मधेशका महिला घुम्टोमा मात्र सीमित छैनन् : डा. अन्जु यादव

प्रदेशसभा सदस्य, प्रदेश २ (राजपा नेपाल)

० साउदी अरबमा मृत्युदण्ड सुनाइएका धनुषाका उमेश यादवको जीवनरक्षाका लागि तपार्इँले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ, तर प्रदेश सरकार वा तपार्इँको पार्टीले किन अग्रसरता नदेखाएको होला ?
—राजपा नेपालभित्र पनि यस विषयमा छलफल भइरहेको छ । पार्टीले पनि उमेश यादवको जीवनरक्षाका लागि सहयोग गर्ने नै छ । यसप्रति राजपा नेपाल सकारात्मक छ । यस विषयमा म प्रदेशसभाको संसदमा पनि कुरा उठाउँछु । प्रदेश सरकारले पनि उमेश यादवको जीवनरक्षाका लागि पहल गर्नु पर्छ ।


० तपार्इँले मात्रै अग्रसरता देखाउनुको कारण के हो ?
— म पहिलेदेखि नै समाजसेवामा लागिरहेको छु । एउटा समाजसेवीको हैसियतले मैले अग्रसरता देखाएकी हुँ । समाजमा कुनै किसिमको आपतविपद् पर्दा म व्यक्तिगत रूपबाट वा संस्थागत रूपमा पनि समाजसेवा गर्दै आएकी छु । जस्तै, महाभूकम्प गएका बेलामा पनि राहत संकलन गरी पीडितहरूलाई वितरण गर्ने, बाढी गएको बेला प्रभावितलाई सहयोग गर्ने लगायतका काम कोशिस फाउण्डेशन मार्फतले गर्दै आएकी हुँ  । मैले उमेश यादवको जीवनरक्षाका लागि एउटा सानै सहयोग भएपनि व्यक्तिगत रूपबाट आफ्नो एक महिनाको तलब दिने घोषणा गरेकी छु ।


० विदेशिने युवाहरूलाई यस्ता समस्या प्रायः परिरहेको हुन्छ, उद्धारका लागि कस्तो किसिमको ठोस नीति आवश्यक देख्नु हुन्छ ?
— यस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि एउटा कोष नै खडा गर्नुपर्छ । मैले यसका लागि प्रदेशसभाको बैठकमा कुरा उठाउँछु । कुनै एक व्यक्तिले सहयोग गरेर मात्रै सम्भव छैन । त्यसैले सामूहिक रूपमा नै यसको ठोस पहल गर्नु आवश्यक छ । खास गरी प्रदेश २ को हकमा जुन समस्या आउँछ त्यसको समाधानका लागि सबैको साथ र सहयोग आवश्यक छ ।


० तपार्इँ चिकित्सक पेसाबाट राजनीतिमा आउने सोच कसरी बनाउनुभयो ?
— म चिकित्सा पेसामा हुँदा पनि समग्र राष्ट्रको समृद्धि र विकासका लागि केही गरौं भन्ने भावनाबाट प्रेरित भई राजनीतिमा लागेको हुँ । केही पनि कुराका लागि राजनीति नै माध्यम हो । प्रदेश २ अन्य प्रदेशभन्दा बढी पिछडिएकोले यसको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्ने मेरो उद्देश्य हो । प्रदेश २ हरेक क्षेत्रमा पिछडिएको छ । यहाँको शिक्षा, स्वास्थ्य, भौतिक संरचना, कलकारखाना लगायतका क्षेत्र एकदम दयनीय छ । ती सबैमा सुधार गर्ने उद्देश्यले नै म राजनीतिमा सक्रिय भएकी हुँ ।


