नेपालमा दुई दलीय व्यवस्था : ‘मधेश’ क्याट्लोनिया कि क्रिमिया मोडलतिर ? (विचार)

बीपी साह

नेपाली राजनीतिक दलहरू सत्तामा साझेदारीका विरूद्ध नेपालमा दुई दलीय व्यवस्थाको अभ्यास थालेका छन् । संयुक्त राज्य अमेरिका, जमैका र माल्टामा दुई दलीय व्यवस्थाको राम्रो अभ्यास भएको मानिन्छ । सोहीलाई नक्कल गर्न नेपाली राजनीतिक दलले पनि थालेका छन् ।

यी बाहेक केही अन्य मुलुकले पनि दुई दलीय व्यवस्थाको अभ्यास गर्न खोजेको पाइन्छ । ती मुलुकले दुई दल मात्र कायम गर्न नसकेपछि गठबन्धनमार्फत दुई दलीय राजनीतिक स्थिति सिर्जना गर्न खोजेको देखिन्छ । भारतमा गठबन्धनको राजनीति तथा स्पेनमा बहुदलीय व्यवस्थालाई दुई दलीय व्यवस्थामा सीमित गर्ने प्रयास गरिएको छ । बेलायतमा पनि दुई दलीय व्यवस्थाको अभ्यास भएको हो ।

दुई दलीय व्यवस्था भएका मुलुक स्पेन र बेलायतलाई हेरौं । क्याट्लिष्टहरूको पहिचान र अधिकार सम्बोधन हुन नसकेपछि उनीहरूले स्वतन्त्र क्याट्लोनिया राज्य बनाएका छन् । हालै जनमत संग्रह गरेर स्वतन्त्र भएको घोषणा गरेको छ । त्यस्तै, बेलायतको स्कटल्याण्डमा पनि स्वतन्त्रताका लागि जनमत संग्रह भएको छ । एक प्रतिशत मत कम हुँदा स्कटल्याण्ड स्वतन्त्र हुन सकेन तर संघर्ष जारी छ । नेपालमा पनि मधेशवादी र पहिचानवादी शक्तिलाई समाप्त पार्न दुई दलीय व्यवस्थाको अभ्यास गरिदैछ । जसले मधेश पनि क्याट्लोनिया अथवा स्कटल्याण्ड बन्न सक्छ ।

अर्को अर्थमा नेपाली राजनीतिमा जसरी चीनले बाम गठबन्धन गराएको छ त्यसले नेपालबाट भारतीय शक्तिहरू पराजित हुनै लागेको देखिन्छ । जसको फलस्वरूप भारतले पनि आफ्नो शक्ति बढाउने प्रयास गर्नेछ । र, केन्द्र मधेश बन्नेछ ।

जसरी युक्रेनमा अमेरिकी शक्ति बढेपछि रूसले क्रिमिया बनाए । नेपालमा त्यो अभ्यास मधेशमाथि हुन सक्छ । चीनले गैरमधेशी क्षेत्रमाथि वर्चस्व कायम गर्न खोजे मधेशमाथि भारत हावी हुनेछ । जसले कालान्तरमा मधेशलाई क्रिमिया मोडलमा लग्न सक्नेछ ।

प्रसंग वर्तमान नेपाली राजनीतिक परिस्थितिको । नेपालमा बहुदलीय व्यवस्थाका लागि ठूलै संघर्ष गरेका दलहरू अहिले विभिन्न मोर्चामा तैनाथ छन् । नेपाली राजनीतिको बागडोर तीनै दलले सम्हालेका छन् । तर बहुदलीय व्यवस्था उनीहरूलाई नै पचेको छैन ।

नेपालमा ‘एक भाषा एक भेष हाम्रो राजा हाम्रो देश’ भन्ने नारा छँदासम्म कांग्रेस र कम्युनिस्टलाई साना दल टाउको दुखाइको विषय बनेको थिएन । तर माओवादीको विस्तार तथा संघीयता र पहिचान पक्षधरको उदय नेपाली कांग्रेस र पुराना कम्युनिस्टलाई टाउको दुखाइको विषय बन्दै गएको थियो । फलस्वरूप नेपालमा राजनीतिक स्थायित्वमा कमी देखियो । जसको प्रत्यक्ष असर नेपालको आर्थिक, सामाजिक र राजनीतिमा परेको थियो ।

पहिलो संविधानसभामा बहुदलीय व्यवस्थाका सकारात्मक पक्षहरू पनि देखिए तर नकारात्मक पक्षले धेरै प्रचार पाए । फलस्वरूप पहिलो संविधानसभा बिना कुनै निर्णय विघटन हुनपुग्यो । दोस्रो संविधानसभाको निर्वाचनपछि पुनः अवस्था दुई दलको हातमा पुग्यो । र, दुई दलका शीर्ष नेताले पहिचान र संघीयता पक्षधरलाई पेल्दै केही सहयोगीहरूका साथ संविधान जारी गरे । जसबाट सबभन्दा बढी प्रभावित मधेश बन्न पुग्यो ।

