लोकतन्त्र मास्न र स्वतन्त्रता छिन्न कम्युनिष्ट एक ठाउँमा : कांग्रेस नेता रिजाल

वीरगञ्ज, २८ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पर्सा क्षेत्र नं.४ का प्रतिनिधि सभाका उमेद्वार रमेश रिजालले लोकतन्त्र र संविधानमाथि कम्युनिष्ट आक्रमणको खतरा बढेकोले त्यसलाई परास्त गर्न सबै लोकतन्त्रवादीहरु एक ठाउँमा उभिन पर्ने बताएका छन् ।

नेता रिजालले नेपाली काँग्रेसको प्रदेश स्तरीय मिडिया सेन्टरको मंगलबार बीरगञ्जमा उद्घाटन गर्दै सो कुरा बताए । प्रदेश २ को ३ जिल्ला पर्सा, बारा र रौतहट कार्यक्षेत्र रहेको मिडिया सेन्टरले यस क्षेत्रका नेपाली काँग्रेसका गतिविधिलाई आमसञ्चार माध्यममार्फत जनमानसमा लिएर जानेछ ।

नेता रिजालले लोकतन्त्रमा मात्र सबैका विचारले स्थान पाउने उल्लेख गर्दैे मिडियाले पनि लोकतन्त्रमा मात्र सही अभ्यास गर्न पाउने बताए । उनले सबै मिडिया तथा मिडियाकर्मीलाई पनि लोकतन्त्र माथि आइलागेको खतरालाई चिर्नेतर्फ काम गर्न आग्रह गरे ।

नेपाली काँग्रेसका तर्फबाट पर्सा ३ ख का प्रदेश सभाका उमेद्वार जनार्दन क्षेत्रीले साम्यवाद लाद्ने खतरनाक एजेण्डा लिएर कम्युनिष्ट गठवन्धन लागेको बताए । उनले सबैले बाँच्न पाउने अधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्र रक्षाका लागि काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठवन्धनलाई देशभर जिताउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पहिचानको मुद्धा र मधेशको सम्मानको लागि काँग्रेसले जित्नुपर्ने जिकीर गरे ।

नेपाली काँग्रेस केन्द्रीय चुनाव परिचालन समितिका सदस्य शोभाकर पराजुलीले संविधान बन्न नपाउँदै संविधान च्यात्ने र नागरिक अधिकार कुण्ठित गर्न वाम गठवन्धनका नाममा एक भएका कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार उपसमितिका सदस्य तथा प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले लोकतन्त्रमाथि नै कम्युनिष्ट अधिनायक लाद्ने खतरा रहेको बेलामा सबै स्वतन्त्रताप्रेमीहरु एक भएर लोकतन्त्रको रक्षामा जुट्नुपर्ने उल्लेख गर्दै स्वतन्त्रता र वहुलवादको पक्षमा रहेको काँग्रेसको पक्षमा माहौल बनाउन पत्रकारहरुसंग आग्रह गरेका थिए ।

वीरगञ्जका पत्रकार अशोक तिवारीको नेतृत्वमा ७ सदस्यीय मिडिया सेन्टर गठन भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com