ओलीको भारत भ्रमण र नेपालको सरोकार (विचार)

संगीता रेग्मी

नेपाल दुई ठूला छिमेकीबीच स्याण्डबीचको अवस्थामा छ । यस्तोमा शक्तिशाली प्रधानमन्त्री केपी ओलीले गर्न लागेको राजकीय भ्रमणको विशेष अर्थ छ । विगतमा राष्ट्रवादी छवि बनाएका ओलीको निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा पुनरागमनको सम्भावना बढेदेखि नै ओली सरकारको आगामी छिमेकी नीति र सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने विषयले छिमेकीको नेपालप्रतिको चासो ह्वात्तै बढेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली प्रधानमन्त्री बन्नुपूर्व नै फोन गर्नेदेखि विशेष दूतका रूपमा आफ्ना विदेशमन्त्रीलाई नेपाल पठाएर भारत भ्रमणको निम्तो दिनु पक्कै उसले नेपालसँग सम्बन्ध सुधारको अपेक्षा गरेको हो । यता, ओलीले समेत विगतकै परम्परालाई अँगाल्दै भारतबाटै पहिलो विदेश भ्रमण सुरू गर्दा उनी पनि भारतसँग सुमधुर सम्बन्ध बनाउन तत्पर रहेको अथ्र्याउन सकिन्छ ।
विकास र समृद्धिको नारा बोकेको नयाँ सरकारले दुवै छिमेकीलाई विश्वासमा नलिएसम्म आर्थिक विकासको अभियानलाई लक्ष्यमा पु¥याउन सहज नहुने भएकाले पहिलो भ्रमण जहाँबाट थाले पनि सम्बन्धलाई सुमधुर पार्न सकिन्छ । नेपाल, भारत र चीनजस्ता पुरानो सभ्यता, ठूला भूभाग र जनसंख्या भएका तर विभिन्न हिसाबले प्रतिस्पर्धी आकांक्षा र विशेषता भएका मुलुकको बीचमा छ । ती दुई मुलुकका राजनीतिक व्यवस्था तथा ऐतिहासिक आकांक्षा अहिले झन् बढी प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । यसरी दुई छिमेकीको बढ्दो भूरणनीतिक प्रतिस्पर्धा र एसियाको उदयको नेतृत्व गरेका छिमेकी र पश्चिमको अन्तरविरोधको बीचमा नेपाल उभिएको छ ।
यो अवस्थामा आफ्नो राष्ट्रहितलाई पहिलो स्थानमा राख्दै छिमेकी सम्बन्धलाई सन्तुलित रूपमा सञ्चालन गर्न भने चुनौती भइरहनेछ । चीनले सधैं नेपाललाई भारतसँग राम्रो सम्बन्ध राख्न सुझाव दिँदै आएको छ र आफू नेपालमा भारतको विकल्प बन्न नसक्ने पनि पटक पटक स्पष्ट पारेको छ ।


आर्थिक महाशक्तिका रूपमा आफूलाई विश्वव्यवस्थाको महत्वपूर्ण पिलरका रूपमा उभ्याउन खोज्दै गरेको चीनका लागि अब तिब्बतको सुरक्षा मात्र नेपालमा चासो रहेन ।


विगतमा आन्तरिक अस्थिरता र दक्षिणको भूरणनीतिक मनोविज्ञानबाट उत्पन्न अवरोधका कारणले नेपालको चाहना पूरा हुन सकेको छैन । तर, यतिखेर स्थिर सरकार पाएको छ र स्वयं समृद्धि तथा विकासका लागि भारतसँगको साथ ओलीलाई चाहिएको छ ।
यतिबेला भारतको चासोलाई सम्बोधन गर्दै नेपालले चीन, नेपाल र भारतको त्रिशंकु सम्बन्धको सहकार्यको नीति निर्माण गरी पहल गर्ने उपयुक्त समय आएको छ । आर्थिक अन्तरनिर्भरता निर्माणले आपसी विश्वास बढाउँदै हिमालय क्षेत्रमा हुने भूराजनीतिक प्रतिस्पर्धालाई कम गर्नेछ ।
भारतले पनि नेपालमा दक्षिणदेखि उत्तर जोड्ने आर्थिक करिडोरमा लगानी गर्नुपर्छ । तर यी सबै गर्नका लागि समस्या छ त नेपालका राजनीतिक शक्तिमै, शक्ति आर्जनका लागि आफैं प्रो–इन्डियन अथवा प्रो–चाइनाका रूपमा अगाडि आउँदा छिमेकीले नेपालको राज्य प्रणालीप्रति विश्वास गर्न सकेको अवस्था छैन । त्यसैले दक्षिण र उत्तरतिर फर्किएका नेपालका राजनीतिक दलहरूकै कारण नयाँ सरकार आउने बित्तिकै कहिले कुन छिमेकी दंग पर्छ त कहिले कुन हिस्स । नेपालले कुनै छिमेकीको कुभलो चिताउने र एक छिमेकीसँग नजिक र अर्कोसँग टाढिने गर्नुहुर्दैन र कुनै पनि नाममा कुनै पनि छिमेकीको परिबन्दमा समेत पर्नुहुँदैन । तर ख्याल के पु¥याउनुपर्छ भने एउटा छिमेकीसँग सहकार्य गर्दा अर्कोलाई चिढाउने अथवा उसको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्ने गर्नुहँुदैन ।


