प्रतिनिधि / प्रदेशसभा निर्वाचन र मधेश (सम्पादकीय)

२००७ सालको जनक्रान्तिमा मधेशको आफ्नै गरिमामय स्थान छ । लोकतन्त्रको त्यस प्रस्थान विन्दूबाट अगाडि बढेको नेपाली राजनीतिलाई समयसापेक्ष गति दिन मधेशले नैतिक बल दिएको छ । त्यही मूल्य, मान्यता र आदर्शलाई आज पनि कायम राख्न सक्नुपर्छ । यदि यसमा चुक्यौं भने लोकतन्त्र पनि जोखिममा पर्छ । राजनीतिको एउटा महत्वपूर्ण कडी हो ‘परिवर्तन’ । यदि राजनीतिले समयसापेक्ष परिवर्तन दिन सकेन भने त्यो जतिसुकै राम्रो सिद्धान्त र विचार भएर पनि व्यवहारमा भने समयको गतिमा बाहिर पर्छ । यही नियति बुझेर अनेकौं चिरामा विभाजित मधेसी दलहरू अहिले एक भएका छन र आउँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर लड्दैछन् । राजनीतिको यसै मर्मलाई मधेश आन्दोलनका अगुवा राजनीतिक दलहरूले ढिलो भए पनि आजको सन्दर्भमा मनन गर्नु निश्चय पनि हितकर छ । त्यसैले लोकतन्त्रवादी मधेशी शक्ति अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएर मधेशको जनमतलाई आफू तिर तान्न सक्ने गरी निर्वाचनमा होमिनु पर्छ ।
लोकतन्त्रवादी मधेशी शक्तिलाई बल दिने, नेतृत्व विकास गर्ने महत्वपूर्ण मार्ग निर्वाचन नै हो र अलोकतान्त्रिक शक्तिलाई मौका दिएर पन्छिनु भयानक चिन्ताको विषय हुनसक्छ बुझनु पर्छ । त्यतिमात्र होइन, आज मधेशबाट प्रतिनिधित्व गर्ने जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमाथि मधेशी जनताको विश्वास हुनु पनि निर्वाचनबाट उत्तीर्ण भएकै कारणबाट सम्भव भएको हो । स्थानीय तह निर्वाचनको सफलता र अन्ततः त्यसमा राजपा र संघीय फोरमको सहभागिताले निर्वाचनप्रति मधेशको चासोलाई बढाएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सम्बद्ध ६ वटा राजनीतिक दल एकीकरणको मालामा उनिनुलाई मधेश, तराईमा मात्र होइन, पहाड तथा हिमालमा पनि उच्च मूल्याङ्कनको विषय मानिएको छ ।
एकीकृत पार्टीले क्षेत्रीयताको साँघुरो घेरा तोडी राष्ट्रिय आयाम अँगालेको छ । समसामयिक राजनीतिक परिप्रेक्ष्यमा यसको जति प्रशंसा गरे पनि कम हुन्छ । राष्ट्रिय पार्टीका रूपमा ‘राजपा, नेपाल’ले भविष्यमा के कस्तो योगदान गर्ने हो, त्यो हेर्न बाँकी नै छ तैपनि प्रारम्भमै यसले शुभलक्षण देखाएकामा शङ्का छैन ।
जहाँसम्म मधेशका समस्या, बेथिति, उत्पीडन र पछौटेपनका मुद्दा छन्, तिनको समाधानका लागि जोकोहीले आवाज उठाउन सक्छन् भने पहिलेदेखि मधेशका स्वर मुखरित गर्दै आएका दल मिलेर बनेको राजपाले यसलाई आधारशिला मान्नु स्वाभाविक हो । स्थानीय तहको निर्वाचन पछि मधेशमा बढ्दो जनलहरकै कारण अहिले मधेशी दलहरू बलियो रूपमा प्रस्तुत हुन सकेका हुन । आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक तथा केन्द्रीय (सङ्घीय) निर्वाचन सम्पन्न भइसक्नुपर्ने अवस्थालाई सम्बद्ध सबैले मूल केन्द्रबिन्दुमा राखी राष्ट्रिय हितका निम्ति व्यक्तिगत, गुटगत तथा दलगत स्वार्थलाई तिलाञ्जलि दिने प्रण गर्नुपर्छ । नेपालको राजनीतिमा ढिलै भए पनि अन्ततोगत्वा निर्णय गरेरै छाड्ने दलीय प्रवृत्ति भएकाले यसपालि पनि त्यस्तै केही भई तोकिएको मितिमै सबै निर्वाचन सम्पन्न हुने जनआशा छ । मधेशसँग बारम्बार ठूला दलहरूले धोकाको राजनीति गर्दै आएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरूले मधेशी दलहरूसँग सम्झौता गरेर धोका दिँदै आएका छन् । मधेशलाई समेट्न नसकेको नेपाली राजनीतिको दिशाहीन गतिशीलता भोली कुन दिशातिर मोडिने हो, त्यसको आँकलन कल्पनाभन्दा बाहिर छ । मधेशसँग चर्काइएको अन्तरविरोधले मधेशको राजनीति कुन दिशातिर अग्रसर हुन्छ, यसको पनि ठोकुवा राजनीतिक ज्योतिषीहरूले गर्न सक्दैन ।


प्रकाशित मिति : २०७४ साल कार्तिक २४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com