विश्वासघात गरेकाहरूसँग जनताले निर्वाचनमा बदला लिनेछ – हरिचरण साह

अध्यक्ष, नेपाली जनता दल

० प्रदेश नं. २ को चुनावी माहोल कस्तो पाउनु भएको छ ?
— मधेशमा चुनावी माहोल बनेको छ । मधेशी जनता चुनावमा सहभागी हुन पाउँदा उत्साहित देखिएका छन् । आन्दोलनका क्रममा १ सय ९ जना सपुतहरूले सहादत गरेका छन् । अब तिनीहरू स्वर्गबाट फर्केर आउने कुरा भएन । तर, पनि तिनीहरूलाई स्वर्ग पठाउने पार्टीहरूको विरूद्धमा मधेशी जनताहरूले भोट गर्नु हुन्छ भन्ने विश्वासका साथ आशा राख्दै चुनावी तयारीमा लागेको छु ।


० संविधान संशोधन नभएसम्म राजपा नेपाल चुनावमा नजाने अडानमा थियो । तर अहिले चुनावमा गएको अवस्था छ । यस प्रति तपाईको धारणा के छ ?
— संविधान संशोधन नभएको अवस्थामा राजपा नेपाल चुनावमा जाँदैछन् । यो भनेको १ सय ९ जना शहीदप्रतिको अपमान हो । र, यो अपमानलाई मधेशी जनताहरू राजपा नेपालसँग बदला लिनेछ भन्ने मेरो धारणा छ ।


० तपाईको नेपाली जनता दलले कुन–कुन ठाउँमा आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेको छ ?
— प्रदेश नं. २ को आठवटै जिल्लाको प्रायजसो सबै जिल्लाको जिल्ला स्तरिय बैठक सकेको अवस्थामा हामी छौँ । विस्तारित आठ जिल्लाको उम्मेदवारहरूको योग्यता के हुनुपर्ने, मधेशी जनताको मात्रै हैन हिमाल पहाड र तराई सम्पूर्ण जनताको हितमा कसरी काम हुन्छ, तिनीहरूले शान्तिको अनुभव कसरी पाउन सक्छ, यी कामहरू गर्न सक्ने खालको मनोवल भएको राष्ट्रहितको बारेमा सोच्ने खालको उम्मेदवारहरूको चयन गर्नेछौँ । विगतमा भएको आन्दोलनले मधेशका जनताहरूले मधेशी नेताहरूलाई संसदमा पु¥याएका थिए । तर तिनीहरू संसदको लाभ लिइराख्यो र आन्दोलन पनि गरिराख्यो । तिनीहरूले राजिनामा गरेन । र जनतालाई शहिद बनाइ रहयो । तीन ठूलो दल भन्ने काँग्रेस, एमाले र माओवादी पार्टीले पनि मधेशको जनताको अधिकारको हनन गर्दै आफ्नो सत्ता र भत्तामा मस्त भइरहयो । यहाँ का जनताहरूले राजपा नेपाल र तीन ठूला पार्टीहरूले मधेशी जनतासँग गरेको विश्वासघातको बदला लिनेछ । म कहिल्यै पनि मधेशी जनतासँग विश्वासघात गरेको छैन ।


० तपाइँको पार्टीबाट उम्मेदवारका आकांक्षी धेरै होलान्, यस्तो अवस्थामा उम्मेदवार चयनमा कस्तो गाह्रो भएको छ ?
— हेर्नुस, यहाँ हामीलाई उम्मेदवार चयन गर्नको लागि गाह्रो भएको अवस्था चाही छैन । किनभने हामी सिद्धान्त, सामाजिक न्याय, पूर्ण समानुपातिकका लागि लड्ने विश्वस्त नेतृत्वहरूलाई मात्रै नेपाली जनता दलले चयन गर्नेछ । यस्तो साहस र दृढ नेतृत्व शक्ति भएको उम्मेदवारलाई हामी चुनावी मैदानमा होमिन लगाउनेछौं । सबै जिल्लामा समिति गठन गरेर उम्मेदवार छनौट गर्दैछौं । त्यसैले हामीलाई अप्ठ्यारो छैन । हामीले १८ गतेसम्म सबै उम्मेदवारीको प्रक्रिया पुरा गरेर एकमुष्ट रूपमा उम्मेदवारहरूको सूची सार्वजनिक गर्नेछौँ ।


