मोदीको भ्रमण र राउतको मन्तव्यबारे मच्चिएको रड्डाको (विचार)

सन्तोष मेहता

विश्वमै लोकप्रिय चमत्कारिक नेता भारतीय प्रधानमन्त्री नरेन्द्रभाइ दामोदरदास मोदीको दुई दिवसीय (२८–२९बैशाख) भ्रमण सफलता साथ सम्पन्न भएको छ । दुबै देशका सरकारले पनि यो भ्रमणलाई उपलब्धिमूलक, ऐतिहासिक र सफल भनेका छन् । भ्रमण सकिए पनि आलोचक र समर्थकहरूबीच कोही नाकाबन्दी शीर्षकमा त कोही २ प्रदेशका मुख्यमन्त्रीले दिनुभएको मन्तव्यलाई लिएर त कोही झण्डाको मुद्दा उठाएर त कोही भ्रमणको शुरूवात जनकपुर किन जस्ता विषयमा आरोप प्रत्यारोपको जुहारी चलिरहेछ । कारण जेसुकैहोस्, केही दिनसम्म अझ देश मोदीमय रहिरहनेछ । अझ केही दिन मोदीको भ्रमणको तरंग मुलुकको आन्तरिक राजनीतिमा चलिरहने सम्भावना छ ।


मोदी पहिलोपटक नेपाल आउँदादेखि नै जनकपुर जान खोजिरहेका थिए । जनकपुर निकै उत्साहित थियो । जनकपुरले सारा तयारी गरिसकेको थियो तर तत्कालीन सरकार सुरक्षालगायत विभिन्न बहानामा त्यसपटकको भ्रमण सफल हुन दिएन । केन्द्रप्रति जनकपुर आक्रोशित भयो । तर, यसपटक स्वयम् मोदीको जनकपुर आउने उतकण्ठ चाहना तथा जनकपुरधामको सरकार र प्रदेश २ को सरकारले जसरी पनि मोदीको जनकपुर भ्रमण होस् भन्ने चाहनाले जनकपुर भ्रमण सफल भएको हो । केन्द्र (संघीय) सरकार र कठमाडौंको मोदीको जनकपुर भ्रमणप्रति खासै उत्साह देखिएन बरू काठमाडौंका केही टपरटुइयाँ बुद्धिजीविले मधेशले गरेको नाकाकेन्द्रित आन्दोलनलगायतका आन्दोलनलाई भारत र मोदीसँग जोडेर मोदीले माफी माग्नुपर्ने लगायतका बकुम्फुसे अभियान चलाइरहेका थिए । आम मधेशी जनमा भने यो भ्रमणप्रति निकै उत्साह देखिएको थियो । मधेशमा मोदी भ्रमणको विषयमा अत्यधिक उत्साह हुनुपछाडि केही खासकारण छन् । नेपाल र भारतबीच भनिएको रोटिबेटी संस्कृतिक बिशेस सम्बन्धको आधार पनि दुवै देशको सीमावर्ती समाज नै हो यसैकारण मधेशी समाजको भारतीय समाजसँग विशेष लगाब र जुनसुकै भारत सरकारप्रति विशेष अपेक्षा रहँदै आएको छ । झन् यसपालीको त भारतीय नेतृत्व महामहिम मोदीको चमत्कारिक व्यक्तित्व र नेतृत्वसँगै नेपालको पछिल्लो संविधान बन्दै गर्दा र त्यसको विरोधमा मधेशी समाजले लामो समयसम्म आन्दोलन गरिरहँदा भारतीय समाज र मोदी सरकारबाट निकै राम्रो सहानुभूति प्राप्त हुनु कारण पनि यो भ्रमण मधेशी समाजका लागि उत्साहको विषय बनेको हो । यसै कारण तमाम चेकजाचको बाबजुद बिहानै बाह्रबिघामा लाखौंको भिड पुगिसकेको थियो । वास्तवमा जनकपुरमा मोदीलाई स्वागत गर्न आएको जनसागर स्वस्फुर्त र अदभुत थियो ।


