मधेशी जनताको चाहना मतबाट अभिव्यक्त भएको छ : प्रा.डा.लोकराज बराल

राजनीतिक विश्लेषक

० प्रतिनिधिसभा र प्रदेशसभाको चुनावबाट आएको परिणामलाई कुन रूपमा लिनुभएको छ ?
— यो कुनै अप्रत्याशित वा आश नै नगरेको परिणाम होइन । यस्तो किसिमको परिणाम आउन सक्छ भन्ने अनुमान थियो । स्थानीय तहको चुनावको परिणाम र त्यसपछि वामगठबन्धन बनेपछि उसले सबैभन्दा बढी सिट ल्याउन सक्छ भन्ने अनुमान थियो । अर्को कुरा एउटै पार्टी धेरै दिनसम्म सत्ता सञ्चालनमा बस्यो । हुन त बीच बीचमा अरू पनि दलहरू कहिले काहीँ आए । तर, सत्ताको सञ्चालनमा प्रायः नेपाली कांग्रेस नै रहेको थियो । अर्को नयाँ गठबन्धनले देशमा स्थायित्व आउनुका साथै विकास हुन्छ भन्ने कुरा जनतालाई लाग्यो । कति सरकार मात्र परिवर्तन गरिरहने, देशमा स्थिर सरकारको आवश्यकता छ भन्ने कुरा पनि जनमानसमा प¥यो । यी सबै कारणले वामगठबन्धनले यस्तो परिणाम ल्याएको हुनुपर्छ ।


० भनेपछि जनताले स्थायित्व रूचाएका हुन् कि वाम गठबन्धनलाई नै जिताउनुपर्छ भनेर मत दिएका हुन् ?
— नेपाली जनताले वाम, यो र त्यो भनेर सोचेको जस्तो लाग्दैन । उनीहरूले वाम गठबन्धनले देशका लागि केही गर्छ कि भनेर मत दिएका हुन् । केहीले भने वामगठबन्धन भनेर पनि मत दिएका होलान् । तर, धेरै जसो मानिसले मुद्दाहरू जस्तै, स्थायित्व, गरिबी निवारण, विकास, राहत, काम, रोजगारलगायत विषयलाई ध्यानमा राखेर मत दिएका छन् । यी विषयमा वामगठबन्धनले ध्यान पु¥याउँछ भन्ने विश्वासमा जनताले मत दिएका हुन् । यसबीचमा नेपाली कांग्रेसमा एउटा समस्या देखियो । नेपाली कांग्रेसले वामगठबन्धनले एकाधिकारवाद ल्याउँछ, यसले अधिनायकवाद ल्याउँछ मात्र भन्ने काम ग¥यो । तर, जनताले अधिनायकवाद भन्दा पनि तत्कालका समस्या समाधान गर्ने विषयमा बढी चासो राखे । उनीहरूले स्थायित्व, गरिबी निवारण, विकासलगायत विषयमा चासो राखे । अधिनायकवाद लगायत विषयमा जनताले सरोकार देखाएनन् । अधिनायकवाद शासन आउँछ, कम्युनिष्ट आउँछ, एउटा पार्टीको शासन चल्छ भन्ने कुरामा जनताले विश्वास गरेनन् । केही पढेलेखेकाले मात्र यो विषयमा सरोकार राखे । कांग्रेसले वाम गठबन्धनको विषयमा यो र त्यो हुन्छ भनेर भन्दै हिड्यो । यो अधिनायकवाद लगायत कुरा हामी सोच्नै सक्दैनौं ।


