‘मधेश’लाई नचिनेको नेपाली चलचित्र (विचार)

काठमाडौंको जय नेपाल हलको एक सिटमा बसेर बम्पर व्यापार गरिरहेको ‘शत्रुगते’ चलचित्र हेर्दे गर्दा पछाडिबाट एक अधवैशें महिलाको आवाज सुनियो–‘यो त मधेशी हो नि ।’ पछाडि फर्केर उनलाई हेर्दा लाग्थ्यो उनी खानदानी परिवारकै महिला हुनुपर्छ । ‘शत्रुगते’ फिल्ममा आँचल शर्माकी बाबुको भूमिकामा अभिनय गरेका रमेश रञ्जन झाको आवाज, पोसाक हेर्दा ती महिलालाई लागेको होला यो मधेशी हो । उनले अगाडि भनिन्–‘पहाडी केटीको बाबुको भूमिकामा मधेशीलाई किन खेलाएको होला ?’ उनको यस्तो तर्कबाट मलाई लाग्यो अझ पनि मधेशीलाई चलचित्रको भूमिकामा राख्दा दर्शकले नै अस्वीकार गरिरहेका हुन् कि ? यस चलचित्रले मधेशी र पहाडी भनेर छुट्टयाउनु भन्दा पनि आ–आफ्नो ठाउँको विशेषतालाई बुझेर मधेशी र पहाडीको सहकार्यमा नै सबैको भलो हुनसक्छ भन्ने सन्देश दिएको छ ।


अर्को चलचित्र ‘तिमीसँग’ को उदाहरण लिउँ । आकाश श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजिर हुसेनको मुख्य अभिनय रहेको यो चलचित्रमा मधेश र पहाडलाई अलग गरेर होइन, एक ठाउँमा राखेर मात्र नेपालमा भावनात्मक एकता हुनसक्छ भन्ने सन्देश दिन खोजिएको छ । यस चलचित्रमा मधेशी कलाकार नाजिर हुसेनको भूमिका दमदार छ । उनले धेरै हदसम्म यस चलचित्रलाई ‘होल्ड’ गरेका छन् ।


चलचित्रले समाजको घटना, परिघटना, विकृति, विभिन्न मान्यतालाई कथाको माध्यमबाट दर्शक समक्ष प्रस्तुत गर्ने गर्दछ । नेपालमा निर्मित चलचित्रको पहिलो प्रदर्शन २०२२ सालको असोजमा ‘आमा’ चलचित्रबाट भयो । तर, सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र ‘माइतीघर’ भने ‘आमा’ भन्दा पछाडी मात्र सार्वजनिक भयो । नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित ‘सत्य हरिश्चन्द्र’ हो, जुन नेपालीमा पनि डबिङ्ग गरेर सार्वजनिक गरिएको थियो ।


२०२२ सालबाट चलचित्र निर्माण सुरू भएको नेपाली चलचित्र २०७४ सालसम्म आइपुग्दासम्म हजारौं चलचित्र निर्मित भए भने अर्बौको कारोबार गरेको छ । तर नेपाली चलचित्रमा मधेशी पात्रको उपस्थिति र भूमिका खोज्न करिब पाँच दशक लागेको छ । पहिलाका चलचित्रहरूले मधेशलाई चिन्दैन्थ्यो भने हाल आएर केही चलचित्रहरूले थोरै भए पनि स्थान दिन थालेको छ । तर, नेपाली चलचित्रहरूमा अहिले पनि मधेशको उपस्थिति उत्साहजनक र सन्तोषजनक छैन । सुरूमा केही खलनायक तथा कमजोर पात्रको रूपमा मात्र चित्रण गरिने मधेशलाई हाल आएर सकारात्मक भूमिकाका रूपमा समावेश गरिन थालिएको छ ।