० पशुपति शमशेर राणाको नेतृत्वमा गठन भएको राप्रपा प्रजातान्त्रिक पार्टीसँग मिलेर तपाइँले स्थानीय चुनाव लड्ने तयारीमा हुनुहुन्छ, तपाइँहरूको कुरा कसरी मिल्यो ?
— नेपालको सबै पार्टीहरू जुन पुरानो धारबाट आएका छन् त्यसमा ति नयाँ धारका आएका पार्टीहरूले संविधान संशोधनको लागि मधेशमा मान्छेहरू मारिरहयो तर काँग्रेस, एमाले र माओवादीले तिनीहरूको माग सुनेनन् । यी सबै एक डयाङ्गका मुला हुन । र एकैपटक यी सबैसँग लड्न सकिदैँन । देशमा चारओटा शत्रु छन् भने एउटा शत्रुलाई मित्र बनाउनु पर्छ । हाम्रो मित्र भनेको लोकतन्त्रधार भएकाहरू हुन र त्यो पशुपति शम्शेरज्यूमा पनि मैले पाएँ । किनभने पशुपति शम्शेरले पनि राजतन्त्र छोडेर प्रजातन्त्रको पथमा आइसकेकोले हामीसँग मिलेको हो । पशुपति पथ छ जुन अहिले हरिचरण पथमा आइसकेको छ । सामाजिक न्यायको पक्षमा आइसकेको छ । लोकतन्त्रको पक्षमा आइसकेको छ । त्यसैले यी समाजिक न्यायको पक्षमा आइसकेकाहरूले हामीसँग आउँछ भने हामी उहाँलाई अहिले पनि स्वागत गर्छौँ ।


० तपाई भारतको भ्रमणमा हुँदा एउटा भारतीय मिडियालाई अन्तर्वार्तामार्फत भन्नु भएको थियो कि नेपालमा अझै पनि वास्तविक गणतन्त्र आएको छैन । के तपाईको विचारमा नेपालमा रहेको यो गणतन्त्र होइन ?
— हो मैले भनेको थिएँ कि नेपालमा अहिले पनि लोकतन्त्र आएको छैन । किनभने पहिलेको ब्राह्मणवादी शाषकहरूले शासन गरिरहेका छन् । बाँकी जातिहरू बाँडिएको अवस्था छ । जातजातिमा विभाजित भएका छन् । यिनीहरूलाई एउटै धारमा कसरी ल्याउने, हिमाल, पहाड र तराईबीचको जुन खाडल छ त्यसलाई कसरी पुर्ने, हिमाल पहाड तराई कोही छैन पराई यो कसरी बनाउने, मेचीदेखि महाकालीका सबै जातिलाई नेपाली कसरी बनाउने, म त्यो प्रयासको लागि भनेको हो । यी पूर्व शाषकहरू नै जसको कारण राजतन्त्र गए पनि राजतन्त्रको फगत गएको छैन । त्यसैले मैले भनेको हो कि नेपालीमा वास्तविक अर्थमा लोकतन्त्र अथवा गणतन्त्र आएको छैन । राजनीतिक द्वन्द्व समाप्त गरेपछि मात्रै यो देशको भलो हुनेछ र यो देश विकास र सम्बृद्धिको बाटोमा जानेछ । त्यसैले यो देशमा राजनीतिक द्वन्द्वलाई समाप्त गर्नेपर्छ जसको लागि हामी निरन्तर काम गरिरहेका छौँ ।


