असोज ३ लाई हामी सदैव कालो दिनकै रुपमा स्मरण गर्छौं : वृषेश चन्द्र लाल

केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल

अन्तर्वार्ता

       

० जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसमा के छ ?

— वास्तविकता के छ भने असोज ३ कालो दिवस नै हो । मधेशी, थारु, आदिवासी जनजाति र सीमान्तीकरणमा परेका समुदायहरुका निम्ति अयोज २ ३ गते कालो लिवस नै हो । किनभने त्यस दिनमा हाम्रो सहमति र सहभागिताबिना संविधान लादिएको थियो । हामीले जुन माग प्रस्तुत गरेका थियौं, त्यस मागलाई नकार्दै राज्यले जबर्जस्ती संविधान घोषणा गरेको हो । आन्दोलनको क्रममा राज्यले मधेशी र थारुहरुमाथि निर्मम दमन गरेर ६० भन्दालाई शहादत प्राप्त गर्न बाध्य तुल्याएको थियो, हजारौं व्यक्तिहरु घाइते भएका थिए, सयौं अपाङ्ग भएका थिए । त्यसकारण असोज ३ नेपालको इतिहासमा कालो धब्बा हो । यो दिनले नेपालको इतिहासलाई नै कलंकित गरेको छ । त्यसकारण, असोज ३ लाई हामी यस्तै स्मरण गर्न बाध्य छौं ।

० भनेपछि जसपाले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउँछ ?

— त्यो त पार्टीले निर्णय गर्ला । त्यसको गृहकार्यमा नेताहरु हुनुहुन्छ । यो दिनलाई सदैव नै कालो दिनकै रुपमा स्मरण गरिन्छ ।

० गत वर्ष जसपाका अर्का घटक पूर्व समाजवादीले संविधान दिवसमा मौन बस्यो । न संविधान दिवस मनायो न त विरोध नै गर्‍यो । अहिले राजपा र समाजवादी एक भइसकेपछि अलमलमा परेको हो ?

— गत वर्ष पनि संविधान दिवसको सन्दर्भमा दुवै पार्टीको कुनै तात्विक मतभेद थिएन । दुवै पार्टीका कार्यकर्ताहरुले यसलाई कालो दिवसकै रुपमा स्मरण गरे । अहिले एकीकरण भइसके पछि पनि मतभिन्नता हुने आधार नै छैन ।

० तर, गत वर्ष समाजवादी पार्टीले संविधान दिवसको विरोध वा समर्थन केही पनि नगर्न ह्वीप नै जारी गरेको थियो । प्रदेश २ मा कालो दिवस मनाउँदा कारबाही गर्ने माग पनि समाजवादीमा उठेको थियो नि ?

— त्यसबेला उहाँहरुको आफ्नै किसिमको धारणा थियो । उहाँहरु संविधान संशोधनका निम्ति सरकारसँग छलफलमा हुनुहुन्थ्यो । उहाँहरुलाई विश्वास थियो कि संविधान संशोधन हुन्छ । तर, उहाँहरुले यो कालो दिवस होइन भनेर त्यतिखेर पनि भन्नुभएको थिएन । समाजवादीका धेरै कार्यकर्ताहरु जिल्ला–जिल्लामा असोज ३ लाई कालो दिवसका रुपमा नै स्मरण गरेका थिए ।

० गत वर्ष तत्कालीन समाजवादीका अध्यक्ष उपेन्द्र यादव नेपाल सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसले गर्दा उहाँले संविधान दिवसको विरोध गर्न सक्नुभएन कि ?

— सरकारको उपप्रधानमन्त्रीको रुपमा रहँदा आफ्नै केही मर्यादा र सीमा हुन्छ । त्यो सीमा र मर्यादालाई उहाँले मान्नुभएको होला । तर उहाँले यो कालो दिवस होइन, संविधानलाई स्वीकार गरिसकेको भनेर त कहिल्यै भन्नुभएन । उहाँ संविधान संशोधनका निम्ति नै सरकारमा हुँदा पनि संघर्ष गरिरहनु भयो । संविधान संशोधन गर्न सरकार तयार नभएपछि सरकारबाट बाहिरिनुभयो ।

० संविधानको विरोध गर्ने राजनीतिक वा नैतिक आधार जसपासँग छ त ?