स्थानीय निकायको निर्वाचनमा स्वतः केही दलहरू कमजोर भएर गए । तर भित्तामै पुगेनन् । अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि आउँदै छ । प्रदेशसभामा प्रदेशस्तरका दलहरू बलियो भए भने केन्द्रमा पनि गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ । जसले नेपालमा अझै केही दशकसम्म पूर्ण बहुमतको सरकार कुनै दलले बनाउन सक्ने छैनन् ।

बहुदलीय व्यवस्थामा ठूला पार्टीहरूलाई साना पार्टीहरूले पेलेको उदाहारण पनि छन् । जसलाई बुझेर नेकपा एमाले पहिले नै सचेत भएको छ । ‘वाम गठबन्धन’को नाममा उसले नेपालमा कम्युनिस्ट पार्टी निर्माणको पहल थालेको छ । जसका लागि सैद्धान्तिक सहमति पनि जुटाइएको छ । यसमा चिनियाँ सहयोग र स्वार्थ पनि लुकेको प्रष्ट भइसकेको छ ।

केपी शर्मा ओलीले ‘२०७४ मै देशभक्त वामपन्थी सरकार’ निर्माण हुने बताउँदै अब बहुमतभन्दा पनि दुईतिहाइको तयारी भएको उद्घोष गरेका थिए । यता ‘वामहरू एक ठाम’ आएपछि संसद्को सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले पनि एकीकरणसहितको गठबन्धनको प्रयास थालेको छ ।

स्थानीय निकायको निर्वाचनमा व्यहोरेको हारको बदला लिन पनि उसलाई गठबन्धन आवश्यक छ । कांग्रेस पनि २ दलीय व्यवस्थाको पक्षमा थियो । तर उसले आफूलाई प्रजातान्त्रिक शक्ति ठानेकोले आफू बहुदलीय व्यवस्थाको पक्षमा रहेको देखाउनु उसको बाध्यता हो । आफू सबभन्दा ठूलो दल भएकोले अन्य दलसँग एकीकरण गर्नुलाई उसले बाध्यता ठानेको छैन । तर, नेपाली राजनीतिमा बामपन्थीहरूमार्फत् चिनियाँ हस्तक्षेप बढेको देखेपछि भारतले लोकतान्त्रिक गठबन्धनमार्फत् आफू समर्थितहरूलाई एकढिक्का पार्ने प्रयास गरेको छ ।

कांग्रेस गठबन्धनको मोडललाई अगाडि बढाउन खोज्दै छ । अब स–साना दललाई आफूभित्र गाभ्ने प्रयास गर्नेछ भने लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कांग्रेसको रहनेछ । गैर कम्युनिस्ट दल पनि कांग्रेसकै छत्रछायामा आफूलाई सुरक्षित महसुस गर्नेछन् र उक्त गठबन्धनमा सहभागी हुने अपेक्षा गरिएको छ ।

नेपालमा तत्कालै प्रत्यक्ष २ दलीय व्यवस्था हुने सम्भावना कम भए पनि गठबन्धनको राजनीतिले २ दलीय व्यवस्थाको अभ्यास गर्नेछ । कालान्तरमा कम्युनिस्टहरू १ दलमा परिणत भए प्रजातान्त्रिक धारका दल पनि १ दलमा परिणत हुने अवस्था देखिएको छ । २ ठूला दल शक्तिशाली भएर प्रस्तुत भएको खण्डमा साना दलको अस्तित्व संकटमा पर्नेछ । तर २ दलको अभ्यासले बहुराष्ट्रिय राज्य नेपालका पहिचान तथा संघीयता पक्षधरलाई कमजोर पार्नेछ । जसले अर्को संघर्षको मार्ग प्रशस्त नगर्ला भन्न सकिन्न ।

मधेशको सवालमा दुई दलीय व्यवस्था प्रतिउत्पादक हुनेछ । दुई दलीय व्यवस्थाले स्पेनमा क्याटलिस्ट, बेलायतमा स्कोटिस र युक्रेनमा क्रिमियालाई विद्रोही बनाएजस्तै नेपालमा मधेशलाई विद्रोही बनाउनेछ । दुई दलीय व्यवस्थाले मधेशका एजेन्डालाई सयौं वर्षसम्म दबाउने प्रयास गर्नेछ, जसको फलस्वरूप मधेश झनै उग्र भएर प्रस्तुत हुनेछ । साथै, मधेशमा स्वतन्त्र मधेशका पक्षधरहरू बलिया भएर जाने देखिन्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com