छिमेकीका लगानीमा सञ्चालित परियोजनामा राष्ट्रिय सहमति तयार गर्नुपर्छ । जसले गर्दा राष्ट्रिय राजनीति नै दुई छिमेकीको पक्षमा धु्रवीकृत भएर नेपालको भूराजनीतिक सन्तुलन गुमेर नेपाली भूमि रणनीतिक खेल मैदानमा परिणत नहोस् ।
अतः नेपालले यतिखेर स्थिर सरकार पाएको छ । साथै आर्थिक, राजनीतिक रूपमा उदीयमान छिमेकीको बीचमा अवसर र चुनौती दुवै लिएर उभिएको छ । यसैले यो समयमा, हाम्रा छिमेकी कस्ता छन् ? तिनीहरू हामीसँग कस्तो व्यवहार गर्छन् ? त्यसले हामीलाई कस्तो चुनौती र अवसर खडा गरेको छ ? उनीहरूका नेपालप्रतिको चासो केके हुन् भन्ने यी विषयमा नेपालले गम्भीर मनन गरेर छिमेकी नीति अगाडि बढाउन सक्नुपर्छ । देशको भूगोलसँग परिचित हुँदै विशाल छिमेकीको सुरक्षा संवेदनशीलतालाई मनन गर्दै आपसी सहकार्यको मोडलमा छिमेकी सम्बन्धलाई अगाडि बढाउन सके छिमेकी सम्बन्धको सन्दर्भमा नयाँ आयामसहितको नयाँ युगको सुरूवात हुनेछ ।
प्रधानमन्त्री केपी ओलीको तीनदिने भारत भ्रमणमा कुनै सम्झौता भन्दा पनि विगतको तिक्तता मेटाउने लक्ष्य राखिएको कारण यो भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई नयाँ सिराबाट नयाँ उचाइ दिन सकिने अनुमान गर्न सकिन्छ । तर भारत भ्रमणपछि उनको विगतको नेपाललाई दुवै छिमेकीसँग जोड्ने प्रतिबद्धतामा कस्तो फेरबदल आउला ? छिमेकीसँगको सम्बन्ध कसरी अगाडि बढ्ला ? त्यो प्रतीक्षाको विषय बनेको छ ।
अन्त्यमा, भारतलाई विश्वासमा लिएर नेपालले लिन सक्ने फाइदा लिनुपर्छ । हिजो जसरी सम्बन्ध चिसो भयो त्यसलाई भने अब राम्रोसँग सुधार गर्न जरूरी छ ।


मित्र फेर्न सकिन्छ, छिमेकी फेर्न सम्भव हुँदैन । नेपाल र भारतको अद्वितीय सम्बन्धका आयामहरूको विकल्प अन्य केही हुन सक्दैन । नेपाल र भारतबीचको सम्बन्ध नै यस्तो छ कि आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक सरोकार एक अर्कासँग गाँसिएका छन् । यसका नाकारात्मक पक्ष नभएका पनि होइनन, तर सकारात्मकताको उपयोगमार्फत द्विपक्षीय हित प्रवद्र्धनलाई उद्देश्य बनाइनु पर्छ ।
प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भए पनि देशको कार्यकारी प्रमुखको दौडाहा अर्थराजनीतिक अपेक्षा र उद्देश्यबाट निरपेक्ष हुन सक्दैन ।


प्रकाशित मिति : २०७४ साल चैत्र २३ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com