राजपा–फोरम एकीकरण : कति सम्भव ? (सम्पादकीय)

प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेश गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको कसरतमा जुटेका छन् ।
स्थानीय तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रेका थिए । यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रस्ट बहुमत प्राप्त भएको छ ।
यो प्रदेशमा फोरम–राजपाको सरकार बन्ने करिब निश्चित छ । यी दुवै दलमध्ये बढी सिट जितेकालाई मुख्यमन्त्री र दोस्रोलाई उपमुख्यमन्त्री पद दिने लगभग सहमति भइसकेको छ । प्रादेशिक सरकार निर्माण गर्दा कुन दललाई कति मन्त्री र कुन मन्त्रालय भन्ने विषयमा छलफल सुरू भएसँगै दुवै दलबीच एकता पहलसमेत भएको छ ।
दुवै दलबीच प्रादेशिक सरकार गठन र पार्टी एकताका लागि औपचारिक सम्वाद सुरू भएको राजपाका नेताहरू विभिन्न मञ्चबाट भन्दै आएका छन् ।


फोरम–राजपा एकताका लागि सूत्रधारको जिम्मेवारी पाएका राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले हालै एक रेडियो अन्तर्वार्तामा जनादेशको कदर गर्दै दुवै दलका शीर्ष नेता एकताको पक्षमा सकारात्मक र गम्भीर देखिएको दाबी गर्दै दुई पार्टीबीच एकीकरण हुने बताए ।


मधेशवाणीसँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि एकताका लागि राजपाको सैद्धान्तिक धरातल स्पष्ट हुनु पर्ने सर्त तेर्साएर अहिले तत्काल एकता सम्भव नरहेको संकेत गरे ।


भर्खरै सम्पन्न निर्वाचन परिणामले हौसिएका राजपाका नेताहरूले फोरमसँगको एकतालाई बढी महत्वका साथ प्रचारित गरिरहेका छन् तर यसका लागि आधार तय भएको÷नभएको भन्ने विषयमा केही बोल्दैनन् । अच्चमको कुरा यो छ की राजपाले अहिले एकतर्फी रूपमै एकीकरणको विषयलाई उठान गरेका छन् जबकी एकीकृत हुने पार्टी फोरमले खासै वास्ता नगरेको पाइन्छ । किनभने अध्यक्ष यादवले राजपाका नेताहरू जस्तो सार्वजनिक ठाउँमा एकीकरणको विषयमा आफ्नो धारणा व्यक्त गरेका छैनन् । त्यसो भए के पार्टी एकीकरण राजपाको एकल धारणा मात्र हो ?
चुनावपछि भने यी दुई दलबीच पार्टी एकताबारे केही कुरा भएको छैन । पार्टी एकता त परको कुरा दुई दल मिल्दा प्रदेश नम्बर २ मा बन्ने सरकारका बारे पनि उनीहरूबीच छलफल भएको छैन । पार्टी एकता र सरकार गठनबारे दुई दलका नेताका परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन् ।


राजपाका नेताहरूले दुई नम्बर प्रदेशमा दुई पार्टी मिलेर सरकार बनाउने र पार्टी एकता गर्ने बताउँदै आएका छन् भने फोरमले न सरकार गठनमा रूची देखाएको छ न त पार्टी एकतामा नै चासो दिएको छ ।
मिल्दा र फुट्दापछिको चुनावी परिणामको अनुभव बटुलिसकेका मधेशी दलका नेताहरू एकताका लागि गम्भीर हुनुपर्छ । धरातलीय आधार बलियो नभई एकता अक्षुण्ण हुँदैन ।
मधेशले यो पटक आन्दोलनकारी शक्तिहरू एक हुनुपर्छ भन्ने सन्देश दिएको छ । त्यसैले अब मधेशकेन्द्रीत दलहरू एक होऔँ भन्ने सन्देश यो निर्वाचनले दिएको छ । तत्कालीन आन्दोलनको नेतृत्व गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ६ वटा पार्टीहरू आपसमा एकीकृत भए ।
राजपा र फोरम नेपालले जितेका सिट संख्यालाई मात्र जोड्ने हो भने मधेशी दल मधेशको सबैभन्दा ठूलो शक्ति भएको छ । राजपा र फोरमको मतलाई जोड्ने हो भने विजेताको भन्दा मधेशी दलको मत बढी छ । अर्थात्, मधेशी जनताले प्रष्ट रूपमा आन्दोलनकारी र परिर्वतनकारी तथा मधेशमैत्री संविधान बनाउन सक्ने शक्तिलाई माया गरेका छन् ।

प्रकाशित मिति : २०७४ साल पुस २१ गते, शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com