निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं, २० मंसिर । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने दोस्रो चरणमा ४५ जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बताएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, भोलि हुने निर्वाचनलाई सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरू मतदान कार्य सम्पन्न गर्नका लागि खटाइसकी सबै मतदान केन्द्रमा पुगिसकेको यादवले पत्रकार सम्मेलनमा बताए ।

दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि जम्मा ५ हजार ८३८ जना निर्वाचनको प्रतिस्पर्धामा छन् । भोलिको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन गरेको जनाएको छ ।

साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ ।

भोलि बिहीबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गनेृ मतदाताले मात्रै मतदान गर्न पाउनेछन् । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने व्यहोरासमेत स्मरण गराएका छन् ।

साथै, सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन निर्वाचन आयोगले अपिल गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com