मुख्यमन्त्रीको अभिव्यक्ति फिर्ता हुँदैन : मनिष सुमन

प्रदेशसभा सदस्य, प्रदेश २, राष्ट्रिय जनता पार्टी नेपाल

० भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई समग्रमा कसरी लिनुभएको छ ?
— पहिले नेपाल र भारत सरकारकोबीचमा मात्र सम्बन्ध रहेको छ भन्ने बुझिन्थ्यो । तर, नरेन्द्र मादोजीले जनकपुरबाट आफ्नो भ्रमण प्रारम्भ गर्दा जनता–जनता बीचमा सम्बन्ध रहेको छ भन्ने प्रमाणित भएको छ । उहाँले आफ्नो तीर्थाटन माता जानकीको जन्मस्थानबाट सुरू गर्नुभयो । हाम्रो प्रदेशका जनता, जनकपुरबासी र सम्पूर्ण नेपाली हर्षित भएका छौं ।


० केपी ओलीको भारत भ्रमण लगतै मोदीको नेपाल भ्रमण भएको छ । यस्ता भ्रमणहरूले दीर्घकालमा नेपाल र भारतको सम्बन्धमा कस्तो प्रभाव पार्छ ?
— प्रधानमन्त्री ओली भारत भ्रमणमा गएर औपचारिक रूपमा नै नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । त्यही निमन्त्रणलाई स्वीकार गर्दै मोदीको नेपाल भ्रमण भएको हो । आफ्ना भाषणका क्रममा आवत जावतले सम्बन्ध झन् प्रगाढ हुन्ने मोदीजीले नै बताउनुभएको छ । यस्ता भ्रमणहरू भइराख्नुपर्छ भन्ने लाग्छ ।


० जनकपुरमा नागरिक अभिनन्दका क्रममा नरेन्द्र मोदीले गर्नुभएको सम्बोधनलाई कसरी हेर्नुभएको छ ?
— अत्यन्तै राम्रो सम्बोधन थियो । नरेन्द्र मोदीजी विश्वकै उत्कृष्ट भाषण गर्ने प्रधानमन्त्रीमा पर्नुहुन्छ । नरेन्द्र मोदीले नेपालमा गर्नुभएको भाषण मात्र होईन अन्य भाषणहरू पनि मैले हेर्न, सुन्ने गरेको छु । उहाँको शैलीबाट म प्रभावित छु । जनकपुरमा उहाँको प्रस्तुति अद्वितीय थियो । कुनै अर्को देशबाट भ्रमणमा आएको व्यक्तिले हाम्रा गाउँघरका नाम लिनु, दुई देशबीचको समानताको २० औं वटा उदाहरण दिनु, हाम्रो इतिहासको बारेमा वाचन गर्नु सानो कुरा थिएन ।


० उहाँको सम्बोधनको मूल सन्देश के पाउनुभयो ?
— उहाँको सम्बोधनमा दुई देशको सम्बन्ध प्रगाढ हुनुपर्छ भन्ने मुख्य थियो । हाम्रो माता र आस्था एकै, हाम्रो परिश्रमको वासना एकै, हाम्रो पराक्रम एकै, हाम्रो समस्या र समाधान एकै, हाम्रो सभ्यता र संस्कृति एक्कै । यी सबैमा हामी एकै हौं । एउटा सीमाले छेकेको मात्र छ । मोदीजीको सम्बोधनबाट यी सबै विषयहरूलाई पुनस्थार्पित गरेको छ ।


० नरेन्द्र मोदीले जनकपुरधाम र आसपासको क्षेत्रका लागि १ अर्ब रूपैयाँ सहयोग घोषणा गर्नुभएको छ यो रकम कुन क्षेत्रमा खर्च गरिने छ ?
— भगवान रामले सीतालाई लिन कुन–कुन मार्ग भएर आउनुभएको थियो, त्यो सडक अथवा होलीको समयमा परिक्रमा गरिने सडक निर्माणको लागि यो रकम दिइएको हो । प्रदेश सरकारसोही उद्देश्यका लागि यो रकम खर्च गर्छ ।


० यो सहयोग रकम केन्द्रीय सरकार मार्फत दिइने घोषणा भएको छ, यो रकम केन्द्रिय सरकारले खर्च गर्ने कि प्रदेश सरकारले ?
— यो सहयोग प्रदेश सरकार, केन्द्रीय सरकार र जनकपुरधामबीच अन्तरसम्बन्धित रहेको छ । केन्द्रीय सरकार र स्थानीय सरकारले सहकार्य गरी यो रकम खर्च गर्नेछ ।


