बाम एकता राजनीतिक प्रोपोगण्डा मात्र हो : राकेश मिश्र

सहमहामन्त्री, राजपा नेपाल


० कम्युनिष्टहरूले अहिले सहकार्य गरेका छन्, पछि पार्टी एकीकरण गर्ने प्रक्रिया थालेका छन्, यसले नेपाली राजनीतिमा कस्तो प्रभाव पर्ला ?
— अहिले कम्युनिष्टहरूको एकताले सत्तामा जानको लागि भएको प्रष्ट बुझिन्छ । अहिलेको अवस्थामा यिनीहरूको लोकप्रियता घट्दै गइरहेको छ । यिनीहरू सत्तामा रहुञ्जेल कुनै राम्रो काम पनि गरेनन् । जनतालाई झुटो आश्वासन बाँडेर जनताको मत लिने काम गरे । तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट जनताले विकास, समानता खोजिरहेको छन् भन्ने बुझियो । यी कारणले फेल भइसके पछाडी यिनीहरूले सत्तामुखी पावरलाई जोगाउनका लागि गरेको अपवित्र गठबन्धन हो ।


० स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणाममा कम्युनिष्टहरूको जुन अवस्था आयो त्यसबाट भयभित भएर यो गठबन्धन अथवा एकीकरण गर्ने प्रयास हो कि ?
— यो पनि प्रयास हो । तर, यो भन्दा पनि मुख्य कुरा के हो भने यिनीहरूले ३–४ महिना अगाडिदेखि नै प्रयास गर्दै थिए । तर, यिनीहरूको जुन प्रकारको काम रह्यो त्यसप्रति जनताहरूले विश्वास गर्न सकेनन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले भारतलाई गाली गरेर पुरै जित्छु भन्ने सोच्यो जुन सोचाई पुरा भएन । दोस्रो र तेस्रो चरणको चुनावमा जनताहरूले झन् उनीहरूको नारालाई स्वीकार गरेनन् । त्यसैले यसलाई बचाउनका लागि नयाँ–नयाँ प्रोपोगण्डा सुरू गरे । अहिले बाम एकताको नारा दिएर यस्ता कामहरू गरिरहेका छन् । २०६२–०६३ को आन्दोलनको बेला एमालेले आफूलाई लोकतान्त्रिक भन्न रूचाँउथे । जुन परिभाषाले सत्ता प्राप्त हुन्छ त्यो परिभाषालाई नै अङ्गीकार गर्ने एमाले पार्टीको पहिलादेखिकै बानी नै रहेको छ ।


० तपाईहरूले नेकपा एमालेलाई उग्रराष्ट्रबादी र राष्ट्रघाती पार्टी भन्नुहुन्छ तर राजपा नेपालबाट पार्टी छोडेर जाँदा एमालेमै जान्छन्, किन यस्तो भएको होला ?
— यो सम्बन्धित नेताको व्यक्तिगत विचार हो । जसले जहाँ स्पेस पाउँछ त्यहाँ जान खोज्छ । उनीहरूको सिद्धान्त र विचारभन्दा पनि चुनाव जित्ने रणनीति हो । कुन दलमा जाँदा कसरी चुनाव जित्न सकिन्छ त्यति मात्रै ती नेताहरूले सोच्ने गरेका हुन्छन् । यो षड्यन्त्र कहाँबाट सुरू भयो भने संसदीय निर्वाचन क्षेत्र निर्धारण आयोग बन्यो त्यसले मधेशलाई पुनः आन्तरिक उपनिवेशमा राख्न प्रयास अनुरूप काम गर्न थाल्यो । प्रत्येक निर्वाचन क्षेत्रमा जहाँ मधेशी बाहुल्य हो त्यहाँ अर्कै तरिकाले ठूल्ठुला नेताहरूलाई नोक्सान हुने प्रकारको क्षेत्र निर्धारण गरियो जसको कारण केही नेताहरूमा हतासको वातावरण बनेको छ ।


० राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यसमेत रहेका हृदयेश त्रिपाठीजी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र राजनीतिक समूह गठन गर्नुभयो, उहाँसँगै राजपा नेपालका अन्य पाँच जना नेताहरू पनि गए । उहाँहरूले एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गरेका छन्, यसलाई कुन रूपमा लिनु भएको छ ?
— हृदयेशजीको जुन राजनीतिक जीवन छ त्यो जीवन नै मधेशवादमा अधारित जीवन हो । उहाँको राजनीतिक उचाई, क्षमता सबै मधेशको राजनीतिबाट नै भएको हो । उहाँले पार्टी छोड्दा सबै स्तब्ध बनेका छन् त्यो स्वाभाविक कुरा हो । तर, उहाँले जुन हिसाबले स्वतन्त्र समूह बनाएर जानु भएको छ त्यो मधेशको लागि ठिक होइन र एमालेको चुनाव चिह्न लिएर चुनाव लड्नुहुन्छ भने त्यो उचित कदम हुन सक्दैन । तर, यो उहाँको व्यक्तिगत निर्णय हो । उहाँ चुनाव जित्ने हिसाबले जानु भएको हो । एमालेको विचारबाट प्रभावित भएर जानुभएको होइन ।


० एमालेको चुनाव चिह्न लिएर गइसकेपछि अब उहाँहरू राजपा नेपालका पदाधिकारी छन् कि छैनन् ?
— उहाँले स्वतन्त्र गठबन्धन बनाउनु भो त्यो राजपा नेपालबाट अलग भएर नै बनाउनु भएको हो । अब राजपा नेपालको पदाधिकारी अथवा नेता हुने कुरो भएन । पार्टीमा नेता आउने जाने क्रम चलि नै रहन्छ । राजनीतिक कालखण्डमा धेरै ठूला नेताहरू आउने जाने गरेकै हो । नेपाली काँग्रेसको इतिहास हेर्ने हो भने त्यो बेला काँग्रेसका महामन्त्री भइसकेका नेताहरू राजासँग गएकै हो । राजनीतिक पार्टीमा नेता आउने जाने क्रम जारी रहन्छ ।


