कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग प्रमुख आयुक्तको आग्रह

काठमाडौं, २४ असोज । निर्वाचन आयोगले यही २०७४ मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि आजदेखि ‘निर्वाचन सञ्चालन र व्यवस्थापन’ सम्बन्धी दुई दिने प्रशिक्षण सुरु गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आयोजित प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारीलाई आयोगले तीव्र बनाएको छ, अब अन्तिम अवस्थामा आएर यस सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग आग्रह गरे ।

प्रमुख आयुक्त डा. यादवले भने, ‘‘निर्वाचनको यो अन्तिम अवस्थामा कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग अनुरोध गर्दछु, साथै निर्वाचनका कार्यतालिकामा असर पार्ने कुनै अप्रिय घटना नहुन् ।’’

प्रमुख आयुक्त डा. यादवले भने, ‘‘कानून, नियम र निर्देशिकालाई अन्तिमरुप दिइसकिएको छ, विगतमा निकै अस्थिर राजनीतिक र अविश्वासको अवस्थामा पनि ऐतिहासिक रेकर्ड कायम गर्ने गरी स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, सबैको सहयोगबाट यो सम्भव भएको हो, अहिले पनि यो अन्तिम अवस्थामा कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् ।’’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन एवं चुनौतिपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको बताउँदै प्रमुख आयुक्त डा. यादवले जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई वेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सल्लाह दिए ।

निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न सुझाव दिए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा खटिने सबैको कार्यसम्पादन उत्कृष्ट होस् भन्ने आयोगको चाहना रहेको बताए । निर्वाचन आयुक्त शाहले निर्वाचनमा वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन नदिन, निर्वाचनलाई सफल तुल्याउने गरी दृढ इच्छाशक्तिसहित समन्वय र सहमति कायम गरेर काम गर्न निर्देशन दिए । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई सफल तुल्याउन समन्वयको नेतृत्व गर्न र पुनः निर्वाचन गर्ने अवस्था सिर्जना हुन नदिन तथा समस्याको समाधान स्थानीय तहमै गर्न सुझाव दिए ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम निर्वाचन सहायता परियोजना निर्देशक भिनसेन्ट क्रूजले स्थानीय तहको निर्वाचन ऐतिहासिकरुपमा सफल भएकोमा आयोगलाई बधाई दिँदै आगामी निर्वाचनको सफलताको कामना गरे ।

आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भइरहेका निर्वाचनको ऐतिहासिक जिम्मेवारी र संकल्प पूरा गर्न आयोग दृढ रहेको बताए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले विगतको अनुभवको आधारमा राष्ट्रको प्रमुख कार्यभारको रुपमा रहेको आगामी निर्वाचनलाई सफल तुल्याउन सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको विचार व्यक्त गरे । प्रशिक्षण दुई दिनसम्म चल्ने छ ।

कार्यक्रममा मुख्य रजिष्टार नहकुल सुवेदी, माननीय आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल तथा उपमहालेखा परीक्षक बाबुराम गौतम, आयोगका उच्च अधिकारी, सबै जिल्लाका जिल्ला न्यायाधीशलगायतको सहभागिता छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com