प्रदेश २ बनाउने जिम्मेवारी

प्रदेश सभाको पहिलो ऐतिहासिक बैठकमा ठूलो दलको हैसियतले संघीय समाजवादी फोरमका उपाध्यक्ष अब प्रदेश संसदीय दलका नेता लालबाबु राउतले निकै गहकिला तर्क साथ दुई नम्बर प्रदेशमा पहिचान त स्थापित भयो तर केन्द्रको गलत नीतिकै कारण आर्थिक रूपमा कमजोर यस क्षेत्रलाई हामी मिलेर सम्पन्न बनाउँदै नमूनाको प्रदेश बनाउन पर्दछ भन्ने उद्गार व्यक्त गर्दा धेरैले उनको अभिभाषण भित्र दुई नम्बर प्रदेशको भावी मुख्यमन्त्रीको संकल्प अभिव्यक्ति प्रति ध्यान नदिएका पनि हुन सक्तछन् । किनकी त्यतिबेलासम्म यादव बाहुल्य यो प्रदेशमा विजय यादव नै नेता घोषित हुने हो की भन्ने धारणा थियो धेरैमा ।

आजसम्म निर्णय क्षमताका धनी मानिएका उपेन्द्र यादवजीको माघ २१ गते राति भएको अकस्मात निर्णय वा पहलले सौहार्दपूर्ण रूपमा सर्वसम्मतिले राउतजीलाई नेता छानि सकिएपछि धेरैलाई माघ २१ गते सदनमा उहाँले दिनु भएको भाषणको अर्थ लाग्न शुरू भइ सकेको छ । अर्थात, दुई नम्बर प्रदेशलाई आर्थिक रूपमा पनि सुदृढ बनाउने गहन जिम्मेवारी अब गठन हुने सरकारको काँधमा आइसकेको छ जसको दृढतापूर्वक नेतृत्वको जिम्मा लालबाबु राउत गद्दीज्यूलाई भेट्ने लगभग निश्चित छ ।

२ नं. प्रदेशको राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार जनकपुरधामले आफू भित्र राख्दा राख्दै पनि एक्कै परिवारका दाजुभाईबीच अनावश्यक शंका उपशंका आउनु हुँदैन । माघ २१ गतेको सम्बोधनमा स्वयं गद्दीजीले वीरगञ्जमा भइ रहेको आन्दोलन तिर ध्यान आकर्षित गर्दै उक्त समस्याको समाधान सम्वादद्वारा गर्न आग्रह गर्नु भएको थियो । अब जबकी अध्यात्मिक नगरी जनकपुरधाम राजधानीको रूपमा सर्वपक्षीय, सर्वदृष्टिकोणीय उपयुक्त ठहर भइ सकेको अवस्था छ भने वीरगञ्जका साथीहरूको मनोभावलाई अधिकतम सम्बोधन गर्ने जिम्मेवारी पनि उहाँले नै पाउनु भएको छ । नेपालको राजनीतिक इतिहासमा संघीय गणतन्त्र नेपालको मधेशी बाहुल्य २ नम्बर प्रदेशको प्रथम मुख्यमन्त्रीको रूपमा वीरगञ्जकै व्यक्तित्व चयन हुनु आफैमा ऐतिहासिक निर्णय भएकोले वीरगञ्जले सम्भवतः आफनो मनोभावको अर्कै रूपमा भए पनि सम्बोधन पाए कै मान्नु पर्दछ ।

२ नं. प्रदेशमा पूर्वाधारका कामहरू निरन्तर भइ रहेका छन् । अहिले भइ रहेको कामहरूमा एडीबी प्रोजेक्ट अनुसारका सडक नाला योजनाहरू, जनकपुरधाम जोडने चार र छ लेनका सकडहरू, जयनगर–जनकपुर–कुर्था–बर्दिवास ब्रोडगेज रेल्वे जस्ता सडक र यातायात सञ्जालका कामहरू धमाधम भइ रहेका छन ।

राजर्षि जनक विश्वविद्यालयको स्थापना भइ कार्यहरू पनि अगाडि बढी सकेको छ । विकास निर्माणका यी पूर्वाधारहरू प्रदेश सरकार गठन हुनु अगाबै तत्कालीन भौतिक योजना र गृहमन्त्रीको रूपमा विमलेन्द्र निधि र अन्य दायित्व निर्वाह गरेका पक्षहरूको सहयोगमा शुरू भइ सकेको अवस्थामा अब ती योजनालाई लक्ष्य अनुसार समयमै पूरा गर्ने दायित्व प्रदेश सरकारको जिम्मा गएको छ । पहिचानका साथ आर्थिक समुन्नतिको क्षेत्रमा पनि यो प्रदेश नमुना बन्न सक्ने सम्पूर्ण सम्भावना रहेको छ । मात्र एक्यबद्धता र लगनशीलताको आवश्यकता छ । जो मधेशी जनताको आदेशबाट पनि हुने नै छ भन्ने विश्वास गर्ने ठाउँ छ ।

२ नं. प्रदेशमा भाषाको समस्या ल्याउने प्रयास गरिदैछ त्यो दुर्भाग्यपूर्ण छ । भाषा आयोगले दायित्व पूरा गर्न नसकेकै कारण पनि केही अप्ठ्याराहरू आइ रहेको देखिए पनि बोलिने संख्या मात्रै होइन, त्यसको प्राचीन लिपि, साहित्य र अन्य प्रशासनिक क्षेत्रका अध्ययन सामग्री तयार गर्न सक्षम शब्दहरूको भण्डार पनि भाषाको स्थापनाका आधारहरू हुन सक्तछन । प्रमुख र सहायक भाषाहरूको विज्ञ समूहद्वारा सूची बनाएर त्यस अनुसार कार्य अगाडी बढाउँदा कुनै समस्या आउँछ जस्तो देखिदैन । मात्र इच्छा शक्तिको दृढता र समस्या समाधान गर्ने प्रवल कामना हुनु पर्दछ ।

अन्त्यमा २ नं प्रदेश, एक्काइस जिल्लाको प्रतिनिधि प्रदेश पनि हो – यो सम्झेर मधेश र मधेशीको उत्पीडन र आत्मग्लानीपूर्ण राजधानी बसाइको पीडालाई मत्थर पार्न आत्म गौरव र पहिचानसहितको प्रदेश निर्माण गरी अपनत्व बोधको गरिमामय अनुभूति दिलाउन सके–२ नं. प्रदेशको बन्ने सरकारको अन्य सबै उपलब्धी भन्दा पनि ठूलो उपलब्धी हुने मलाई लाग्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com