सम्पूर्ण मधेश खासगरी २ प्रदेशको नागरिकको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाले अभुतपूर्व नागरिक अभिनन्दन गरेको थियो । अभिनन्दनको क्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेल, २ नं. प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत र जनकपुरधामका मेयर लालकिशोर साहले स्वागत तथा अभिनन्दन स्वरूप मन्चमा आफ्ना मन्तब्य राखेका थिए । हाल आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले दिएको अभिव्यक्तिलाई लिएर सुनियोजित रूपमा चारैतिरबाट टिका–टिप्पणी भइरहेको छ । राज्यसत्ताको भाषा बोल्ने केही सञ्चारजगत त्यहीं कुरालाई उचालेर मुख्यमन्त्रीलाई राष्ट्रद्रोही र अपरिपक्क देखाउन उद्धत देखिएका छन् । २८ गते शुक्रबार मोदीका लागि जनकपुरको रंगभूमि मैदान बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधान र सरकारको विरोध गरेका थिए । राउतले सम्बोधनको क्रममा विवादित भएको भनिएको मन्तव्यको अंश यस्तो थियो – ‘यो प्रदेश आर्थिकरूपमा अत्यन्त पिछडिएको हो । राज्यद्वारा मधेशीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेशका जनता तुलनात्मकरूपले अत्याधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शाषित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेश विकासको मामिलामा निकै पछाडी परेको हो । हाम्रो सङ्घर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ, तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् । जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पदमा आसिन हुनुहुन्छ ।’ कार्यक्रम भएयता नेपालका राष्ट्रिीय मिडिया भनिएकाहरू, प्रतिपक्ष दलका नेता संसद, सत्तारूढ दलका सांसद यहासम्म कि प्रधानमन्त्री केपी ओली स्वयम्ले संसदमै, प्रदेश २ का मुख्यमन्त्रीले गरेको राजनीतिक टिप्पणीप्रति लक्षित गर्दै त्यो राष्ट्रिय तथा कूटनीतिक मान्यता विपरीत रहेको भनाइ राखे ।


त्यसको प्रतिवाद गर्दै मुख्यमन्त्री लालबाबु राउतले आफूले पहिलेदेखि उठाउँदै आएको राजनीतिक विषयको चर्चामात्रै गरेको भन्दै त्यसो गर्नु सही कदम भएको टिप्पणी गरेका छन् । त्यसयता मुख्यमन्त्रीको भनाइ जायज वा नाजायज भनेर पक्ष÷विपक्षमा बहस जारी छ । उहाँको वक्तव्यलाई लिएर लगाइएका विभिन्न आरोपहरूको प्रतिवादमा केही शब्दहरू राख्ने प्रयास गरेको छु ।


१. घरेलु समस्या बाहिरका सामु राख्नुहुन्न भन्नेहरूका निम्ति जवाफ– प्रथमतः मुख्यमन्त्रीको वक्तव्यलाई लिएर अहिले अनावश्यक वाहियात बहस चलाइएको छ । ‘मधेश र देशको समस्याबारे भारत अनभिज्ञ छ र ?, ‘संविधान निर्माणको बेला सबैलाई समेट्न र जारी भइसकेपछि कमजोरी सच्याएर सर्वस्वीकार्य बनाउन भारतले नेपाल सरकारलाई आग्रह गरेकै हो । भारत मात्र कहा हो र अमेरिका, बेलायत, सयुक्त राष्ट्र संघ लगायत नेपालसँग सरोकार राख्ने विश्वका को चाही मधेश आन्दोलन र संविधान निर्माण प्रक्रियासँग अनभिज्ञ छ ? संविधान निर्माणताका भएको ऐतिहासिक भीषण आन्दोलन र राज्यले गरेको नश्लीय नरसंहारबाट को चाही अनभिज्ञ छ र ? आजसम्म गुपचुप रहेको देशको इज्जत मुख्यमन्त्रीले उदांगो गरिदिएको भए बहस आवश्यक थियो । तर, यहाँ त्यस्तो ठूलो कुनै मुद्दा नै छैन ।’ परिवारका अभिभावकसँग बारम्बार गुनासो गरेपनि नसुनेको जस्तो गरिरहे पनि बच्चाले काकालाई आफ्नो घरको समस्या सुनाउने परम्परा नेपाली समाजको रहेकै छ । मुख्यमन्त्रीले पनि त्यही त गरेको हो ।


