राजपामा फिलोसोफिकल र स्ट्रक्चरल समस्या (विचार)

बीपी साह

औपनिवेशिक पीडाबाट मुक्तिका लागि मधेशमा बारम्बार भएका आन्दोलनहरू स्खलित हुँदै गर्दा निरास भएका मधेशीजनको झिनो आशाको केन्द्रका रूपमा राष्ट्रिय जनता पार्टी समायोजन भएको छ । राजपाको सकारात्मक पक्ष के हो भने अर्धनग्न हुँदै गएका मधेशी राजनीतिज्ञ र निरास हुँदै गएका मधेशी जनतालाई नयाँ लेबल लगाएर नयाँ भरोसा दिलाएको छ । जसले औपनिवेशिक शासन अन्त हुँदा हुन सक्ने मानवीय र भौतिक क्षतिलाई केही दिनका लागि रोकथाम गरेको छ ।

राजपा सैद्धान्तिक विचलन भएका नेतृत्वहरूको जमात हो जसले उपयोगितावादलाई राम्ररी बुझेको छ । सुधारबाद पनि हावी भएकै हो । राजपालाई अझै सुधार गर्ने हो भने अहिलेको शीर्ष नेतृत्वलाई ‘मार्ग निर्देशक समिति’ गठन गरी पठनपाठनको जिम्मेबारी दिनु पर्छ । पहिलो र दोस्रो मधेश आन्दोलनबाट नेतृत्व गर्न सिक्दै गरेकाहरूलाई कार्यकारी समितिको जिम्मेबारी दिनु पर्छ ।

विश्वका चर्चित सिद्धान्तलाई अंगीकार गर्नुभन्दा पनि मधेशवादलाई टेकेर समुदायवादलाई बोकेर हिंड्नु उचित हुनेछ । तर त्यसो गर्न राजपाको नेतृत्वले आनाकानी गर्नेछ । किनभने सिद्धान्तहीन नेतृत्व र आत्मविश्वास कमी भएका व्यक्तित्वले मुक्तिकामी राजनीति गर्न सक्दैन । उसले उपयोग र व्यक्तिगत स्वार्थको राजनीति गर्न सक्छ ।

राजपाको नेतृत्वलाई आलोचनात्मक ढंगले केलाउनु आवश्यक छ । किनभने सकारात्मक पक्षको गुनगान धेरैले गरिसकेका छन् । पार्टीको सैद्धान्तिक पक्षलाई थाति राखेर नेतृत्वलाई हेर्ने हो भने विविधता देखिन्छ ।

राजपाको प्रमुख नेतृत्वकर्ता महन्थ ठाकुर प्रजातान्त्रिक समाजवादबाट बाटो परिवर्तन गरी समुदायवाद र मधेशवादमा प्रवेश गरे । उनी नेपाल राज्यमा मधेशवाद फल्ने र मधेशी फुल्ने अवस्था नदेखेपछि बहुराष्ट्रिय राज्यको अवधारणालाई अंगीकार गर्दै स्थापित गर्न खोजेका छन् । ठाकुरद्वारा गरिने बुहराष्ट्रिय राज्यको वकालतले नेपाली स्थायी सत्ता र नेपाली (शासकीय जाती)हरू सशंकित भएका छन् । बहुराष्ट्रिय राज्य भएका युरोपेली मुलुकहरू विभाजन भए जस्तो नेपाललाई पनि विभाजन गर्न खोजेको त्रास नेपालीहरूमा छ । र, ठाकुरलाई त्यही दृष्टिकोणले हेरिँदैछ । तर ठाकुरमाथि नेपालीहरू आक्रमक हुन सकेका छैनन् किनभने ठाकुरको व्यक्तित्वलाई अहिलेसम्म नेपाली स्थायी सत्ताले समाप्त पार्न सकेको छैन । तर ठाकुर घेराबन्दीमा परिसकेका छन् । ठाकुर आफ्नो जीवनको अन्ततिर पुनः एक पटक राजनीतिक धारलाई परिर्वतन गर्ने छन् । किनभने कुनै पनि राष्ट्रलाई कुनै नेताले दिन सक्ने सबभन्दा ठूलो धम्की नै विखण्डनको हो । यो धम्की ठाकुरले बारम्बार दिँदै आएको छ । तर पनि राज्यले ठाकुरलाई सुनेको छैन । त्यसकारण ठाकुर आफ्नो अन्तिम समयमा मधेश राज्यको पक्षमा उभिने छन् ।

राजपाका दोस्रो शक्तिशाली नेता राजेन्द्र महतो मधेशवादको विजलाई जोगाएर राखेपनि राजपाको दस्तावेजहरू हेर्दा उसले मधेशवादलाई डुँगाको रूपमा प्रयोग गरेको देखिन्छ । महतोको अन्तर्आत्मामा रहेको समग्र नेपालको नेता बन्ने परिकल्पना राजपाबाट पुरा गर्ने सोच्दैछन् । उसले यसअघि पनि ६५ वटा जिल्लामा संगठन विस्तारको असफल प्रयास गरेको थियो । तर उसको इज्जत मधेशले नै जोगाएको थियो । बेलाबखतमा उसले मधेशवादलाई उग्र आन्दोलन अस्त्रको रूपमा प्रयोग गर्ने गरेका छन् । जो कतिपय अवस्थामा मधेशका लागि आवश्यक छ । तर महतोमा सैद्धान्तिक विचलन भन्दा पनि तीव्र आकांक्षाले समस्या सिर्जना गर्नेछ । महतोको जुन रूपले तेस्रो मधेश आन्दोलन उठान गर्नमा मदत गरेको छ, त्यो रूप महतोले फेर्दैछ । जो महतोको लागि घातक हो ।

