दुईबुँदे सहमतिले संशोधनको भावनालाई व्यक्त गर्दैन : डम्बर खतिवडा

प्रवक्ता, नयाँ शक्ति पार्टी नेपाल


० नेपालमा वैकल्पिक शक्तिको रूपमा तपार्इँहरूले नयाँ शक्ति पार्टी नेपाल गठन गरेको दुई वर्ष पुरा भएको छ । यस अवधिमा के–कस्ता उपलब्धी हासिल भएको छ ?
— पहिलो कुरो त नयाँ शक्ति पार्टी यो देशमा किन आवश्यक थियो भन्ने कुरा प्रष्ट गर्न सफल भयौं । एक्काइसौं शताब्दीमा आइपुग्दा नेपालमा नयाँ वैकल्पिक विचारधाराको आवश्यकक्ता छ भनेर नै हामीले यो पार्टी स्थापना गरेका थियौं । पार्टी गठन भएको दुई वर्ष नपुग्दै स्थानीय, प्रादेशिक र संघीय निर्वाचनको सामना गर्नु प¥यो । प्रारम्भिक अवस्थामै हामीले नेपालको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भयौं । तीनै तहको निर्वाचनमा थोरै भए पनि आफ्नो उपस्थिति जनाउन सक्यौं । यो छोटो अवधिमा राजनीतिक उपलब्धिको पाटो रह्यो भने नयाँ विचारधारामार्फत आफ्नो उपस्थितिलाई जनाउन सक्यौं ।


० जुन नारा दिएर नयाँ शक्तिको गठन भयो, त्यसलाई जनताले अनुमोदन गरेको पाइँदैन नि ?
— हामीलाई जनताले अनुमोदन गरेन भन्ने कुरा लाग्दैन । २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले २०७४ सालको निर्वाचनमा मात्र बहुमत ल्याउन सक्यो । नेकपालाई ६८ वर्ष लाग्यो देशको सत्तामा आउन । तर हामीले डेढ वर्षभित्रै आफ्नो अस्तित्व स्थापित गर्न सफल भएका छौं । नेपाली जनताले कुनै नयाँ राजनीतिक दललाई सहजै मतदान गरिहाल्ने खालका छैनन् । जनतालाई कुरो बुझाउनुपर्छ, संगठन बनाउनुपर्छ अनि मात्रै मत दिन्छन । त्यसो भएको हुनाले जनताले त्यति साथ दिएन भन्ने कुरा सहि होइन ।


० नयाँ शक्ति पार्टी नेपालले दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । पार्टीको आगामी योजना के छ ?
— राजनीतिमा नीति र रणनीतिको महत्व हुन्छ । ती सब कुरा घोषणा गर्नुभन्दा पनि त्यो मुख्य उद्देश्य नै भन्ने हो । हामी नेपालको राजनीतिमा अहिले मुख्यतः पाँचवटा समस्या देखिरहेका छौं ं । ती पाँचवटा समस्याहरू अन्य पार्टीबाट समाधान हुँदैन । हामीले उठाएका कुरालाई जनताको बीचमा निरन्तर राखिरहने र जनताको समर्थन प्राप्त गर्ने मुख्य कुरा हो । हामी शान्तिपूर्ण आन्दोलन र जनपरिचालनमा विश्वास गर्छौं । आउँदो दुई÷तीन वर्षमा अधिकतम् रूपमा संघर्ष गर्ने, एजेन्डाहरूलाई जनस्तरसम्म पु¥याउने, देशमा राजनीतिक धु्रवीकरणको प्रक्रियामा भूमिका खेल्ने र तेस्रो ध्रुव अर्थात् ‘थर्ड पोल’ निर्माण गर्ने हाम्रो योजना हो । नेपालमा वैकल्पिक समाजवाद धारको अभाव छ । एकातिर कांग्रेस छ जसले नवउदारवाद, पुँजीवादको नेतृत्व गरिरहेको छ भने अर्कोतिर कम्युनिष्टहरू छन् जसले विश्वव्यापीरूपमा असफल भइसकेको विचारधाराको नेतृत्व गरिरहेको छ । ती दुवैभन्दा फरक एउटा वास्तविक समाजवादी, सहभागितामूलक, समावेशी लोकतन्त्रमा विश्वास गर्ने खालको पार्टी निर्माणका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिहेका छौं ।


