फोरम र राजपालाई सरकार बनाउन जनताले म्यान्डेट दिए : मो.लालबाबु राउत

प्रदेशसभा सदस्य, संघीय समाजवादी फोरम नेपाल

० तपाईंलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीका रूपमा हेरिँदैछ । के भन्नुहुन्छ ?
— यो पार्टीले निर्णय गर्ने कुरा हो । म पार्टीमा सिनियर भएको नाताले अनुमान लगाउनुलाई अन्यथा भन्न मिल्दैन । तर, अहिले नै केही भन्न मिल्दैन । यो विषयमा पार्टीले निर्णय गर्नेछ । त्यसैले पार्टीको निर्णयबिना मेरो नाम चर्चामा ल्याउनु त्यति उपयुक्त छैन । पार्टीले जिम्मेवारी तोक्नेछ । प्रदेश नम्बर २ मा अध्यक्षबाहेक सिनियर नेतामा म पर्ने भएकाले साथीहरूले यस किसिमको अनुमान गरेका होलान् ।


० तपाईं पहिला सांसद् भइसक्नुभएको छ । अब प्रदेशमा राजनीति गर्नुपर्ने हुन्छ । पहिलाको अनुभवले कतिको काम गर्नेछ ?
— पार्टीले दिने जिम्मेवारीलाई निर्वाह गर्नुपर्छ । पार्टीको विधान, नीति र सिद्धान्तभन्दा बाहिर गएर कुरा गर्दैनौं । त्यसैले पार्टीले आवश्यकताअनुसार जिम्मेवारी दिन्छ । म सांसदीय दलको उपनेता पनि थिएँ । साथै, अहिलेसम्मका वार्ता टोलीहरूमा पनि बसिसकेको छु । म पार्टीले दिने जिम्मेवारीका लागि तयार छु ।


० फोरम नेपालले चुनावमा ल्याएको परिणामबाट सन्तुष्ट हुनुहुन्छ ?
— परिणाम राम्रो आएको छ । विशेषगरी प्रदेश नम्बर २ र ५ मा हाम्रो पार्टीले राम्रो नतिजा ल्याएको छ । चुनावका लागि हामीले केही पहिलेदेखि तयारी गरेको भए शायद यो भन्दा राम्रो नतिजा पनि आउन सक्थ्यो । एक–ठाउँमा हामी पछि प¥यो । त्यसमा आफ्नै नेताको कमिकमजोरीका कारण यस्तो भयो । ती ठाउँहरूमा अझै मिहिनेत हुन सकेको भए हामी अझ् धरै राम्रो गर्न सक्थयौं होला । केही ठाउँमा स्थानीयस्तरमा नेताहरूसँग तालमेल हुन नसक्दा त्रुटिहरू भएका छन् । त्यसैले हामी त्रुटिहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्छ । चुनावको हामी समीक्षा गर्छौं । हामीले पहिलेदेखि नै अभ्यास गरेको भए यो भन्दा राम्रो परिणाम आउने थियो । तथापि हामीले जनताबाट अत्यधिक मत पाएका छौं । हामीले जनताप्रति आभार व्यक्त गर्नैपर्छ । हामी परिणामबाट सन्तुष्ट छौं ।


० तपाईंहरू राजपासँग गठबन्धन बनाएर चुनाव लड्नुभएको थियो । गठबन्धनलाई एकीकरणमा बदल्नका लागि चुनावको नतिजाको मुख्य भूमिका हुने भनिएको थियो । अहिले आएको नतिजाले दुवै दललाई एकीकृत पार्छ ?
— हामीले गठबन्धनभन्दा पनि सिटमा तालमेल गरेर अगाडि बढेका थियौं । राजपासँग हाम्रो सिटको बाँडफाँड मात्रै हो । फोरम नेपाल एकताको विरोधी होइन । राजपा ६ दल मिलेर बन्यो । अहिले फोरममा दर्जनभन्दा बढी पार्टी समाहित भएका छन् । आउने दिनमा यदि वातावरण बन्छ भने फोरम नेपाल एकीकरणका लागि पनि तयार रहेको छ ।


