गौरवान्वित हुने वातावरण सिर्जना गर्छु : मनिष सुमन , महासचिव, राजपा नेपाल

सप्तरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (२) का उम्मेदवार

० संघीय समाजवादी फोरमसँग गठबन्धन गरेर निर्वाचनमा जाँदा र एक्लै जाँदाको परिणाममा कस्तो फरक होला भन्ने अनुमान लगाउनु भएको छ ?
— मधेशी, जनजाती, आदिवासी जनताको इच्छा र आकाक्षां यो देशमा उनीहरूको माग पूरा होस् र त्यसका लागि मधेशवादी सबै दल जुटुन भन्ने हो । मधेसी दल एक जुट नभएसम्म मधेशी, जनजाती, आदिवासी जनताको माग पूरा गर्ने अवस्था थिएन । त्यसका लागि एकजुट हुने संघर्षमा हामी राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावमा तालमेल गर्ने निर्णय गरेका छौँ । मधेशका ७६ वटा निर्वाचन क्षेत्रमध्ये अन्यमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने अथवा निर्वाचन नजिकिँदै गर्दा जसले जित्ने जस्तो देखिन्छ त्यसैलाई समर्थन गर्ने निर्णय गरेका छौँ । ३२ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र ६४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा हामीले साझा उम्मेदवारको नामावली तयार गरेका छौं । यो मधेशी जनताको जनादेश र मतादेश वर्षौंदेखिको उच्च इच्छा आकांक्षाको प्रतिफल हो । आज मधेशमा मधेशवादी भनेर स्थापित भएका फोरम नेपाल र राजपा नेपालबीच साझा तालमेल भएको छ र यसले गर्दा मधेशका जनता अत्याधिक उत्साहित भएका छन् । हामीले तालमेल गरेका करिब करिब सबै सिटमा हामी विजयउन्मुख छौं । मधेशभरी खुसी र उत्साहको माहोल छ ।


० निर्र्वाचित भएर गएपछि नेताहरू आफनो क्षेत्रमा जाँदैनन् भन्ने मतदाताहरूले आरोप लगाउने गरेका छन् । यस्तो किसिमका आरोप अबका सांसद वा प्रदेशसभा सदस्यले खेप्नु नपरोस् भनेर उम्मेदवारहरूले कसरी मत माग्नुपर्ला ?
— निर्वाचित भएर आफ्नो क्षेत्रमा फर्केर नआउनेहरूलाई जनताले दण्डित गरेका उदाहरण पनि छ । जनप्रतिनिधि भनेको जनताकोबीचमा हुनुपर्छ । निर्वाचित भएर काठमाडौं वा प्रदेशको प्रमुख ठाउँमा गए पनि आखिर हामीले विकासकै कार्य गर्ने हो। यही क्षेत्रका कामहरू गर्ने हो । आफ्नो क्षेत्रको सांस्कृतिक पहिचान, बाटोघाटो, त्यस क्षेत्रको शिक्षा। त्यहाँको समुन्नत विकासको लागि नै कार्यहरू गर्ने हो । जसरी पनि जनतासँग सम्पर्कमा रहेर जनप्रतिनिधिले कार्यहरू गर्ने हो ।


० जनतासँग सम्बन्ध जोड्ने काम विकासले नै गर्ने हो नि त्यसमा के भन्नुहुन्छ ?
— हामी मधेशमा जन्मेका व्यक्ति हौं र यहाँकै मायाले राजनीतिमा आएका छौं । विजय भए पनि, पराजय भए पनि हामी यही बस्छौं र सकेसम्म विकास र समृद्धिमा नै ध्यान दिन्छौं ।