० राजनीतिमा आउने प्रेरणा कहाँबाट पाउनुभयो ?
— मेरो पृष्ठभूमि नै राजनीतिक परिवारबाट हो । मेरो ससुरा (हरिहरप्रसाद यादव) पनि पहिलादेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिमा सक्रिय रहेर पनि विद्यालय सञ्चालन गर्दै समाजसेवा गर्दै आउनुभएको छ । उहाँले वीरगन्जमा ज्ञानबाटिका ईंगलिश बोर्डिङ्ग हाइस्कूल सञ्चालन गरिरहनु भएको छ । उहाँले धेरै विपन्न वर्गका विद्यालयलाई निःशुल्क शिक्षा पनि दिइ रहनु भएको छ । त्यसैले म उहाँबाट नै प्रेरित भएर समाजसेवा गर्न राजनीतिमा लागेको हुँ । राजनीति सेवाभावले गर्नुपर्छ भन्ने उहाँको प्रेरणाबाट म प्रभावित भएको हुँ ।


० तपाइँ मधेश मूलकी महिला हुनुहुन्छ, खासगरी मधेश मूलका महिलाका लागि राजनीतिमा कस्तो चुनौती देख्नुहुन्छ ?
— मधेशका महिलाका लागि राजनीतिमा त धेरै नै चुनौती छन् । तर, आफूले सेवा गर्ने भावले अगाडि बढ्यो भने चुनौतीका साथसाथै एउटा अवसर पनि हो समाजमा परिवर्तन ल्याउने ।


० मधेशका महिलामा राजनीतिक चेतना कति छ ?
— अहिलेको अवस्थामा मधेशका महिलामा राजनीतिक चेतना धेरै नै भइसकेको छ । मधेशका महिलाहरू घुम्टोमा मात्र सीमित छन् भन्ने बुझाई आजको दिनमा गलत हो । मधेशका महिलाले अवसर पायो भने समाजमा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने क्षमता राख्दछन् ।


० तपार्इँलाई प्रदेशसभामा आफ्नो विचार राख्ने कति अवसर पाउनुभएको छ ?
— प्रदेश २ को सरकारले हामीसँग भेदभाव गरेको छैन । हामीलाई आफ्नो विचार राख्ने अवसर दिएको छ । प्रदेशसभामा महिलालाई पनि पुरूषसरह नै अवसर दिएको छ । सबैले आफ्नो विचार राख्न स्वतन्त्रता दिइएको छ ।


० अहिले प्रदेश सरकारको कार्य सन्तोषजनक मान्न सकिन्छ ?
— अहिले त सुरूवाती अवस्था नै छ । अहिले नै सरकारमाथि कुनै दोषारोपण गर्नु हुँदैन । नयाँ संरचनाहरू बन्दैछन् । सरकारले नीति तथा नियमहरू बनाउँदैछ । तापनि सुरूवाती अवस्थामा पनि सरकारको कार्य त्यति सन्तोषजनक मान्न सकिँदैन । सरकारले आफ्ना काम निर्वाध रूपमा सञ्चालन गर्न पनि पाएको छैन । सबभन्दा पहिला त संविधानमा रहेका त्रुटि सच्याएर प्रदेश सरकारले पाउने अधिकार पाएपछि प्रदेश सरकारले द्रूतगतिमा आफ्ना कार्य गर्न सक्छन् ।


० प्रदेश सरकारले ल्याएको सयदिने कार्ययोजना कति प्रभावकारी छ ?
— अहिले सुरूवाती अवस्था भएकोले त्यति प्रभावकारी देखिएको छैन ।


० ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान सफल बनाउन कति चुनौती छ ?
— ‘बेटी बचाउ, बेटी पढाउ’ सफल बनाउन चुनौती त धेरै छन् । तर, प्रदेश सरकार दृढताका साथ कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ । यो अभियानका कारणले छोरी बेटीहरूलाई विद्यालय भर्ना गराउनेमा चेतना बढेको छ । छोरीलाई शिक्षा आवश्यक छ भन्ने भावना जागेको मैले पाएकी छु । आर्थिक अवस्था कमजोर भएकाहरूले पनि आफ्ना छोरीलाई सरकारी विद्यालयमा पठाइरहेका छन् । त्यसैले, यो अभियान सफल हुन्छ ।


