अनावश्यक दबाब दिएको भन्दै मेयरद्वारा फोरम परित्याग

वीरगञ्ज, २९ भाद्र । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संघीय समाजवादी फोरम नेपालबाट राजीनामा दिएका छन् । उनले फोरमका नेताहरुको तर्फबाट बारम्बार अनावश्यक दबाबहरु आइरहेको कारणले थेग्न नसकेर पार्टी नै परित्याग गर्नुपर्ने अवस्था आएको मेयर सरावगी निकट स्रोतले मधेशवाणीलाई बताएका हुन् ।

मेयर सरावगीले राजीनामा पत्र लेखेर सम्बन्धित पक्षलाई दिएपनि सो राजीनामापत्र सार्वजनिक गरिएको छैन । जनताको अपेक्षा अनुसार काम गर्न खोज्दा पार्टीको तर्फबाट विभिन्न किसिम डिमान्डहरु आइरहने कारणले गर्दा सोचेजस्तो काम गर्न नसकिएको स्रोतको दाबी छ ।

महानगरपालिकालाई फोरमको कार्यकर्ता भर्ना केन्द्रमा परिणत गर्न खोजिएको समेत स्रोतले बतायो । स्रोतका अनुसार मेयर सरावगी अब स्वतन्त्ररुपमा निष्पक्षताका साथ जनताको हितमा काम गर्न सजिलो हुनेछ ।

मेयर सरावगी फोरम नेपालको तर्फबाट वीरगन्ज महानगरपालिकामा निर्वाचित भएका थिए । वीरगन्ज महानगरपालिका प्रदेश २ को एक मात्र महानगर हो ।

पार्टीले मेयरको राजिनामा बारे औपचारिक रुपमा कुनै प्रतिकृया जनाएको छैन । यता, फोरमले मेयर सरावगीमाथि विभिन्न आरोपहरु लगाउन थालेको छ । फोरम स्रोतका अनुसार मेयर सरावगीले अनियमितता गरेको भन्दै फोरमले छानबिन गर्न थालेपछि राजीनामा दिएको हुन सक्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com