० भारतले विभिन्न क्षेत्रमा सहयोग घोषणा गर्छ तर समयमा रकम निकासा गर्दैन भन्ने गुनासो छ ?
— भारतको आर्थिक सहयोग मात्रको पनि हामी धेरै ऋणी छौं । भारत सरकारले हाम्रा धेरै बालबालिकालाई छात्रवृत्तिमा पढाएको छ । त्यसको लागि पनि धन्यवाद दिनुपर्छ । घोषणा गर्ने बित्तिकै रकम निकासा हुन्छ भन्ने छैन । त्यो एउटा प्रक्रियागत हिसाबले आउँछ । त्यो प्रक्रियाको क्रममा लागेको ढिलाइलाई स्वभाविक रूपमा लिनुपर्छ ।


० नागरिक अभिनन्दकै क्रममा प्रदेश २ का मुख्यमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो त्यस विषयमा विभिन्न किसिमको टिका टीप्पणी भइरहेको छ । यसलाई कसरी लिनुभएको छ ?
— मुख्यमन्त्रीज्यूले जुन आँटको साथ यो विषय उठाउनुभयो यसको लागि म धन्यवाद दिन चाहन्छु । एमाले र माओवादीको समर्थित सरकार संचालनमा आएदेखि तिनका नेताहरू मनमा कुण्ठा राखेर बोल्ने गर्थे तर मोदीजीको नागरिक अभिनन्दनमा मुख्यमन्त्री राउतले थोरै भएपनि प्रष्टताका साथ कुरा उठाए । उहाँले मधेशी जनताको पहिचान, प्रतिनिधित्व र मधेशी जनतको राज्यसत्तामा पहुँचको बारेमा झन् प्रष्ट पार्नुपर्दथ्यो तर यो सबै कुरा नभने पनि संविधानमा विमति छ हैं भनेर जसरी भन्नुभयो यसको लागि म र मेरो पार्टी मुख्यमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छ । अनेक टिप्पणीकारहरूले यस विषयमा टिप्पणी गरिरहका छन् तर उनीहरूले १२४ जना मधेशीलाई गोली हानेर मार्दा कुनै टिप्पणी नगर्ने ? हामी स्वाभिमानका लागि सडकमा आन्दोलन गर्दा, संविधान संशोधनको विषय उठाउँदा भारतीय विस्तारवादी भन्ने, आज मुख्यमन्त्रीले यी विषयहरू उठाउँदा भारतीय एजेन्ट भनेर तथानाम आरोप लगाउनु कुकर्म हो ।


० मुख्यमन्त्रीको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भयो भनेर पनि आलोचना भइरहेको छ नि ?
— नेपालको संविधान २०७२ को ५,६ र ७ अनुसूचीले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकार उल्लेख गरेको छ । त्यहाँ उल्लेख गरिएकोमा पनि धेरै कुराहरू छुटेका छन् । काठमाडौंका केही टिप्पणीकर्ताहरूले विदेश नीति यस्तो हुनुपर्ने, स्थानीय र प्रदेश सरकारको काम यस्तो यस्तो हो भनेर भन्ने होईन । संविधानको अनुसूचीहरूलाई आधार मान्दा पनि केन्द्रीय सरकारले सबै काम कर्तव्य र अधिकारहरू प्रदेश सरकारलाई नदिएर आफैंसँग राखेको छ । ती अधिकारहरू बाँड्नुपर्छ भन्ने नै हाम्रो माग हो । हिजो पनि हामीले मधेश आन्दोलन गरिरहँदा हाम्रा मोर्चाका अध्यक्षजीहरूले भारतको दिल्ली गएर सबै कुरा सुनाएकै हुन् त्यतिखेर पनि यस्ता टिप्पणीहरू आएकै थियो । तसर्थ हामी यस्ता टिप्पणीको पछाडि लाग्दैनौं । भारत हाम्रो अटुट मित्र हो । रातीको अँध्यारोमा टर्चको आवश्यकता प¥यो भने हामी छिमेकीसँग माग्छौं । त्यही टर्च माग्ने छिमेकी हाम्रो भारत हो । जापानले धेरै राम्रो टर्च बनाउँछ भनेर माग्दा माग्दै रात बित्छ । मुख्यमन्त्रीले सम्बोधनमा जुन विषयहरू उठाए ती उचित थिए ।


