संविधान संशोधनको भविष्य (सम्पादकीय)

सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि राजनीतिक धु्रवीकरण तीव्ररूपमा बढेको छ । मधेशी दल र असन्तुष्ट समूहको माग सम्बोधन गर्न सरकारले मंसिरको दोस्रो साता संशोधन प्रस्ताव दर्ता गराएपछि मुलुकको राजनीतिक द्वन्द्व चर्किँदै गएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्पष्ट साथबिना संशोधन पारित हुन सक्ने भएपनि एमाले इतरका राजनीतिक शक्तिलाई समेत सरकारले विश्वासमा लिन सकिरहेको छैन ।
बुधबार मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारबाट बाहिर राखेपछि उसले संविधान संशोधनमा सघाउने दिएको बचन पनि अन्योलमा परेको छ । अब राष्ट्रिय प्रजातन्त्र पार्टीसहितले संविधान संशोधनमा नसघाउने भएपछि यसको भविष्य अनिश्चित बनेको छ ।
शुरूमा प्रस्तावको विपक्षमा रहेको मधेशी दल विस्तारै परिमार्जनसहित प्रस्तावको पक्षमा उभिएका छन् भने एमाले आगमी प्रदेश र संघीय संसदको चुनावी रणनीतिमा जुटेको छ ।
राजनीतिक निकास खोज्ने राजनीतिक दलहरूको अर्थहीन प्रयासले मुलुकको आगामी राजनीतिक यात्रा कतातिर जाने हो यसै भन्न सकिने अवस्था छैन । पछिल्लो समयमा संविधान संशोधन विधेयक दर्तासँगै उत्पन्न राजनीतिक गतिरोध फुकाउन प्रमुख शीर्ष नेताले शुरू गरेको संवादले चाँडै निकास प्राप्त नगर्ने हो भने संविधान कार्यान्वयनको आगामी यात्रा झनै कष्टकर बन्ने निश्चित छ । राजनीतिक बृत्तमा निकासका लागि फरक फरक रोडम्यापका बारेमा छलफल भएका छन् । आखिरमा अहिलेको परिवेशमा अवरूद्ध राजनीतिक निकासको वास्तविक रोडम्याप के हुनसक्छ, त्यसबारेमा गम्भीर बहस दलहरूबीच हुन सकिरहेको छैन ।
संसदको दोस्रो शक्ति एमालेलाई सडकमा छाडेर राजनीतिक निकासको यात्रा सहज छैन । तसर्थ गतिरोधको मूल मुद्दा बनेको संविधान संशोधन प्रस्तावलाई केही समय पास गराउने वातावरणको सृजना गर्नु जरूरी छ । सरकारको विस्तारसँगै रूष्ट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सहमतिमा ल्याएर सरकार अगाडि बढ्नु जरूरी छ । खासमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन प्रस्तावको आडमा सरकारमा आफ्नो सुनिश्चिता खोजेकोले उसको राजनीतिक भविष्य सुनौलो छैन र यसको परिणाम पार्टीले पहिलो र दोस्रो चरणको निर्वाचनबाट थाहा पाइसकेको छ ।
अब चार राजनीतिक शक्तिबीच सहमति कायम गर्ने र त्यसै आधारमा संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित भएको राजनीतिक निकास निस्कन सक्छ ।

प्रकाशित मिति : २०७४ साल साउन १३ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com