मधेशको चिसोमा राजनीति नगर (सम्पादकीय)

मधेशमा शीतलहरको प्रकोप सुरू भएको छ । चिसोले मधेशको जनजीवन प्रभावित भएको छ । लगाउने र ओढ्ने ओछ्याउने लुगाको अभावमा चिसोकै कारण कुनै मधेशीको मृत्यु हुनु दुःखदायी विषय हो । शीतलहरको प्रकोपबाट नागरिकको जीउको सुरक्षा गर्नु राज्यको दायित्व हो । सरकार यस्तो गम्भीर मानवीय सवालमा उदासीन बन्न मिल्दैन । सरकारले अबिलम्ब चिसोले कठाङग्रिएर जीवन गुमाउनेको पीडा महशुस गरी राहत उपलब्ध गराउनुपर्छ । सिंहदरबार नागरिकको दुःख कष्टप्रति गैरजिम्मेवार हुन मिल्दैन ।


सरकारलाई मधेशमा शीतलहरले उत्पन्न गरेको मानवीय पीडा र क्षतिले अझै छुन सकेको छैन । मधेशका नागरिकप्रति सरकार संवेदनशील बनिदिएको छनक कहिले पनि देखिदैन ।
अझ प्रकोप व्यवस्थापनको जिम्मेवारी बोकेको गृह मन्त्रालय बेखबर जस्तो देखिन्छ । मधेश र मधेशी नागरिकको अधिकारको पक्षमा बोल्ने मधेशी दल पनि चुनाव जितेर उन्मादमा छ, उनीहरूलाई पनि मधेशीजनले भोगिरहेको पीडाको अनुभव भइरहेको छैन ।


सामान्य ओढ्ने ओछ्याउनेको अभावका कारण ज्यान जोखिममा परेका नागरिकलाई तत्काल राहत पु¥याउनु आवश्यक छ । मधेशमा वर्षेनी शीतलहर चल्छ र सयौं मानिसले ज्यान गुमाउने गर्छन् । आखिर चिसोले चेप्ने भनेकै गरिब, असहाय, बालबालिका तथा बृद्धबृद्धालाई हो । आर्थिक र शारिरीक हिसाबले कमजोरलाई नै चिसोले सताउँछ । चिसोकै कारण विरामी हुने र बिरामीको मृत्यु हुने अवस्था आउँछ । यो संवदनशील समस्याप्रति उदासीन हुनु भनेको ठूलो जनसंख्यालाई उपेक्षा गर्नु हो । शीतलहरबाट थप क्षति हुन नदिन सरकारले उपयुक्त नीति बनाएर अविलम्ब कार्यान्वयन गर्नु पर्दछ ।


मुलुकमा आवाजहीन जनताको आवाज सुन्ने र सीमान्त गरिब जनतालाई राहत उपलब्ध गराउने प्रकृतिको जवाफदेही सरकार र जनताको दुःख–दर्दलाई अनुभूत गरेर त्यसलाई सम्बोधन गर्न पहल गर्ने जनउत्तरदायी राजनीतिक दलहरूको अभाव रहेकाले पीडादायी यस्ता खबरहरू नियमित आकस्मिकताकै रूपमा आउने गरेका छन् । हरेक वर्ष जाडोको मौसममा यो क्रम दोहोरिने गरे पनि सरकार र सम्बद्ध क्षेत्रका कथित जनप्रतिनिधिहरूले जाडोले कठ्यांग्रिएर मर्नुपर्ने नियति टार्न कुनै चासो राखेको देखिंदैन ।


मधेशलाई आधारभूमि बनाएर राजनीति गर्ने दलहरूका नेताहरूले क्षेत्रीय नारा लगाएर अत्यधिक अधिकार उपभोगको लालशा राख्दै आएका भए पनि उनीहरूलाई मधेश दुःख्ने गरेको छैन । शीतलहरको पीडा भोगिरहेका आवाजहीन जनताको समस्या मधेशी नेताहरूको चासोको विषय नै होइन । त्यसैले कुनै पनि मधेशी नेताले अहिलेसम्म यो विषयमा बोलेको सुनिएको छैन ।


प्रकाशित मिति : २०७४ साल पुस ७ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com