अयोध्यामा राम मन्दिरको शिलान्यास

समाचार

       

काठमाडौं, २१ साउन । भारतको अयोध्यामा बुधबार राम मन्दिरको भूमिपूजन शिलान्यास भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो राम मन्दिर निर्माणका लागि भूमि पूजन गरी मन्दिरको शिलान्यास गरेका हुन । उनले चाँदीको इँटा राखेर मन्दिरको शिलान्यास गरे ।

धार्मिक अनुष्ठानको दोस्रो दिन मंगलबार राम रामार्चा पूजा भएको थियो । काशी र अयोध्याका नौ वेदाचार्यले मन्त्रोच्चारण गर्दै पूजा गराएका थिए ।

अयोध्यालाई राममय बनाउने क्रममा नयाघाटमा मंगलबार दिपोत्सव मनाइएको थियो । त्याँ ५ लाख ५१ हजार बत्तीबाट उक्त क्षेत्रलाई चम्किलो बनाइएको थियो ।

साकेत महाविद्यालयबाट हनुमानगढीसम्म लगभग डेढ किलोमिटरको क्षेत्र अलग रंगले सजाइएको छ । सडकका दुवै किनारमा भवन पहेंलो रंगमा सजाइएको छ ।

सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइ दिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो ।

यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो ।

गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो ।

अदालतले मुस्लिम मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतभरका भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् । उनीहरुले सिक्का, इँटा र बारको रुपमा यी बहुमूल्य धातुहरु मन्दिर निर्माणमा प्रयोग गर्न दिएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार केही वर्षयता मन्दिर निर्माणको लागि भक्तहरुबाट संकलन गरिएको ‘श्री राम’ लेखिएको दुई लाख इँटा मन्दिरको आधार निर्माणको लागि प्रयोग हुनेछ ।

तपाईको प्रतिक्रिया