भारतको सहयोगमा निर्माण भएको प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन

काठमाडौं, २६ असार । भारतको सहयोगमा निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् । मंगलबार उद्घाटन कार्यक्रममा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीको उपस्थितिमा प्रज्ञा प्रतिष्ठानको तीनतल्ले पुस्तकालय भवनको उद्घाटन भएको हो ।

उक्त पुस्तकालय निर्माणका लागि नेरु ४३.९४ मिलियन भारतले सहायोग गरेको थियो । सो उद्घाटन समारोहमा सहरी विकास, संस्कृति, नागरिक तथापर्यटन मन्त्रालयका प्रतिनिधिहरु, सामाजिक अगुवाहरु तथा भारत–नेपाल सम्बन्धका थुप्रै व्यक्तित्वहरुको उपस्थिति थियो ।

नवनिर्मित उक्त पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरुलाई खोज तथा सन्दर्भ सम्बन्धि सुविधा प्रदान गर्नेछ । पुस्तक प्रकाशनका लागि पुस्तकालयमा उच्चस्तरीय अफसेट प्रेसको सुविधा पनि हुने काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना लिएको छ । यस पुस्तकालयले भारत र नेपालबीचको मैत्री सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई दुवै देशका कलाकार तथा प्राज्ञहरुबीच दरिलो सम्बध विकास गर्न पनि मद्दत गर्नेछ ।

भारत सरकारले हालसम्म काठमाडांै जिल्लामा नेरु ४८६.५ मिलियन बराबरका आयोजनाहरु सम्पन्न गरिसकेको छ । यस्ता आयोजनाहरु अन्तर्गत विद्यालय, पुस्तकालय, अस्पताल तथा अन्य स्वास्थ्य सुविधाहरु, आर्ट ग्यालरी, खाद्यल्याब र महिला तथा छात्राहरुका लागि छात्रावास भवन र सामुदायिक केन्द्रहरु पर्दछन् ।

हाल यहाँ भारतीय सहयोगमा नेरु ४०७ मिलियन बराबरका बाह्र वटा आयोजनाहरु विभिन्न चरणहरुमा निर्माणरत छन् । यसका अतिरिक्त भारत सरकारले काठमाडांै जिल्लाका विभिन्न संस्थाहरुलाई ४७ वटा एम्बुलेन्स, ३ वटा विशेष मेडिकल भ्यान र ४१ वटा बसहरु योगदान गरिसकेको छ ।

सन् १९५७ मा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको स्वामित्व भएको संस्था हो जुन भारत साहित्य एकेडेमीको समकक्षी रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरुलाई समन्वय गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन, खोज र सांस्कृतिक कएवं बौद्धिक क्षेत्रको समग्र विकासका लागि समर्पित प्रमुख राष्ट्रिय संस्था हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com