० लोकतन्त्रको मूल मर्म निर्वाचन नै हो तर तपाईको पार्टी पनि पहिलो र दोस्रो चरणको चुनावमा भाग लिएन के कारण होला ? त्यो क्षेत्रमा जनसर्मथन थिएन कि अरू कुनै कारण छ ?
— म के भन्छु भने यो देशमा थ्री इडिएट छन्, काँग्रेस, एमाले र माओवादी । यिनीहरूले जनताको मर्मलाई कहिल्यै पनि बुझेका छैनन् । यसैगरी मधेशका पनि फोरम नेपाल, लोकतान्त्रिक फोरम र राजपा नेपाल लगायतका पार्टीले पनि मधेशी जनताहरूसँग कुठाराघात गरेका छन् । राजतन्त्रलाई जसरी लोकतन्त्रको बाढीले बगाएर लग्यो त्यसरी नै अबको आन्दोलनले यो पार्टीहरूलाई बगाएर लानेछ । मधेशी जनतालाई मार्ने ती शासकहरूको विरूद्धमा जाने जनताहरू हाम्रो पार्टीको पक्षमा आउँछ भन्ने मेरो विश्वास हो । त्यो विश्वासको साथ हामी अगाडी बढिरहेका छौँ ।


० तपाईले काँग्रेस, एमाले र माओवादीले तराई मधेशमा गृहयुद्धको वतावरण बनाएको आरोप लगाउनु भएको छ, के छ स्पष्ट पारी दिनु न ?
— संविधान संशोधन भन्दा अगाडी मैले भनेको थिए कि संसदीय प्रणालीमा संशोधन प्रस्ताव आएको छ त्यसलाई आउन दिनुपर्छ र यसमा काँग्रेस, एमाले र माओवादीले पनि भोटिङ्गमा लैजानु पर्छ । आज प्रमाणित भएको छ मधेशको मुद्दामा ६२ प्रतिशत सांसदको सर्मथन रहेको छ । क्रान्तिकारी स्टाटस राख्नु को कारण हामीले आफ्नो विचार राखेका हौँ । हामी जनतालाई शान्तिपूर्ण रूपमा ःल्याएर समस्याको समाधान गर्छौ ।


० तपाईको पुरा राजनीतिक जीवनमा तराई मधेशको लागि बुँदागत रूपमा भन्नु पर्दा तपाईले के गर्नु भएको छ ?
— नेपालमा मधेशी जनतालाई चिनाउने प्रयास नेपाल सद्भावना पार्टी जुन गजेन्द्र नरायण सिंहको नेतृत्वमा थियो त्यो र नेपाली जनता दलले नेपालमा मधेशीहरूलाई चिनाउने काम गरेको छ । नेपाली जनता दलले सबै जनताको नेतृत्व विकासमा काम गरेको छ ।


० तपाई माथी के आरोप छ भने तपाईले विभिन्न कालखण्डमा आफ्नो फाइदाको लागि मोर्चा बनाउनु भयो र त्यसलाई पछि समाप्त पनि पारिदिनु भयो । के भन्नु हुन्छ तपाई यसमा ?
— हैन, मैले कुनै पनि मोर्चा आफ्नो व्यक्तिगत फाइदाको लागि बनाएको होइन र त्यस्तो मोर्चालाई समाप्त पनि पारेको होइन । होला विभिन्न मोर्चाहरूको विचार नमिलेको त्यसबाट हामी निस्केका मात्रै हौँ ।


० तपाई तराई–मधेशबाट प्रतिनिधत्व गर्नुहुन्छ, केही दिनअघि मात्रै तराई मधेशका जनताहरू बाढीबाट प्रभावित भएका छन्, करोडौँ जनधनको क्षति भएको छ । धरै जनाले ज्यान गुमाएका छन् । यस्तो अवस्थामा तपाई के गर्नु भएको छ ?
— मैले मेरो १ महिनाको तलब बाढी पीडितहरूलाई राहत स्वरूप प्रदान गरेको छु । हाम्रो पार्टीको कार्यकर्ताले पनि विभिन्न ठाउँमा राहत संकलन गरेर वितरण गरेका छन् । त्यस्तै हाम्रो पार्टीले पनि निरन्तर रूपमा सरकारलाई दबाब दिँदै आएको छ कि जसरी पहाडमा भूकम्प जाँदा पुनर्निर्माण प्राधिकरणको गठन गरेको छ त्यसरी बाढी पीडितहरूको व्यवस्थापनका लागि प्राधिकरणको गठन गरोस् र बाढी प्रभावित तराई मधेशको जनतालाई उचित क्षतिपूर्ति दिएर पुनस्र्थापनाको काम गरोस् ।


(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश) 

प्रकाशित मिति : २०७४ साल भदौं १६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com