२. निर्वाचनमा गइसकेपछि सबै मिलिसक्यो नि ठान्नेहरूका निम्ति — राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम निर्वाचनमा सहभागी भएपछी सम्पूर्ण समस्या हल भो ठान्नेहरू ठुलो भ्रममा रहेका छन् । वास्तवमा यी पार्टीहरू संविधान संशोधनलगायतका मुद्दाहरू लिएरै निर्वाचनमा सहभागी भएका हुन् । सयौं मधेशी नागरिकको बलिदानीको जगमा उभिएर चुनावबाट विजयी भई आज मुख्यमन्त्री स्थानमा बसेको व्यक्तिले यी मुद्दाहरूलाई भुल्ने कुरै भएन । जनताले यी मुद्दाहरूलाई भुल्नका लागि विजयी गराएर पठाएका हुँदै होइनन् । यो मुद्दालाई स्थापित गर्नका लागि पठाएका हुन् । केही बुद्धिजीवी र केही सञ्चारकर्मीहरू मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतले उठाएको संविधान संशोधनको मुद्दा बेमौसमी हो भन्छन् । अचम्म लाग्दो कुरो के हो भने प्रदेश नं. २ मा यही मुद्दाको आधारमा नै राजपा नेपाल र ससफोका प्रतिनिधिहरूले चुनाव जितेका हुन् । अनि जुन मुद्दा उठाएर जनताले अत्याधिक बहुमत दिएर विजय गराएपछि यो मुद्दा अब जसरी पनि पूरा गर्नुपर्ने होइन र ? अब त राज्यलेजसरी पनि यो संविधान संशोधन गरेर यो मुद्दालाई सम्बोधन गर्नुपर्ने होइन र ? यति कुरा पनि किन बुझ्न नखोजेको हो ? सयौं व्यक्तिका बलिदानीका साथै लाखौं जनता सडकमा आएर ६÷६महिना आन्दोलन गर्दा राज्य कानमा तेल हालेर बस्ने, आन्दोलन बिना उपलब्धी, बिना सम्झौता स्थगित गर्न बाध्य पार्ने, पराजित भएको ठानिरहने हो भने घरेलु समस्या विश्वव्यापी भैहाल्छ नि । यो कुनै नौलो र आश्चर्यको विषय होइन । मुख्यमन्त्री राउतजीले राजपा र फोरमको चुनावी घोषणापत्र बमोजिम नै मन्तव्य दिने कार्य गरेका छन् । यो उनको धर्म पनि हो ।


३. कुटनैतिक मर्यादाविपरीत भयो भन्नेहरूका निम्ति — संविधान संशोधनको निम्ति नेपाल सरकारले बहालवाला आफ्नो परराष्ट्रमन्त्रीद्वारा ४ बुंदे पेपर दिल्लीमा बुझाउने त्यहाँ कुटनैतिक मर्यादाको उल्लंघन भएको नहेर्ने तर छिमेकी सहयोगी सहयात्री राष्ट्रका प्रमुखको उपस्थितिमा, आफ्नै देशका संघीय (केन्द्रीय) सरकारका प्रतिनिधिहरूको सामुन्ने, आफ्ना नागरिकको बिचमा नागरिकहरूकै तर्फबाट नागरिकहरूकै आवाज आफ्नै भूमिमा राखिँदा कसरी कुटनैतिक मर्यादाको उल्लंघन हुन्छ ? महामहिम मोदीज्यूलाई विदेशी राष्ट्रका प्रमुख मात्रै ठानिनु हुन्न, उहाँ हाम्रा छिमेकी देशका भारतका प्रमुख हुनुहुन्छ, नेपाल र भारतको बिचको सम्बन्ध कुटनीतिक मात्र होइन अपितु राजनीतिक र परिवारिक पनि हो । स्वयम् मोदीले पनि सम्बन्धको नयाँ आयाम सबै नीतिभन्दा फरक नीति देवनीतिको कुरा गर्नुभएको थियो, यस्तो सम्बन्ध रहेको मुलुकसँग केवल कुटनीतिक सम्बन्धमात्रै रहन सक्तैन । त्यसैले मुख्यमन्त्री राउतजीले उपयुक्त जायज कार्य गर्नुभएको छ ।