० प्रदेश नम्बर २ मा तपाईंहरूले सरकार कसरी निर्माण गर्नुहुन्छ ?
— फोरम नेपाल र राजपालाई एक भएर सरकार निर्माण गर्ने म्यान्डेट जनताले दिएका छन् । दुई नम्बर प्रदेशको नेतृत्व लिने जिम्मा जनताले दिएका छन् । जनताको आकांक्षाअनुसार अगाडि बढ्नु नै हाम्रो प्रमुख दायित्व हुनेछ ।


० प्रदेश नम्बर २ का मुख्य एजेण्डा के छ, जुन तपाईंहरूको नेतृत्वमा सरकार बनेपछि पूरा गर्नुहुन्छ ?
— मधेशी जनताको मुख्य एजेण्डा पहिचान, अधिकार र विकासका कुरा नै हुन् । यसका लागि संविधान संशोधनलगायतका विषयहरू छन् । संविधान संशोधनका लागि हामी प्रतिबद्ध भएर लाग्ने छौं । साथै, शासन व्यवस्था विकासका लागि हुन्छ । विकासका लागि पनि जनतासँग हातेमालो गरेर अगाडि बढ्छौं । दुई नम्बर प्रदेश राज्यको दृष्टिबाट उपेक्षित रहेको छ । त्यसैले यो प्रदेशको विकास गर्नु अति आवश्यक छ । जनताको शासन रहेको हामीले प्रत्याभूति दिलाउने छौं ।


० दुई नम्बर प्रदेशलाई कसरी समृद्ध बनाउनुहुन्छ ?
— दुनियाको इतिहास हेर्ने हो भने केही नभएको मुलुक अहिले कहाँबाट कहाँ पुगिसकेको छ । सिंगापुर, मलेसियालगायत मुलुक पहिले कहाँ थियो, अहिले कहाँ पुगिसक्यो । मरूभूमिका रहेका मुलुकहरू अहिले सम्पन्न मुलुकमा परिणत भइसकेका छन् । विगतमा ती मुलुकको जस्तो अवस्था थियो, त्योभन्दा धेरै समृद्ध नेपाल छ । विकासका लागि शान्ति र स्थिरता चाहिन्छ । हाम्रो दृढ इच्छा भयो भने विकास गर्नु ठूलो कुरा होइन । प्रदेश नम्बर २ को कुरा गर्ने हो भने यो प्रदेश हरेक हिसाबले समृद्ध छ । समृद्धिका स्रोतलाई संरक्षण र सम्बद्र्धन गर्दै अगाडि बढ्नुपर्छ ।


० तपाईंहरूले बुलेटको जवाफ ब्यालेटले दिने भनेर भन्दै आउनुभएको छ । हालै सम्पन्न चुनावबाट त्यस्तो किसिमको जवाफ दिनुभयो त ?
— हामीले राम्रो म्याण्डेट पाएका छौं । यो परिणामले हामीलाई उत्साहित बनाएको छ । निश्चित रूपमा हामीले राम्रो मत पाएका छौं । कसैको पछि लागेर र कसैको विरूद्ध लागेर समृद्धि हुन सकिँदैन । मुलुकमा शान्ति र स्थिरता दिएर मुलुकको विकासतर्फ लाग्नुपर्छ । उत्पीडित समुदायका माग सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ ।


० केन्द्रमा वामगठबन्धनसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था आयो भने के गर्नुहुन्छ ?
— राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु हुँदैनन् । हुन त वामगठबन्धको आफैं बहुमत पुगिरहेको छ । तर, त्यस्तो किसिमको आवश्यकता भयो भने हामी मिलेर पनि अगाडि बढ्न सक्छौं । नेपालमा कुन वाम हो, कुन लोकतान्त्रिक शक्ति बुझ्न गाह्रो भइरहेको छ । नेपाली कांग्रेसभन्दा एमाले र माओवादी कुन हिसाबले अलग छ ? घोषणापत्रमा जे भए पनि उनीहरूले व्यवहार एउटै छन् । यी पार्टीहरूको नाम मात्र फरक छ । कैयौं दरिद्र मुलुकहरू कहाँदेखि कहाँ पुुगिसके । तर, वर्षोदेखि शासन गर्दै आएका कांगे्रस र कम्युनिष्टहरूले यो देशलाई के दिए ? यसमा यी दलको नीति र नेतृत्वकै दोष हो । नेपालको विकास हुन नसक्नुमा ठूला दलहरू नै बढी दोषी छन् ।