० विगतमा विजयी भएर गएका प्रतिनिधिहरूभन्दा तपाईले के फरक काम गर्न सक्नुहुन्छ यो क्षेत्रमा विजयी हुनुभयो भने ?
— यो निर्वाचन क्षेत्र धेरै पहिलेदेखि पिछिडिएको क्षेत्र हो । यसलाई पछिल्ला दिनहरूमा पनि हेपिँदै आइएको छ । विगतमा निर्वाचित भएर गएका जनप्रतिनिधिहरूले बेइमानी गरे । मेरो निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिका देशकै सबैभन्दा सुसंगठित नगरपालिका मध्ये पर्दथ्यो । तर विगतमा जनप्रतिनिधिहरूले नगरपालिकाको विकासमा ध्यान दिएन । राजविराजमा अञ्चल अस्पताल छ तर त्यहाँ बिरामीको उपचार हुँदैन  । यो अस्पताल रिर्फरल अस्पतालको रूपमा परिणत भएको छ । विद्यालयहरू छन् तर पढाई हुन्न, सडकको हालत त्यस्तै छ यो सबै समस्याहरूमा हामीले ध्यान दिने हो र आफ्नो निर्वाचन क्षेत्रको समुन्नत विकासमा लाग्ने हो । बाटाघाटा, पर्यटन, सांस्कृतिक विकासमा ध्यान दिने हो । यहाँका जनताले भोलिका दिनमा गर्व गरेर भन्न पाओस् म राजविराजको बासिन्दा हुँ भनेर  ।


० राजविराज नेपालकै सबैभन्दा पुरानो नगरपालिका मध्येको एक हो । तर, त्यतिबेला गाउँपालिका भएका नगरपालिका भइसक्यो भने त्यतिबेलाका नगरपालिका अहिले महानगरपालिका भइसकेको छ ? विगतका सांसदहरूको के कमजोरी रह्यो राजविराज पछाडि पर्नुमा ?
— पहिले निर्वाचित भएका प्रतिनिधिहरूको राष्ट्रिय स्तरमा पहुँच नहुनु प्रमुख समस्या रह्यो । कुनै दल विशेषका सामान्यभन्दा सामान्य व्यक्ति निर्वाचित भए जसको आफ्नै दलमा पहुँच थिएन । यसपटकको निर्वाचनमा यहाँबाट उम्मेदवारी दिनु भएका उपेन्द्र यादवजी राष्ट्रिय स्तरका नेता हुनुहुन्छ र मेरो पनि राष्ट्रिय स्तरमा अलिकति पहुँच र पहिचान छ । यो सबैको प्रयोग गरेर राजविराजको विकासमा हामी एक भएर लाग्ने छौं । मधेशभरीको ध्यान मेरो निर्वाचन क्षेत्रमा परेको छ । निर्वाचनमा यहाँबाट राष्ट्रिय स्तरका नेता निर्वाचित भएर गएपछि राष्ट्रको ध्यान यहाँ पर्छ । त्यसपछि हिजो हुन नसकेका कार्यहरू अबका दिनमा हुनेछन् ।


० राजविराजका बासिन्दासँग के प्रतिबद्धता गर्नुहुन्छ ?
— राजविराज नगरपालिका यो देशकै एक ऐतिहासिक नगरपालिका हो । राजविराजका र सम्पूर्ण प्रदेश नम्बर २ का जनताले भोलिका दिनमा म प्रदेश नम्बर २ को व्यक्ति हूँ भन्दा गौरवान्वित हुने वातावरण म सिर्जना गर्नेछु । म यहाँका बाटाघाटाहरूलाई सुव्यवस्थित गर्नेछु । म निर्वाचित भएपछि यहाँको पर्यटकीय विकासमा ध्यान दिनेछु, शिक्षामा सुधार ल्याउनेछु, सडकको अवस्थामा सुधार ल्याउनेछु, उद्योग कलकारखानाको निर्माण गर्नेछु र रोजगारीको लागि अन्य क्षेत्रमा जानुपर्ने समस्या समाधान गर्न लाग्नेछु ।


