मधेशको अबको बाटो (सम्पादकीय)

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनाव सफलतापूर्र्वक सम्पन्न भएको छ । जनताले चुनेका प्रतिनिधिले दुई वर्षअघि जारी गरेको संविधान कार्यान्वयनका क्रममा विभिन्न आन्तरिक र बाह्य चुनौती देखा परे पनि अब यी दुई चरणका संघ प्रदेश चुनावमार्फत पूर्ण प्रयोगमा जाँदैछ । संविधान कार्यान्वयनका रूपमा भएको यो चुनाव अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनताले दिएको अभिमतको अनुमोदन पनि हो ।


दोस्रो चरणको निर्वाचनमा मधेशमा आम मानिसमा चुनावप्रति अपेक्षा र आकर्षण देखिएको छ । मतदान सकिएपछि मतगणना प्रारम्भ हुने भएकाले आम जनता मतपरिणाम जान्ने उत्सुकता र व्यग्र प्रतीक्षामा छन् । मतपेटिकमा मतपत्र बन्द भएपछि अनुमानित जितहारको चर्चा पनि सुरू भएको छ । चुनावी माहौल राम्रो देखिँदा हौसिने र पछि माहौल आफ्नो पक्षमा नरहेको थाहा पाएपछि आत्तिने मधेशी नेताहरू जनताको अभिमतलाई सहर्ष स्वीकार गर्नुपर्छ ।
लोकतान्त्रिक विधिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि एउटाको हार र अर्को जित हुनु स्वाभाविक प्रक्रिया हो । पराजित हुने दल वा उम्मेदवारले पनि त्यसलाई सहज रूपमा लिने चरित्रको विकास हुनुपर्छ । चुनाव गतिशील लोकतन्त्रको ब्यारोमिटर हो । त्यसैले चुनावमा सक्रिय सहभागिता र स्वस्थ प्रतिस्पर्धाले मात्रै लोकतन्त्र समृद्ध हुन्छ । एउटाले हारे लोकतन्त्र जित्ने र अर्कोले हारे लोकतन्त्र हार्ने भन्ने हुँदैन । व्यक्तिले हारे अर्को चुनावमा जित्न मिल्छ । पार्टीले हारे पनि अर्को चुनावसम्म जनमत आफ्नो पक्षमा ल्याउन समय मिल्छ ।


स्थानीय तहको तेस्रो चरणको निर्वाचनसम्म पनि मधेशी दलले चुनावमा भाग लिन्छन्, लिंदैनन् भन्ने शंका थियो । अन्ततः संविधान निर्माणमै असहमत उनीहरू निर्वाचनमा सहभागी भए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा असन्तुष्ट दलले भाग लिनुको अर्थ संविधानको स्वीकारोक्ति नै हो । यसलाई संविधान जारी गर्दा नेतृत्व गरेका कांग्रेस, एमालेलगायतका दलहरूले सकारात्मक रूपमा लिनुपर्ने जरूरी छ । लोकतन्त्र पक्षधर पार्टीले आफ्नो हारजितभन्दा निर्वाचन विरोधी शक्तिले पनि चुनावमा भाग लिएकोमा त्यसलाई साकार पार्ने तर्फ लाग्नु पर्ने जरूरी छ ।


यो सही हो ६ मधेशी दलहरू एकीकृत भएर बनेको राजपाको आगमनपछि मधेशको मुद्दा सबल बनेको छ । किनभने राजपाको गठन पछि ठूला दलहरूले पनि संविधान संशोधनको विषयलाई महत्व दिन थालेको छ । संविधान संशोधनमा अडकिएको राजनीति यसको सुरक्षित अवतरण नभएसम्म यो मुद्दा जिवितै रहन्छ । मधेशी दलहरू सबै प्रकारको चुनावमा भाग लिदैमा संविधानको दायर बढेको र यसको पूर्ण स्वीकारोक्ति भएको भ्रममा ठूला दल बस्नु हुँदैन । यसर्थ, अब मधेशी दलहरू खासगरी राजपा र संघीय फोरमले आफ्नो मुद्दालाई बचाइ राख्न सरकारसँग सम्झौतापरस्त नभइ बुँदागत रूपमा छलफललाई केन्द्रित गरी अगाडि बढाउनु पर्छ तर, यसको अर्थ मधेशको सामाजिक विषयलाई तिलाञ्जली दिनु होइन ।


यो निर्वाचनबाट आएको मतादेशलाई पनि अवसरको रूपमा सदुपयोग गर्दै मधेशको आर्थिक–सामाजिक पक्ष तर्फ पनि उनीहरू केन्द्रित हुनु पर्छ । मधेशको नाममा राजनीति त गरिन्छ तर मधेशको विकासमा ध्यान कसैको गएको छैन । मुलुक संघीयतामा गइसकेको छ भने स्थानीय तहको संरचना पनि बनिसकेको छ । प्रतिनिधि र प्रदेशसभाको लागि पनि मधेशी जनताले मत खसाली सकेका छन् । चुनावमा भोट माग्न आ–आफ्नो क्षेत्रमा पुगेका सबै उम्मेदवारहरूले अबको दिनमा आफ्नो क्षेत्रको विकासमा गर्ने कसम खाएका छन् । मतदातालाई आश्वासनभन्दा पनि परिणाम चाहिएको छ । मधेशी जनतालाई आन्दोलनका लागि मात्र प्रयोग गर्दै आएका मधेशी दलहरूले अबका दिनमा निर्वाचनमा भोट लिनको लागि मात्र प्रयोग नगरी विकासको एजेन्डालाई प्राथमिकतमा राख्नुपर्छ ।
त्यसैले अबको निर्वाचनबाट मधेशबाट निर्वाचित हुने नेतृत्वले आफूलाई विकासको अजेन्डामा केन्द्रित गर्नुपर्छ ।


प्रकाशित मिति  : २०७४ साल मंसिर २२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com