० यस सन्दर्भमा राजपा नेपालले अधिकारीक रूपमा कुनै प्रेस विज्ञप्ति जारी गरेको छ ?
— जो गइसक्यो भने त्यो गए सरह भइ नै हाल्यो । अब त्यसलाई विज्ञप्ति जारी गरेर हटाउनु पर्ने कुनै तुक छैन । यो राजनीति प्रोपोगण्डाको लागि गरिएको हो । तर मान्छेहरू स्वतन्त्र रहेको छ उ जहाँ पनि जान सक्छ । हामी एउटा विचार बोकेर मधेशी र आम नेपाली समुदायमा गएका छौँ । हामीलाई पहाडमा बसेको जनजातीहरूको हित पनि सोचेका छौँ । मधेशमा बसेको मधेशीहरूको हित पनि सोचेका छौँ । मधेशी समुदाय माथी, मधेशी जनता माथी र मधेशी भुमी माथी विभेद भयो त्यो अन्त हुनु पर्छ किनभने जबसम्म मधेश विकसित हुँदैन, सम्पन्न हुदैँन, सम्बृद्ध हुदैँन तबसम्म राष्ट्रको विकास पनि हुँदैन । मण्डले राष्ट्रबादले के सोच्दैछ भने पहाड मात्रै धनी भयो भने नेपाल धनी र सम्वृद्ध हुन्छ । यस्तो सोचाई राष्ट्रघाती सोच हो ।


० ६ वटा पार्टीको एकीकरण भएसँगै हृदयेश त्रिपाठी लगायतका नेताहरू असन्तुष्ट रहेका थिए तिनीहरूलाई पार्टीले सहमतिमा ल्याउने प्रयास किन गरेन ?
— सहमतिमा ल्याउने प्रयास त गरेकै हो । राजनीतिमा केही कमिकमजोरी हुन्छ जसरी व्यक्तिगत जीवनमा हुने गरेको हुन्छ । यस्ता कमजोरीहरूलाई पार्टीभित्रै रहेर सुधार गर्नु यसलाई संशोधन गर्नु यो सबैको कर्तव्य हो । पार्टी भनेको धेरै व्यक्तिहरूको समुह मिलेर बनेको हुन्छ । पार्टीको निर्णयमा केही व्यक्तिहरू सन्तुष्ट हुन्छन् भने केही असन्तुष्ट पनि हुन्छन् । तर यसमा भएका सैद्धान्तिक कमी–कमजोरीलाई सुर्धान सकिन्छ । व्यक्तिगत लाभ हानीका कमी–कमजोरी छ त्यसलाई पनि सुधार गर्न सकिन्छ । प्रयास पनि भएकै थियो । उहाँहरूलाई अध्यक्ष मण्डलमा सामिल गर्ने निर्णय समेत भइसकेको थियो । तर पनि यस्तो किन भयो त्यसको बारेमा विस्तृत कुरा आइपुगेको छैन । तर हाम्रो बुझाई स्वतन्त्र हो पार्टीमा आउने जाने भइरहेको हुन्छ । उहाँको पार्टी छोडेरै जाने खालको असन्तुष्टि रहेको थिएन ।


० प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि राजपा नेपालले कसरी तयारी गरिरहेको छ ?
— हामीले प्रदेश र प्रतिनिधि सभाको लागि जिल्ला कार्यसमितिलाई निर्देशन गरेका छौ कि यहि २० गतेसम्म प्रतिनिधी सभा र प्रदेश सभाको उम्मेदवारहरूको नाम सिफारिस गरोस् । सबै जिल्लाबाट उम्मेदवारहरूको नामावली आउँछ । त्यसमाथी अध्यक्ष मण्डलले बसेर सबैमा को योग्य छ कसलाई टिकट दिदाँ राम्रो हुन्छ त्यस विषयमा गहन छलफल हुन्छ र छलफल पछि अन्तिम निर्णय हुन्छ । हाम्रो पूर्ण रूपमा मधेश मुक्तिको लडाँई हो । मधेशको प्रतिनिधित्व संसदमा भएन भने जसरी यिनीहरूले लङ्गडो संविधान बनाए त्यही संविधानलाई फेरी मलजल गर्न पटक पटक गल्ती गर्छ । त्यो गल्ती गर्न नदिनको लागि मधेशको प्रतिनिधित्व संसदमा जरूरी छ । यही मुद्दा लिएर हामी जनसमक्ष जान्छौँ र शिर्षक वर्गको जुन षड्यन्त्र रहेको छ त्यसलाई हामी खुलस्त पार्छौ र जसरी संविधान निर्माणको बेला जसरी हुन्छ भनि भोटिङ्ग गरायो र दुई तिहाईको दम्भ देखायो त्यसको जवाफ हामी दिन्छौँ । मधेश आन्दोलनको बेला मानव अधिकारको हनन् गरियो, मधेशीहरूको छाती र टाउकोमा गोली हानेर हत्या गर्यो त्यो सबै कुरा हामी आम मधेश र आम सम्पूर्ण नेपाली मतदाता समक्ष हामी उठाउँछौँ । हामीलाई पूर्ण विश्वास रहेको छ कि हामीले उठाएको मुद्दा प्रति मधेशी जनताहरूको शत प्रतिशत सर्मथन प्राप्त हुन्छ । र यी ठूला दलहरू परास्त हुन्छ ।


प्रकाशित मिति : २०७४ साल असोज २० गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com