० सप्तरीमा अन्य क्षेत्रमा भन्दा बढी बागी उम्मेदवारी दिएका छन् नि ?
— हामीले यसलाई स्वभाविक रूपमा लिने गरेका छौं । पार्टीले कुनै एक जनालाई मात्र उम्मेदवार बनाउन सक्छ तर उम्मेदवारीका आकांक्षीहरू धेरै हुन्छन् । टिकट नपाएका आकांक्षीहरू रिसाउने र आफ्नै पार्र्टीको आधिकारिक उम्मेदवारको विरोध बागी उम्मेदवारी दिने काम विगतमा पनि नभएका होईनन् । त्यसैले यो कुनै नौलो कुरा होइन । बागी उम्मेदवारी दिनेहरूमध्ये धेरैले फिर्ता लिई सकेका छन् । तर केही अझै पनि म त जितिहाल्छु नि, नजिते पनि मेरो आफ्नो पार्टी छँदैछ भनेर बसेका पनि छन् । दलीय व्यवस्थामा दलमा आधारित उम्मेदवार हुन्छन् । मतदाताले पनि व्यक्तिलाई भन्दा दललाई चिनेको हुन्छ । मनिष सुमन एउटा व्यक्ति हो र त्यस कारणले मात्र जनताले भोट हाल्दैनन् । उनी राष्ट्रिय जनता पार्टीको उम्मेदवार पनि हो त्यसैले जनताले आन्दोलनबाट आएको पार्टीलाई मत दिन्छन् त्यस्तो अवस्थामा त्यस्ता बागीहरू मेटिएर जानेछन् ।


० राजपा नेपालका नेतृत्वले सबैलाई मिलाएर लैजान किन सकेनन् र यस्तो समस्या प¥यो ?
— पार्टीको तर्फबाट कुनै त्रृटि भएको भए म स्वीकार गर्छु । व्यक्ति विशेषको नाम म लिन चाहन्न । आफैंले निर्वाचन आयोगलाई म राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा रहन चाहन्छु भनेर आवेदन दिने, समानुपातिक सूचीमा बस्ने अनि फेरि असन्तुष्ट पोख्ने र म प्रत्यक्ष नै लड्न चाहन्छु भनेर नयाँ नयाँ इच्छा व्यक्त गर्ने प्रवृति पनि देखिएको छ । यस्तो इच्छा र आकांक्षा धेरै भएकाहरूसँग पार्टीले केही भन्ने छैन् । उनीहरूलाई निर्वाचनमार्फत सिध्याउनु नै हाम्रो दायित्व हो ।


० पार्टीभित्र देखिएको असन्तुष्ट पक्षलाई कसरी मिलाएर लैजानुहुन्छ ?
— हामीले ती सबै बागीहरूलाई अनुरोध गरेका थियौं कि तपाईंहरू निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता लिनोस् । तर उहाँहरू लिनुभएन । उहाँहरूलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासित गरिएको छ ।


० तपाई यो क्षेत्रबाट जित्नुभयो भने के के अधिकार तपाईको हातमा हुनेछ ?
— त्यो सबै निर्णय अहिले भइ सकेको छैन् । नेपालको संविधान हामीसँग सोधेर, सल्लाह गरेर ल्याइएको होईन हामीलाई बोल्न नदिएर जबरजस्ती संविधान ल्याइएको हो । यो संविधान संशोधन गरेर मधेशमैत्री बनाउनका लागि हामीले सडक र सदन संघर्ष सबै गरेका छौं । निर्वाचनलाई पनि हामीले आन्दोलन कै रूपमा लिएका छौं । अधिकार सम्पन्न जनप्रतिनिधि बनाइनु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ ।


० तपाईलाई राजविराज र महादेवाबासीले मतदान किन गर्ने ?
— यो क्षेत्रको समग्र विकासको लागि । म यहाँको स्थानीय हुँ र यो क्षेत्रको विकासको लागि सकेसम्म राम्रो काम गर्न सक्छु । मैले हिजो पनि मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको थिएँ र विश्वास छ, जनताले त्यसको मूल्यांकन गर्नेछ । यस्तो जनप्रतिनिधि जसले यो क्षेत्रको विकासका लागि इमान्दारीताका साथ लड्न सक्छ । देश र दुनियाँमा हाम्रा पुर्खाहरूले स्थापित गरेका मूल्य र मान्यताको संरक्षण र सम्बद्र्धन गर्नका लागि समग्र विकास, उन्नति, संविधान संशोधन, मधेश मैत्री संविधानका लागि आदिवासी, जनजाति मधेशी समूदायले समतामूलक समाज निर्माणका लागि मलाई मतदान गर्नुपर्छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल कार्तिक २४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com