० अहिले मुलुक मुख्यतः दुई धारमा ध्रुवीकृत भएको देखिन्छ, एउटा प्रजातान्त्रिक र अर्को वामपन्थी । तपार्इँहरू कुन धारतिर हुनुहुन्छ ?
— जसले आफूलाई वामपन्थी भन्छन् उसलाई हामी वामपन्थी मान्दैनौं र जसले आफूलाई प्रजातन्त्रवादी भन्छन् तिनीहरूलाई पनि प्रजातन्त्रवादी मान्दैनौं । देशमा वास्तविक वामपन्थी र लोकतान्त्रिक शक्तिको अभाव छ । जसले लोकतन्त्रलाई अझै बलियो बनाओस् र जसले समाजवादको कार्यक्रमलाई अझ इमान्दारितापूर्वक लागू गरोस् । अहिले कम्युनिष्ट सरकारले ल्याएको बजेटलाई हेर्नुस्, कहाँनेर वामपन्थ छ ? कहाँनेर समाजवाद छ ? त्यसैले नाम कम्युनिष्ट राखेर हुन्छ ? त्यसैले नामको पछाडि नजानुस् । नामले कोही वामपन्थी होलान्, कामले उनीहरू यथास्थितिवादी होलान् । नामले लोकतन्त्रवादी होलान् कामले उनीहरू नवउदारवादी होलान् । हामी यी दुईटै ध्रुवमा हुँदैनौं ।


० भनेपछि तपार्इँहरूको धार के हो ?
— हामी वास्तविकरूपमा लोकतन्त्र र समाजवादमा विश्वास गर्ने पार्टी निर्माणमा लागेका छौं ।


० तर, नेपाल कम्युनिष्ट पार्टीसँग नयाँ शक्ति पार्टी नेपालले एकीकरण गर्न लागेको सुनिन्छ नि ?
— त्यो वाहियात कुरा हो । केही फोकटिया मान्छेहरूले गरेका यस्ता प्रचारबाजी छन् । उनीहरू राजनीति बुझ्दैनन् वा बुझेर पनि गलत तरिकाले हल्ला फिजाउँदैछन् । निहीत उद्देश्यले फैलाइएको हल्ला मात्र हो ।


० नेकपासँग एकीकरणको कुनै सम्भावना छैन ?
— हामी कहीं पनि जाँदै जाँदैनौं । सबै प्रष्ट भए हुन्छ ।


० यो सरकारले प्रस्तुत गरेको बजेटलाई कसरी हेर्दै हुनुहुन्छ ?
— यो बजेट एकदम परम्परावादी, यथास्थितिवादी छ । यो बजेटमा करिब ६४ प्रतिशत चालु खर्च राखिएको छ र विकास खर्च करिब २३ प्रतिशत मात्रै छ । यसको अर्थ के हो भने देशमा एक सय रूपैयाँ आम्दानी हुन्छ भने विकास निर्माणमा २३ रूपैयाँ मात्र खर्च भइरहेको छ । अब त्यो खर्च पनि हुन्छ कि हुँदैन ग्यारेन्टी छैन । बजेटलाई हेर्दा यो एकदमै यथास्थितिवादी र कतिपय अर्थमा यो प्रतिगामी पनि छ ।


० भनेपछि यो बजेटले आर्थिक समृद्धिको बाटो तय गर्न सक्दैन ?
— प्रधानमन्त्रीले समृद्धि शब्दलाई नाराको रूपमा प्रयोग गर्नुभयो । बजेटमा त्यसको कहीं पनि झल्को आउँदैन ।