० ‘बेटी बचाउ, बेटी पढाउ’ को आवश्यकता किन प¥यो त ?
— समाज र राष्ट्रको समृद्धिको आधार नै बेटी हो । बेटी शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज शिक्षित हुन्छ र समाज शिक्षित भए राष्ट्र नै शिक्षित हुनसक्छ । जसले गर्दा राष्ट्रको समृद्धिमा बेटी पनि एउटा हिस्सा बन्न सक्छ । आजको युगमा शिक्षा नै सबभन्दा आवश्यक आधार हो विकास र समृद्धिका लागि ।


० प्रदेश सरकारले अझ के गर्नुपर्छ ?
— यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विपन्नवर्गलाई बढी ध्यान दिनुपर्छ । जहाँ जहाँ विद्यालय छैन त्यहाँ विद्यालय खोल्ने, शिक्षाको स्तर सुधारतिर सरकारले योजना बनाउनुपर्छ । सरकारले यसबारे नीति नियमहरू बनाइरहेको छ । यसले गर्दा अब विपन्न परिवारका बच्चाले पनि शिक्षा पाउन सहज हुन्छ ।


० हाम्रो समाजमा दाइजो प्रथाले जडा गाडिसकेको अवस्था छ, छोरीलाई जति पढायो त्यति धेरै दाइजो पनि दिनुपर्ने मानसिकता छ । दाइजोलाई जडैदेखि उखालेर फाल्न कति सजिलो छ ?
— त्यो मानसिकता अहिले विस्तारै हट्दैछ । छोरीलाई दाइजोभन्दा शिक्षा दिनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ । दाइजो लिएर धनी भइँदैन तर शिक्षित छोरी÷बुहारीले आफ्नो घरमा मात्रै होइन समाजमा नै परिवर्तन ल्याउन सक्छ भन्ने चेतना आउँदैछ । शिक्षित छोरी÷बुहारी भए भने आफ्नै कुनै व्यवसाय गर्न सक्छन् अथवा जागिर गर्न सक्छन् । त्यसैले गर्दा अब विस्तारै दाइजो प्रथा समाजबाट उन्मूलन हुन्छ ।


० प्रदेश २ को नाम, स्थायी राजधानी र भाषाको टुंगो कहिलेसम्म लाग्छ ?
— प्रदेश २ को नाम र सम्पर्क भाषाको विषयमा छलफल चलिरहेको छ । केही दिनभित्रै यी सबै कुराको टुंगो लाग्छ । मेरो विचारमा प्रदेश २ को राजधानी जनकपुरधाम नै उपयुक्त छ । जनकपुरधाम सबैका लागि पायक पर्ने ठाउँ पनि हो र माता जानकीको जन्मथलो पनि हो । जहाँसम्म भाषाको कुरा छ, यहाँ बोलिने सबै भाषा सरकारी कामकाजको भाषा हुनुपर्छ ।


० यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण जनकपुरधामबाटै हुँदैछ, उहाँको स्वागतका लागि कस्तो तयारी हुँदैछ ?
— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न प्रदेशका जनता एकदम उत्साहित छन् । प्रदेश सरकारले पनि उहाँको स्वागतका लागि तयारी तीव्र पारेको छ । जनकपुरधाममा उहाँलाई भव्य स्वागत गरिनेछ । उहाँले यस क्षेत्रका जनतालाई नागरिक अभिनन्दन गरिने पनि तयारी हुँदैछ । उहाँले माता जानकीको पूजा गर्ने र बाह्र बिगाहामा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ । यसका लागि जनकपुरधाम सिँगारिँदैछ । सुरक्षा व्यवस्था पनि मिलाइँदैछ ।

 

प्रकाशित मिति : २०७५ साल वैशाख २१ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com