० जनताले पत्याएनन् नेपाली कांग्रेसको कुरा ?
— हो । जनताले नेपाली कांग्रेसको कुरा पत्याएनन् । जनतालाई चाहिने कुरा कांग्रेसले भन्न नै सकेन । उसले आफूले गरेका कामको वर्णन गर्न सक्थ्यो । कांग्रेसले विकासका धेरै काम गरेको छ नि । तर, भयो के भने कांग्रेसले आफूले गरेका कुरा नभनेर वामगठबन्धन आयो भने यो हुन्छ, त्यो हुन्छ भन्दै हिड्यो, जुन कुरा जनताले पत्याएनन् । देशमा धेरै परिवर्तन भइसकेको छ । जेजति काम भएको छ, नेपाली कांग्रेसले गरेको हो नि । तर, आफूले गरेका काम पनि भन्न नसक्ने, अब के के गर्ने त्यो पनि भन्न नसक्ने बरू अधिनायकवाद आउँछ भनेर कांग्रेसले वामगठबन्धनको आलोचना गर्दै हिड्यो । यो मुलुकमा अधिनायकवाद आउँछ भन्ने कुरा मलाई पनि पत्यार लाग्दैन । आए पनि भोलि फालिन्छ ।


० स्थायित्वका लागि नेपाली कांग्रेस जनताको रोजाइमा किन परेन ?
— नेपाली कांग्रेसले सधैँ शासन गर्दै आएको छ । मानिसले परिवर्तन पनि खोज्छन् । नेतृत्व पनि त्यसअनुरूपको हुनु प¥यो । नेपाली कांग्रेसको त्यस्तो नेतृत्व पनि भएन । जनतासमक्ष आफ्नो कुरा पु¥याउन सक्ने नेतृत्व देखिएन । नेपाली कांग्रेसका नेताहरू आ–आफ्नै क्षेत्रमा सीमिति भए । कांग्रेसले मुद्दाहरू पनि उठान गर्न सकेन । ८०–८२ पृष्ठको घोषणापत्र कसले पढ्छ ? दुई चार पृष्ठमा बुँदागत रूपमा भन्न सक्नुपर्दथ्यो । यो नेतृत्वले काम गर्छ भन्ने कुरा जनतामा आश जगाउन सक्नु पर्दथ्यो । यी कामहरू नै गरिएन ।


० वाम गठबन्धनको सरकारबाट के अपेक्षा गर्न सकिन्छ ?
— वामगठबन्धनले सस्ता नाराहरू दिएका छन् । यो र त्यो गर्ने भनेर वामगठबन्धनले प्रतिबद्धता जनाउँदै आएको छ । मानिस यिनै हुन्, साधन यही हो, शासन, प्रशारण यही हो । अबको एक वर्षमा जनताले भन्न थालिहाल्छन् नि, आखिर वामगठबन्धनले पनि के नै ग¥यो र । मुखले भन्न सजिलो छ, तर गर्न गाह्रो छ । अब बलियो सरकार बन्यो, र पाँच वर्षसम्म काम गर्न सक्यो भने राम्रै हुन्छ । अहिले नै नेकपा एमाले र माओवादीबीच पद र शक्ति बाँडफाँडको विषयमा विवाद सुरू भएको छ । यी दुई दलबीच एकीकरण गर्ने पनि सहमति भएको थियो । तर, त्यति सहज भने छैन । एउटाले अर्काेको अस्तित्व स्वीकार गर्न सक्नुप¥यो । वामगठबन्धन बन्नु राम्रै हो । अर्कोतर्फ नेपाली कांग्रेस पनि आफ्नो खुट्टामा आफैं उभिनुप¥यो । जनताका कुरा बुझ्न सक्ने, जनतासँग मिल्न सक्ने नेताहरू नेपाली कांग्रेसले जन्माउनुप¥यो ।


० मधेशकेन्द्रित दलले ल्याएको परिणाम अपेक्षित थियो कि अनपेक्षित ?
— मधेशकेन्द्रित दलले कुनै विकास गरेर ल्याएको मत होइन । भावनाबाट प्राप्त गरेको मत हो । संविधान संशोधन भएन, मधेशका अधिकार अन्य एजेण्डा पूरा गर्न बाँकी छ भन्ने लगायत मधेशी जनताले गुनासो गर्दै आएका छन् । अर्कोतर्फ मधेशकेन्द्रित दलले मधेशका एजेण्डा लिएर सडकदेखि सदनसम्म संघर्ष गरेकाले मधेशी जनताको लगाब हुनु स्वभाविकै हो । मधेशीकेन्द्रित दलले यतिको मत पाउनु राम्रै हो । नेपाली कांग्रेसले पनि मधेशकेन्द्रित दलसँग मिलेर चुनाव लडेको भए, उसलाई पनि राम्रो हुन्थ्यो ।