राजपाको तेस्रो शक्तिशाली नेतृत्व शरत्सिंह भण्डारी र महेन्द्र यादव छन् । जो उपयोगितावादलाई नजिकबाट नियालेका छन् । यादवभन्दा भण्डारी केही कदम अगाडि छन् । भण्डारीलाई मुक्तिकामी आन्दोलनभन्दा ठिकाउ राजनीतिले गाँजेको छ । उनी अब सडक संघर्षभन्दा पनि सदन संघर्षको बाटो रोज्न चाहन्छन् । किनभने उनको स्कुलिङले सडक संघर्ष सिकाएको छैन । र, उनी इलाइट नेतृत्व हुन् । महेन्द्र यादव सर्वहारा स्कुलिङबाट आएपनि उनी इलाइट वर्गमा प्रवेश गर्न खोज्दैछन् । जसरी उपेन्द्र यादवले पाराडाइम सिफस्ट गरेको छ त्यही बाटोमा महेन्द्र छ । तर महेन्द्रको राजनीतिक पारा मिटरमा उचाल्न सक्ने तत्व उनीसँग छैन । भण्डारी विजय गच्छदार शैलीको राजनीति गर्न खोजेका छन् तर उनीसँग जातीय समीकरण छैन ।

राजपाका चौथो नेतृत्वमा छन् अनिल कुमार झा र राजकिशोर यादव । दुबै जना मधेशवादकै स्कुलिङबाट आएका हुन् । झामा म्यानेजमेन्टको क्षमता बढी छ भने यादवमा घुलनको क्षमता अधिक छ । झाले राजनीतिक संगठनलाई चुस्त राख्न सक्छ, जसरी कुनै गैरसरकारी संस्थालाई संस्थागत गर्न सक्छ । तर अहिलेको अवस्थामा दुबै जना फ्रन्टलाईन लिडर बन्न सक्ने अवस्थामा छैनन् । त्यसका अनेक कारणहरू छन् । तर हाल पार्टीभित्र उनीहरूले लिएको लाइनमा अगाडि बढ्ने हो भने राजपाको भोलीको नेतृत्व यिनै दुबै जनाको हातमा जानेछ ।

राजपाभित्र सहायक शक्तिहरू छन् । जस्तै हृदेयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृजेश गुप्ता र बृषेश चन्द्र लाल । यिनीहरू पनि फ्रन्टलाईन लिडर हुन सक्ने छवीका छैनन् । यिनीहरू साहायक नेतृत्वकर्ता हुन सक्छन् । त्रिपाठीले कयौंपटक प्रयोग पनि गरिसकेका छन् । र, उसलाई यो कुरा राम्ररी थाहा छ । शुक्ल पनि मुक्तिकामी मार्गको राजनीतिज्ञ होइनन् । उनी कुटनीतिक क्षमता बढी भएका नेता हुन् ।

राजपाका यी सबै तत्वहरू एकै ठाउँमा रहिरहने सम्भावना न्यून छ । करिब ६५ वर्षको मधेशको मोर्डन पोलिटिक्सले एउटा पाराडाइम सिफ्ट गरेको छ । जुन अहिले व्याक गियरमा छ । यसलाई अगाडिको गियरमा हाल्न धेरै शक्तिको आवश्यकता पर्नेछ तर शक्ति प्रदान गर्न सक्ने समूह राजपासँग छैन । राजपाको शक्ति स्थानीय स्तरमा छ । जुन शक्तिलाई राजपाले अहिलेसम्म बिर्सेको छ । हुनत् केही प्रयास भएको छ जस्तो कि कुनै निर्णय गर्दा जिल्लाबाट माइन्डेड लिने । तर राजपामा अहिले पनि फिलोसोफिकल र स्ट्रक्चरल समस्या छ । जसले राजपालाई केही दिनसम्म सन्तुलनमा ल्याउन अवरोध गरिरहनेछ ।

तर मधेशी जनताले निरास हुनु पर्ने कुनै ठाउँ छैन । किनभने विज्ञानको सिद्धान्तले भन्छ ‘कुनै ठाउँमा कुनै बेला कुनै शक्ति प्रयोग भएको छ भने त्यो शक्तिको प्रतिक्रिया कुनै रूपमा हुनेछ ।’ तीनवटै मधेश आन्दोलनमा मधेशी जनताको शक्ति प्रयोग भएको छ र यो शक्ति कुनै न कुनै रूपमा प्रतिक्रिया दिनेछ । चाहे त्यो दुई वर्षमा होस् चाहे त्यो दश वर्षमा होस् ।

(पत्रकार साह हुलाकी न्यूजका सम्पादक हुन् ।)

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com