० अर्को सन्दर्भ, नेकपाले संविधान संशोधन गर्छौ भनेर संघीय समाजवादी फोरम नेपालसँग दुईबुँदे सहमति ग¥यो, संशोधन गर्ला त ?
— संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन । उपेन्द्रजीहरू भ्रममा पर्नुभयो । एक त सरकारमा जाने हतारो नैतिक रूपमा सहि छैन । किनभने संसारमा लोकतन्त्र वा बहुदलीय व्यवस्था भएको देशमा हेर्नुभयो भने कि त तपाइँ त्यो गठबन्धनमा सहभागी दल हुनुपर्छ कि सरकार गठबन्धनका लागि बहुमत नपुग्दा सरकारमा सहभागी हुनुपर्ने अवस्था हुन्छ । चुनाव अगाडि फोरम नेपाल नेकपासँगको सहयोगी दल त थिएन, उसले त विरोधी दलको रूपमा चुनावमा भाग लिएका थिए । मानौं नेकपासँग यदि बहुमत थिएन भने बहुमत पु¥याउनका लागि अर्को विरोधी दलसँग गठबन्धन बनाउन गयो बुझिन्थ्यो । तर यो सरकार त पूर्ण बहुमतको सरकार छ । उपेन्द्रजीहरू चुनावमा विरोधी दलको रूपमा भाग लिनुभयो र बहुमतवाला सरकारमा घुस्रिनुभयो । उपेन्द्र यादवको यो कदमले मधेशी जनता, मधेश आन्दोलन र मधेशका शहीदहरूको पनि अपमान भएको छ । उहाँको यो कार्य दुःखद, आश्चर्यजनक र लज्जाजनक पनि हो ।


० सरकारमा सहभागिताकै लागि यो दुईबुँदे सहमति भएको हो ?
— यो दुईबुँदे सहमतिले संविधान संशोधन गर्ने भावनालाई व्यक्त गर्दैन । सरकारमा जाने भ¥याङ मात्र बनाइएको हो ।


० त्यसो भए संविधान संशोधन हुँदैन ?
— संविधान संशोधन हुनुपर्छ भन्ने पक्षधर हाम्रो पार्टी हो । हामी चार पाँचवटा मुद्दामा संविधान संशोधन चाहन्छौं । त्यो पक्षमा सरकारमा भएका पार्टीहरूले संशोधन प्रस्ताव ल्यायो भने हाम्रो पार्टीको समर्थन रहन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, सीमांकनमा नमिलेका प्रश्न, संघीयतामा प्रदेशहरूलाई धेरै अधिकार दिनुपर्ने कुरा लगायतका विषयमा सरकार पक्षले प्रस्ताव ल्याउनु भयो भने हामी समर्थन गर्छौं । तर सरकार त्यतातिर गएको देखिएको छैन ।


० मधेशमा दई प्रदेश भन्ने जुन माग छ, यसमा तपार्इँहरूको धारणा के छ ?
— संविधान जारी गर्ने बेलामा जसरी १६ बुँदे सम्झौता भएको थियो, त्यसले संघीयताको ढाँचालाई रातारात मोडियो । किनकि नेपालमा राज्य पुनर्संरचनाको विषयमा कि १० प्रदेशको कि त १२ प्रदेशको कुरा भइरहेको थियो । उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगले १० प्रदेशको खाका दिएको थियो । राज्य पुनर्संरचनाको प्रक्रिया कहीं न कहीं अधुरो, अपूरो छ । जहाँसम्म कुरा रह्यो कि मधेशमा दुई प्रदेश–त्यसमा म ठ्याक्कै मधेशका आधा–आधा जिल्लालाई दुई प्रदेशमा विभाजित गर्नुपर्छ भन्न सक्दिन । तर, अहिलेको जुन सीमांकन छ त्यो जनताको माग अनुरूप छैन, मधेश आन्दोलनको एजेन्डा अनुरूप पनि छैन र संघीयताको सिद्धान्तअनुरूप पनि छैन । यो दीर्घकालसम्म जाने पायक पर्ने खालको सीमांकन भएको छैन ।


(मधेशवाणीकालागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

 

प्रकाशित मिति : २०७५ साल असार १ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com