाउनलाई हामी निरन्तर सडकबाट खबरदारी गर्दै संघर्ष गर्दै अहिलेसम्म अगाडी बढिरहेका छौं ।

० लोकतन्त्रको मूल मर्म निर्वाचन पनि हो तर तपाईहरू सडकबाटै समस्याको समाधान गराउँछु भन्दै हुनुहुन्छ, यसले समस्याको समाधान हुन्छ भने कतिको विश्वस्त हुनुहन्छ ?
— हाम्रो देशको लोकतन्त्र अन्य विकसित मुलुकको लोकतन्त्र जस्तो बलियो छैन । यहाँको लोकतन्त्रमा हामीले दशकौँदेखि सडकमा छौँ । चार—चार चोटी आन्दोलन गरिसक्यौँ तर अहिलेसम्म त्यो कुरा सुन्ने प्रयास गरिएको छैन । यहाँ त मुलुकमा एकदम विध्वंश मचाएर, चारैतिरबाट घेरेर सासै लिने अप्ठेरो पारेपछि मात्र सुन्ने चलन छ । हाम्रो देशको अर्को प्रचलन पनि के भयो भने २००७ सालदेखि अहिलेसम्म सबै परिवर्तन सडक आन्दोलनबाट भएको हो । हाम्रो मुलुकमा जति पनि उपलब्धी हो त्यो सबै सडक आन्दोलनले नै निर्धारण गरेको हो । ‘प्रकृतिको नियम के हो भने बच्चालाई आमाले दुध खुवाउनु पर्छ भन्ने आम बुझाई भएपनि जबसम्म बच्चा रूँदैन आमाले दुध खुवाउदैन’ त्यो प्रवृति हाम्रो देशमा पनि छ । त्यहीं भएर आन्दोलनको विकल्प छैन ।

० आन्दोलनको विकल्प छैन भन्दैमा जनताले कहिलेसम्म आन्दोलन गर्छ ? फेरी संविधान संशोधनका लागि यत्रो आन्दोलन गरियो तर संविधान संशोधन नहुँदै मधेशी मोर्चा समाप्त भयो । संघीय गठबन्धन छिन्न भिन्न भयो ? जब आन्दोलन एउटै मुद्दाका लागि हो भने यस्तो किन ? के फेरि पनि गठबन्धनका शक्तिहरूसित सहकार्य गरेर अगाडी बढ्न साध्य छ ?
— राजनीतिमा असम्भव त केही पनि हुँदैन । हामीसँग दुर्भाग्य के भयो भने हामीलाई राज्यले आफ्नो अंग स्वीकारेकै छैन । जसकारण हामीले बारम्बार आन्दोलन गर्दा संघर्ष गर्दा पनि राज्यले हाम्रो अधिकारको लडाईलाई मान्यता दिएन । अधिकार दिएन हाम्रो माग मुद्दालाई सम्बोधन गरिदिने प्रयत्न गरिदिएन । अब यो लडाईको उपलब्धी राज्यको चरित्र माथि निर्भर छ । यो लडाईलाई भङ्ग गर्न चाहन्छन कि लडाई उपलब्धी संस्थागत गर्छ । हामीले यो राज्यसँग नै आफ्नो माग मुद्दालाई सम्बोधन गराउनु छ । त्यस कारणले नै हामी यो राज्यसँग आन्दोलित छौँ । सहकार्यको कुरा आउँदा खेरि राजनीतिक यस्तो प्लेटफर्म जहाँ सधैंका लागि न कोही कसैको मित्र न कोही कसैको शत्रु हुन्छ । त्यसकारण समय र परिस्थिति आयो भने हामी सहकार्य पनि गर्छौ ।

० संविधान संशोधन गराउनकै निम्ति प्रचण्ड सरकारलाई तपाईहरूले मतदान गरेर प्रधानमन्त्री बनाउनु भयो, त्यसपछि त्यही संशोधनको लागि देउवा सरकारलाई पनि मतदान गर्नु भयो तर अहिले देउवा सरकारले भनिरहेको छ कि यथास्थितिमा संविधान संशोधन हुन सक्दैन भनेर, अब तपाईहरूले मतदान गरेको उपलब्धी औचित्य के रहेको छ ?
— अहिलेको सरकारले के भनेको हो भने, दुई तिहाई पु¥याएर मात्र संशोधन प्रक्रिया अगाडी बढाऊ । न कि संशोधन प्रस्तावलाई फेल भए पनि बढाउ । हामीले पनि संसदीय प्रणाली नै खोजेको हो । हामीले पुरै संविधानलाई बहिष्कार गरेको होइन । हामीले प्रधानमन्त्रीको निर्वाचनमा यसकारण भाग लिएका थियौं कि हामीमाथि फैलाइएको भ्रम तोड्नु थियो । विश्वकै उत्कृष्ट संविधान भनेर जुन प्रचार गरिएको थियो त्यो भ्रम हटाउनका लागि बारम्बार संविधान संशोधनको कुरा उठाउँदै आयौं । १० प्रतिशतले मात्रै संविधान अपुरो हो भन्ने भ्रमलाई चिर्नका लागि लोकतान्त्रिक विचारधारा बोकेका शक्ति नेपाली काँग्रेस र परिवर्तनका संवाहकको नाममा उदाएको माओवादी पार्टीसँग सहकार्य गरेर देश र दुनियाँलाई यो संदेश दिन सफल भएका छौं कि बहुमत जनताले संविधानमा संशोधन चाहेका छन् । ६५ प्रतिशत संविधान संशोधनको पक्षमा उभेका छन् । यो नै सबैभन्दा ठूलो उपलब्धी मान्न सकिन्छ । राजनीतिमा एक दिनमै परिवर्तन हुन्छ भन्ने होइन । देश दुनियालाई संविधानको पक्षमा जनमत देखाउनका लागि नै हामीले पटक–पटक मतदान गरेको हो ।

० प्रचण्ड सरकारलाई पनि मतदान गर्दा त पनि संशोधन गर्ने सहमति त भएको थियो नि, देउवा सरकारलाई पनि सर्मथन गर्दा तीनबुँदे सहमतिपत्रमा सम्झौता त भएको थियो तर पुरा भएन, यी घटनाक्रमलाई हेर्दा भनिन्छ कि मधेशलाई प्रमुख दलले उपयोग मात्रै गर्न जानेको हो ? तपाईको धारणा के छ ?
— उपयोगको कुरा एकतर्फी हुँदैन । यिनीहरू उपयोग गर्न जानेको छ र मधेशी जनता उपयोग भइरहने हो त्यो होइन ।

(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७४ साउन ६ गते


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com