० मधेशकेन्द्रित दलले पाएको मतले संविधान संशोधन गराउन कत्तिको दबाब दिन्छ ?
— मानियो भने बल हो, मानिएन भने केही पनि होइन । हो, मधेशी जनताले एउटा म्यानडेट दिएका छन् । जनताको चाहना के रहेको छ भन्ने कुरा मतबाट अभिव्यक्त भयो । तर, संसद् र सरकारमा वर्चस्व हुनेले यो कुरा बुझेन भने त फेरि केही हुँदैन । एमालेले फेरि पहिला जस्तो भन्न थाल्यो भने संविधान संशोधन हुँदैन । माओवादीको कुरा गर्ने हो भने पहिला संशोधनको पक्षमा थियो । अब माओवादी एमालेसँग गठबन्धनमा आएपछि ऊ जस्तै बोल्न सक्छ । यी कुरामा पनि भर पर्छ ।


० राष्ट्रियसभाको चुनावलाई लिएर दलहरूबीच चलिरहेको आरोप प्रत्यारोपलाई कुन रूपमा लिनुहुन्छ ?
— यो बेकारको कुरा हो । राष्ट्रियसभाको चुनावसम्बन्धी विधेयक दुई महिनाअघि नै राष्ट्रपतिसमक्ष पेश भइसकेको छ । राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय प्रणालीबाट गर्नुपर्ने भनेर सरकारले विधेयक पेश गरिसकेको छ । वास्तवमा संविधानले यो शब्द नलेखे पनि राष्ट्रियसभाको गठनको मर्म त त्यही हो । सबैको सहभागिता होस । यो प्रणालीमा मत सिफ्ट हुन्छ । त्यो गर्दा बढी समावेशी हुने सम्भावना हुन्छ । यो राम्रो प्रणाली हो । संसारका विभिन्न मुलुकमा यो प्रणालीमा चुनाव हुन्छ । अब अहिले आएर नेकपा एमालेले यस्तो सानो कुरामा बखेडा गर्नु उचित छैन ।


० वाम गठबन्धनको सरकार बनेपछि नेपाल र भारतबीचको सम्बन्धमा कस्तो असर पार्ला भनेर विभिन्न किसिमका आशंका गरिँदैछ । के भन्नुहुन्छ ?
— भारतले नेपालमा भएको चुनाव र यसबाट आएको परिणाामलाई स्वागत गरेको छ । नयाँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको पनि भारतले भनिरहेको छ । अर्कोतर्फ वाम गठबन्धनको काम गर्ने तरिका कस्तो हुन्छ, छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ भन्ने भावनाअनुसार काम ग¥यो भने रामै्र हुन्छ । मेरो विचारले नेपाल र भारतबीचको सम्बन्धमा कुनै अप्ठ्यारो पर्दैन ।


० भारत र चीनबीच समदूरीको सम्बन्ध राख्नुपर्ने वाम गठबन्धनको भनाइ छ । वास्तवमा भारत र चीनबीच समदूरी मात्र सम्भव छ ?
— समदूरी भन्नु नै गलत हो । पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि समदूरीलाई गलत मान्नुभएको छ । उहाँले सामिप्यतामा जोड दिइरहनुभएको छ । सामिप्यता हुनुपर्छ दूरी कहाँ हुन्छ ? भनेर एमाले अध्यक्ष ओलीले पनि भनिरहनुभएको छ । हामीले दुवै देशसँग समmभदारी बढाएर अघि बढ्नुपर्छ । नेपाल र भारतबीचको सम्बन्ध आफ्नै किसिमको छ । नेपाल र चीनबीचको सम्बन्ध आफ्नै किसिमको छ । त्यसैले समदूरी हुनै सक्दैन । भारतसँग हाम्रो व्यापक र गहिरो सम्बन्ध छ । चीनसँग दाँजेर मिल्दैन ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

 

प्रकाशित मिति : २०७४ साल पुस ७ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com