उदाहरण हेरौं, २०७२ सालमा अभिनेता निखिल उप्रेतीले आफैँ निर्देशक भएर बनाएको फिल्म हो ‘भैरव’ । जतिबेला फिल्म रिलिज भइरहेको थियो, त्यतिबेला दोस्रो मधेश आन्दोलन चर्किरहेको थियो । मधेशमा पहिचान र आत्मसम्मानको कुरा उठिरहेको थियो । मधेश र मधेशविरोधी फिल्म भन्दै सप्तरीमा फिल्मको पोस्टर जलाउँदै प्रदर्शन हुनबाट रोक समेत लगाइएको थियो । मधेशी अनुहारलाई खलनायकको भूमिकामा प्रस्तुत गर्ने नेपाली फिल्मको चलन यो फिल्मले पनि धानेको छ । ‘भैरव’लाई गृह मन्त्रालयले दंगाग्रस्त क्षेत्रमा तत्काल चलाउन रोक समेत लगाएको थियो । यता फिल्म ‘अलबिदा’मा नगेन्द्र रिजालले तराईमा बसेर काठमाडौँ हल्लाउने ‘टाइगर’ नामक नामुद गुण्डाको भूमिका निर्वाह गरेका छन् । नेपाली फिल्मले मधेशी चरित्रलाई सधैँ भिलेन, खलनायक, नकारात्मक पात्रकै रूपमा चित्रण गरिरहेको पाइन्छ ।


‘रेशम फिलिली’, ‘होस्टेल रिन्टर्स’, ‘लभसव’ होस् वा ‘सुन्तली’, ‘ताण्डव’, ‘फागु’ लगायतका चलचित्र होस्, यी सबैमा मधेशी पात्रलाई भिलेन, साइकलमा तरकारी बेच्ने, जुत्ता सिलाउने, फटाहा, गुण्डा आदि भूमिकामा मात्र देखाए । एकताका नेपाली फिल्ममा मधेशी चरित्र नै हुँदैन थियो र भए पनि उनीहरूको भूमिका साह्रै छोटो हुन्थ्यो । तर, केही वर्षयता धेरै त्यस्ता चलचित्र बने जसले मधेशी चरित्रलाई लामो भूमिकासम्म दिए तर सकारात्मक भूमिकामा खेलाउन सकेको छैन । मधेशलाई गहिराइमा नबुझीकन राजधानीमा बसेर स्क्रिप्ट लेख्नेले मधेशीलाई सधैँ यस्तै चरित्रमा कल्पना गर्नु विडम्बना पनि हो ।


यसरी मधेशी पात्रलाई नकारात्मक भूमिकामा खेलाउँदा पहाड र हिमालका दर्शकमा यस्तो भ्रम परेको छ कि मधेशी भनेको जस्तो चलचित्रमा देखिन्छ त्यस्तै नै हुन् । मधेश नघुमेकाहरू हिमाल र पहाडका दर्शकहरूलाई नेपाली चलचित्रले मधेशको समस्या, सम्भावना र आवश्यकताहरू बताउन सक्नुपर्छ तर त्यस्तो नदेखाएर त्यस ठाउँका व्यक्ति र समाजको नकारात्मक प्रचार मात्र गरेको पाइन्छ । काठमाडौँका रैथानेहरूका लागि मधेशी भनेको साइकलमा सब्जी बेच्ने, कागज–बोतल किन्ने मान्छे हो । त्यो चरित्रको गहिराइमा पुगेर उसको दिनचर्या, उसका सपना, आकांक्षा र पीडाहरूलाई चलचित्रले बाहिर ल्याउन सकिरहेको छैन । जसले गर्दा काठमाडौंका बासिन्दाले पनि मधेश र मधेशीको भावना र पीडा बुझ्न सकून् तर यो पक्षमा नेपाली चलचित्रले ध्यान दिन सकेको छैन ।