० संविधान संशोधनको माग प्रधानमन्त्री केपी ओलीसँग राख्नुपर्ने हो कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ?
— हाम्रो आन्दोलनको एउटा उद्देश्य भनेको मधेशका मुद्दा र मागलाई अन्तर्राष्ट्रियकरण गराउनु पनि हो । देश र दुनियाँमा हामीले आफ्नो पोसाकलाई स्थापित गराउँ, आफ्नो मागलाई स्थापित गराउँ भन्ने उद्देश्य अनुरूप नै हामी सधैं मधेशको मुद्दाहरूलाई अन्तर्राष्ट्रियकरण गरिरहेका हुन्छौं । ओलीज्यूलाई त हामीले कतिपटक भनिसक्यौं ध्यान नै दिनुहुन्न । अझ पनि उहाँले प्रधानमन्त्रीमा समर्थन लिनको लागि तपाईंहरूको संविधान संशोधनको माग पुरा गरिदिन्छु भन्नुभएकै छ । त्यही संविधान संशोधनको सर्तमा बाम गठबन्धले उठाएको राष्ट्रपति र सभामुखको उम्मेदवारलाई मत दियौं र स्वयम केपी ओलीज्यूलाई प्रधानमन्त्री बनाउन पनि हामीले मतदान ग¥यौं । भोट लिइ सकेपछि उहाँ कहिले रारा तालको छेउमा चिसो हावा खाँदै हुनुहुन्छ, कहिले सानो सानो बच्चालाई विद्यालय भर्ना गर्दै हुनुहून्छ, कहिले विदेश घुम्दै हुनुहन्छ अर्थात् प्रधानमन्त्री रमाउँदै हुनुहुन्छ र आफ्नो वाचा बिर्सदैं गइरहुन भएको छ । हामी उहाँलाई दिएको समर्थन यथावत राखौं कि फिर्ता गरौं भन्ने सोचमा छौं । राजपाले निकट भविष्यमा बैठक गरेर यो विषयमा गम्भीर पुनरावलोकन गर्नेछ ।


० मुख्यमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्छ भनेर संसदमा पनि कुरा उठेको छ, तपाईंलाई के लाग्छ ?
— हाम्रा मुख्यमन्त्रीले पनि भनिसक्नु भएको छ म सम्बोधन सच्याउँदिन  । म उहाँलाई समर्थन गरेको गठबन्धनको हैसियतले भन्छु उहाँले थोरै बोल्नुभयो, अझै र अरू पनि बोल्नु पथ्र्यो । संविधानमा विभेद छ र संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा मात्र बोल्नुभयो । यो मुलुकमा मधेशी समुदायको पहुँच, पहिचान र प्रतिनिधित्व स्थापित भएको छैन त्यो विषयमा पनि उहाँ बोल्नुपर्दथ्यो । तर कुनै पनि हालतमा उहाँको आफ्नो अभिव्यक्ति सच्याउनु पर्दैन, उहाँले फिर्ता पनि लिनुहुन्न  ।


० केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुभएको छ संविधान संशोधनको लागि त्यस विषयमा पार्टीभित्र के गृहकार्य भईरहेको छ ?
— राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महनथ ठाकुर अहिले बिरामी हुनुहुन्छ । तर हामी निकट भविष्यमा पार्टीका बैठक सुचारू गछौंं । अब हुने बैठकमा केपी ओलीलाई दिँदै आएको समर्थनलाई निरन्तर राख्ने कि फिर्ता लिने भन्ने विषयमा निर्णय गर्नेछौं । यो सरकारलाई दिँदै आएको समर्थन व्यर्थ हो भन्ने हामीलाई लाग्न थालेको छ । हामीले सरकारलाई समर्थन गर्दै गर्दा राखेका मागहरूमा सरकार गम्भीर देखिएन । त्यसैले अब समर्थनलाई निरन्तरता दिनुको कुनै औचित्य छैन फिर्ता लिनुपर्छ ।


० समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने कि आन्दोलनमा जाने ?
— संर्घष त जारी नै छ । सडक, सदन र सरकारमा जहाँ भए पनि हामी आन्दोलनमै थियौं । अहिले हामी सदन संघर्षमा छौं। आवश्यक प¥यो भने सडक संघर्षमा पनि जान तयार छौं ।


० तपार्ईहरू प्रदेश २ मा सरकारको नेतृत्व गर्ने तर केन्द्रमा प्रतिपक्षमा बस्ने अनि सडक संघर्ष उचित होला ?
— प्रदेश २ मा जनताको म्यान्डेट अनुसार सरकारमा छौं । राजपा र फोरमको संयुक्त गठबन्धनले संयुक्त रूपमा चुनाव लडेपछि स्पष्ट रूपमा हामीलाई बहुमत आयो र सोही मतको आधारमा हामी सरकार सञ्चालन गरिरहेका छौं । केन्द्रको सरकारमा जान हामीलाई अनुमति दिइएन । केन्द्रको सरकारलाई समर्थन गरेका हौं र त्यो पनि निरन्तर हुन्छ कि हुँदैन भन्न सकिन्न । सरकारमा रहेर पनि सडक संघर्ष गर्न सकिन्छ तर अहिले तुरून्तै सडक संघर्ष गर्ने योजना छैन । अहिले सदन संघर्ष जारी छ ।

 

प्रकाशित मिति : २०७५ साल जेठ ४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com