४. संवैधानिक पदमा बसेर त्यहीं संविधानको विरोध गर्नुहुन्न भन्नेहरूका निम्ति — हामी सबैलाई ज्ञात हुनुपर्ने हो कि करिब ९ महिना पहिले नै अहिलेको हुबहु संविधान बहुमतले अस्वीकृत गरिसकेको छ अर्थात् संविधान संशोधन गर्ने पक्षमा संविधान बनाउनेहरूमध्येबाट नै ६३% सभाषद् थिए । कूल ५५% मत खसेको मतमध्ये संविधान संशोधनको उक्त प्रस्तावको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो । तर पक्षमा परेको मत संसदमा तत्काल कायम सभासद सदस्य संख्याको दुई तिहाई नपुगेकाले सो विधेयक अस्वीकृत भएको थियो । सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र तथा मधेशकेन्द्रित दलहरूले उक्त विधेयकको पक्षमा मत दिएका थिए । तर प्रमुख प्रतिपक्षी नेकपा एमाले, तथा केही साना दलले उक्त विधेयकको विपक्षमा भोट दिए । संविधान संशोधन विधेयक निर्णयार्थ संसदमा पेश भएपछि मात्र तिनै तहको चुनाव सम्भव भएको हो जुन राजपा नेपालको चुनावमा सहभागी हुने पूर्वशर्त थियो । अर्थात् वैधानिक रूपमै बहुमत संसदले संविधान संशोधन आवश्यक रहेको स्वीकार गरिसकेपछि मुख्यमन्त्री राउतले विभेदकारी संविधान विरूद्धको संघर्ष जारी रहेको भन्नु स्वाभाविक थियो । वास्तवमा मुख्यमन्त्रीज्युले त्यसो नगरेको भए यो मुद्दा झन् भयावह भइ अर्कैतिर मोडिने थियो । राजपा फोरमले मधेश मुद्दा छाडेको संदेश जान्थ्यो, मुद्दा अर्कैतिर कन्भर्ट हुन्थियो, जुन सार्वभौम देशको हितमा हुने थिएन ।


५. कुरा सहि भए पनि ठाउँ गलत भएको ठान्नेहरूको निम्ति — जनकपुरधाममा भएको महामहिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेपाल सरकारका तर्फबाटमा रक्षामन्त्री ईश्वर पोख्रेलज्युले पनि स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले राख्नुभएको मन्तव्यमा “हालै सम्पन्न निर्वाचनपछि नेपाल पनि शान्ति, स्थायीत्व र समृद्धिको मार्गमा अघि बढ्दै संविधानको प्रभावकारी कार्यान्वयनको मार्गमा अग्रसर भएको विषय प्रस्तुत गर्न पाउँदा हामीलाई खुशी लागेको छ । राजनीतिक मुद्दाहरूको समाधानसँगै मुलुकको विकास र जनताको समृद्धिको काममा हामी पूर्णतः कार्यरत छौं ।’ भनिएको थियो । यहानिर प्रश्न उठ्दछ कि के साच्चै नेपालमा राजनीतिक मुद्दाको समाधान भएको हो ? तिनै तहको निर्वाचनपश्चात मधेशलगायत उत्पीडित क्षेत्रले उठाउँदै आएको मुद्दा विसर्जन भइ मुलुक समृद्धिको मार्ग र संविधान कार्यान्वयनको मार्गमा अघि बढेको हो ? अवश्य पनि यो सत्य होइन । माननीय ईश्वर पोख्रेलले राख्नुभएको फतुर कुरा पश्चात माननीय मुख्यमन्त्रीले सत्य कुरा त्यस फोरममा नराखेको भए अनर्थ हुन्थियो तसर्थ उहाँले राख्नुभएको कुरा र ठाउँ दुवै जायज मात्र होइन अपितु आवश्यक पनि थियो ।


अन्त्यमा यासस्वी महामहिम भारतीय प्रधानमन्त्रीज्युको नेपाल भ्रमण पूर्णरूपमा सफल भएको छ । जनकपुर आउने उहाको पुरानै आकांक्षा त थियो नै तर भारतबाट सिधै जनकपुर आएर दिन खोज्नुभएको संदेश मधेश र देशले बुझेको हुनुपर्छ र मधेशले पनि उहाँलाई दिएको अपार माया स्नेह र सम्मानको अर्थ एवं जनकपुरले दिन खोजेको संदेश पनि उहाँले बुझ्नु भएकैले नै शायद ध्यान अन्यत्र मोड्नको निम्ति राज्यद्वारा प्रायोजित रूपमा अनावश्यक धुन्दता सिर्जना गर्न खोजिएको हो । यो सफलताको श्रेय एवं धन्यवाद जनकपुरधामका प्रमुख लालकिशोर साह र प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी (जो मुस्लिम भएर पनि बहुसंख्यक हिन्दुहरूको आस्थाको सम्मान गरेका छन्) लाई दिनुको साटो उल्टै अनावश्यक विवाद सिर्जना गर्न खोजिदैछ जुन निन्दायोग्य छ । वाहियात रड्डाको मच्चाउन खोजिएको हो । जुन भत्र्सनायोग्य छ ।
(मेहता राजपा नेपालका प्रवक्ता हुन्)

adobcnepal@gmail.com

प्रकाशित मिति : २०७५ साल जेठ ४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com