० नेपाली कांग्रेसले अहिलेको चुनावबाट ल्याएको परिणामबाट नेपालका दलहरूले के पाठ सिक्नुपर्ने रहेछ ?
— दोहोरो नीतिका कारण नेपाली कांग्रेसको यस्तो हविगत भएको हो । हामीसँग एउटा कुरा गर्ने र व्यवहारमा अर्को कुरा गर्ने काम कांग्रेसले गर्दै आएको छ । संविधान संशोधनका विषयमा पनि नेपाली कांग्रेसले दोहोरो चरित्र देखाउँदै आएको छ । नेपाली कांग्रेसको स्पष्ट नीति नै भएन । मधेशमा आउँदा मधेशको कुरा गर्ने पहाडमा पहाडको भाषा बोल्ने काम नेपाली कांग्रेसले गर्दै आएको छ । नेपाली कांग्रेस स्पष्ट विचार नभएको पार्टी हो । मुलुकमा भ्रष्टाचार, अनियमितता, बेरोजगारी, गरिबी र पछ्यौटेपना व्याप्त छ । यी समस्यालाई कसरी निवारण गर्ने त्यसतिर नेपाली कांग्रेसले स्पष्ट नीति नै लिन सकेन ।


० यसपटक केही दिग्गज नेताहरू पनि पराजित भएका छन् । यस्तो परिणाम किन आएको होला ?
— नेपालमा २०४६ पछिको कुरा गर्ने हो भने नेपाली कांग्रेसले बढी शासन गरेको छ । उसको सहयोगीका रूपमा एमालेले पनि पटकपटक नेतृत्व लिइसकेको छ । अहिलेको मुलुक कुन ठाउँमा पुगेको छ ? मुलुकको कुल ग्राहस्थ उत्पादन के छ, बेरोजगारीको अवस्था के छ, गरिबी के छ, मानव सूचकांकमा नेपाल कहाँ पुग्योलगायतमा यी दलहरूको दोष छ । दोष कसलाई दिने ? सधैँ उपेक्षित रहेका समुदायलाई दोष दिने ?


० प्रदेशहरू कत्तिको अधिकार सम्पन्न छन् ?
— म मस्यौदा समितिको सदस्य पनि भइसकेको छु । प्रदेशलाई पंगु बनाउने काम भएको छ । प्रदेश र स्थानीय तहलाई समानान्तर अधिकार दिएर प्रदेशलाई पंगु बनाउने काम भएको छ । अधिकारहरू एकअर्कासँग बाझिएका छन् । समग्रभन्दा अहिले प्रदेशलाई आवश्यक अधिकार दिइएको छैन । तर, अब प्रदेशले आफैं खोसेर केन्द्रसँग अधिकार लिन्छ । विस्तारै प्रदेश अधिकार सम्पन्न हुँदै जानेछन् ।


० प्रदेश नम्बर २ को राजधानी र नामका विषयमा पनि चर्चा चल्न थालेको छ । के छ भन्नुहुन्छ ?
— दुई नम्बर प्रदेशमा वीरगञ्ज मात्र महानगर छ । भौतिक पूर्वाधारका हिसाबले पनि वीरगञ्ज अगाडि छ । त्यसकारण राजधानीका लागि वीरगञ्ज बढी उपयुक्त हुन्छ । केही ठूला नेताहरू नै जनकपुरलाई राजधानी बनाउन लागिपरेका छन् । अब यसको अन्तिम निर्णय त प्रदेशसभाले नै गर्नेछ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल मंसिर २९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com