तर अहिले अवस्था फेरिएको छ । अभिनेता रमेश रञ्जन झा भन्छन्–‘पहिले पहिले पहाडकै व्यक्तिहरूलाई कालो दलेर र धोती लगाएर मधेशी पात्रको भूमिकामा अभिनय गराइन्थ्यो । छालाको आधारमा नै मधेशी कालो हुन्छन् भन्ने मान्यता व्याप्त थियो ।’ त्यसैले उनीहरूको भूमिका एकदमै गरिब, कागज बोतल उठाउँदै हिड्ने अथवा पान बनाएर बेच्ने, गुण्डागर्दी गर्ने मात्र हुन्थ्यो यसले गर्दा मधेशीले नराम्रो काम मात्र गर्छन् भन्ने आम दर्शकको बुझाईमा थप टेवा पुग्थ्यो । झा भन्छन्–‘तर, अहिले अवस्था फेरिएको छ । नेपाली चलचित्रमा मधेशको पात्रलाई विशेष भूमिका दिनुपर्छ भन्ने भावना विकास भएको छ ।’ मधेशीले गर्ने भूमिकामा पनि परिवर्तन आएको झा स्वीकार गर्छन् । यसको उदाहरणका लागि २०७४ सालमै प्रदर्शनमा आएका ‘शत्रुगते’, ‘तिमीसँग’, ‘राज्जारानी’, ‘शेरबहादुर’, ‘जात्रा’, ‘फाटेको जुत्ता’ जस्ता चलचित्रलाई लिन सकिन्छ ।


लेखक तथा निर्देशक पुर्णेन्द्रु झाले मधेशलाई नै आधार बनाएर ‘संरक्षण’ फिल्मको निर्माण गरेका हुन् । नेपाल र भारतको सीमानामा हुने चोरी निकासी, हत्या, हिंसाको घटना लगायत समसामयिक राजनीतिलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘संरक्षण’ले मधेशका जिल्लामा भन्दा काठमाडौं र पहाडी जिल्लाहरूमा धेरै व्यापार गरेको झाको दाबी छ । उनी थप्छन्–‘पहाड र हिमालका दर्शकले मधेशको जनजीवन बुझ्न खोजेको मैले पाएको छु त्यसको माध्यम चलचित्र नै हो ।’ उनी अहिले ‘चौका दाऊ’को निर्माणमा जुटेका छन् ।


पहिलेको दाँजोमा मधेशको विषयमा सकारात्मक चलचित्र बन्न थालेको छ भने मधेशी कलाकारहरूले पनि सकारात्मक भूमिका पाउन थालेका छन् । तर, त्यसलाई काठमाडौंलगायत पहाडका दर्शकले स्वीकारी सकेको अवस्था भने छैन । उनीहरूमा ‘मधेश र मधेशी भनेको तल्लोस्तरको काम गर्ने’ मानसिकता अझै व्याप्त छ । मधेशीहरू काला नै हुन्छन् भनेर पहिले जसरी भूमिका दिइने गरिन्थ्यो, त्यसैको प्रभाव अहिले रहिरहेको छ तर अहिले त्यस्ता भूमिकामा क्रमशः परिवर्तन आउँदै छ ।

साइकलमा तरकारी बेच्दै हिंड्ने मधेशीको भूमिकामा परिवर्तन भई अब तरकारी उत्पादन कसरी गर्ने भन्नेमा पुगेको छ भने मधेशमा विकृतिको रूपमा रहेको दाइजो प्रथाको विषयलाई लिएर र त्यसलाई हटाउनु पर्छ भन्ने विषयमा चलचित्र निर्माण हुन थालेका छन् । मधेशी पात्रलाई विशेष भूमिका दिएर चलचित्र निर्माण हुनु सकारात्मक पक्ष हो । अब नेपाली चलचित्र क्षेत्रमा यस्तो समय आओस् जसले मधेशी कलाकारको भूमिकालाई प्रधानता दिएर चलचित्रको माध्यमबाट एकताको सूत्रमा सबैलाई बाँध्न सकियोस् ।

प्रकाशित मिति : २०७४ साल चैत ३० गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com