— निश्चित रुपमा संविधानको विरोध गर्ने राजनीति र नैतिक आधार जसपासँग छ । त्यसैका निम्ति जसपा लड्दै आएको छ । समाजवादी र राजपा सुरुदेखि नै यो संविधान हामीलाई स्वीकार्य छैन । यसमा मधेशी, थारु, आदिवासी जनजातिको जुन मागलाई सम्बोधन गरिएको छैन । जबसम्म हाम्रो मागअनुरुप संशोधन गरेर सर्वस्वीकृत संविधान बनाइदैन तबसम्म हाम्रो संविधान हुन सक्दैन । यो कुरा त दुवै पार्टीले भन्दै आएको छ । अहिले पनि जनता समाजवादीको घोषणापत्रबाट यी कुराहरु प्रष्टरुपमा जनता समक्ष आइसकेको छ । यो संविधानलाई हामी स्वीकार गर्दैनौं, संशोधनहरु आवश्यक छन् । त्यो संशोधन मधेशी, थारु, आदिवासी जनजातिको आकांक्षाअनुरुप हुनुपर्छ । अनि मात्रै यो संविधान सबैका निम्ति स्वीकार्य हुनसक्छ ।

० तपाइँहरुले संविधानकै शपथ खाएर विभिन्न सुखसुविधा लिनुहुन्छ, प्रदेश २ मा सरकार बनाउनुभएको छ । तर, संविधान दिवस मनाउँदैनौं, कालो दिवस हो भनेर जनतालाई भ्रमित गर्दै हुनुहुन्छ नि ?

— यो संकुचित सोच हो । किनभने यो संविधानमा धेरै सकारात्मक पक्षहरु पनि छन् । हामीले संविधानलाई संशोधन गर्ने कुरा गरिरहेका छौं । हामीले यो संविधानका सबै कुरा अमान्य छ भन्ने कुरा भनेका छैनौं । यो संविधानमा हाम्रो आकांक्षाको सम्बोधन गरिएको छैन भनेर भनेका छौं । यो संविधानले संघीय संरचनालाई जस्तो हुनुपर्ने हो त्यस्तो प्रस्तुत गरेको छैन । तर संघीय संरचनामा प्रवेश भएको छ । समावेशिताको जुन रुप हुनुपर्ने हो त्यो दिन सकेको छैन, तर समावेशितालाई यो संविधानले स्वीकार गरेको छ । त्यसैले हामीले भनेका छौं कि संविधानको संशोधन आवश्यक छ । अर्को कुरा, संविधानका जे जति कुराहरु छन्, जुन मर्म छ त्यसलाई पनि संविधान बनाउनेहरुले पालना नगरिरहेको प्रष्टै देखिन्छ । संविधानमा भएका कुराहरुलाई पालना नगर्ने मानसिकतामा छन्, अवश्य पनि यो संविधानको निर्माणकर्ताको मानसिकता इमान्दारीपूर्ण थिएन । जहाँसम्म निर्वाचनमा भाग लिने, जनप्रतिनिधि हुने कुरा छ, यो त हाम्रो आन्दोलनको रणनीति हो । हामी निर्वाचनमा भाग लिन्छौं, आफ्ना एजेन्डा जनतासमक्ष राख्छौं र जनताको समर्थन हामीसँग छ । त्यस कुरालाई हामी दुनियाँको अगाडि राखेर यो संविधानमा के–के संशोधन आवश्यक छन्, त्यस कुराका बारेमा हामी प्रकाश पार्छौं । त्यसका निम्ति हामी संघर्ष गर्छौं । मधेशी, थारु, आदिवासी जनजातिहरुको राज्यको निकायमा सहभागिता नचाहनेहरुले हामीविरुद्ध विभिन्न कुतर्कहरु गर्ने गरेका छन् । हामी संवैधानिक तरिका र अहिंसक संघर्षको माध्यमबाट अहिलेसम्म अगाडि बढ्दैछौं । सोहीअनुरुप प्रतिनिधिसभा, राष्ट्रियसभामा भाग लिएर आफ्ना कुराहरु राख्दैछौं । यसप्रति यदि कसैको आपत्ति छ भने उहाँहरुको मानसिकतालाई नै प्रष्ट पार्दछ ।

० संविधानमा रहेका विभेदका धाराहरु र समाधानसहितको सूचि तपाइँहरुले जनतामाझ किन सार्वजनिक गर्नु हुन्न ?

— बिल्कुल सार्वजनिक छ । हामीले १०+१ को संघीय संरचनाको अवधारणा राखेका छौं । राष्ट्रियसभामा जुन प्रतिनिधित्व छ अहिले ५४ लाख जनसंख्या भएका प्रदेशको पनि आठ जना र १४ लाख जनसंख्या भएको प्रदेशको पनि आठ जना लोकतान्त्रिक मान्यताअनुरुप छैन । त्यसकारणले राष्ट्रियसभा वा प्रतिनिधिसभाको चुनाव जनसंख्याको आधारमा हुनुपर्छ । सीमान्तकृत जनताहरुको समावेशिताको अधिकारलाई संविधानले पनि सुनिश्चित गर्नुपर्छ र संविधानअन्तर्गतका ऐन कानूनहरु पनि स्थापित गर्ने कुरातिर अगाडि बढ्नुपर्छ । हाम्रा संस्कृति, भाषाले मान्यता पाउनुपर्छ । यी कुराहरु हामीले लगातार प्रष्ट गर्दै आएका छौं । अहिले जनता समाजवादी पार्टीको घोषणापत्र पारित गरिएको छ, त्यसमा यी सबै कुरा प्रष्टसँग पुनः उल्लेख गरिएको छ । हाम्रो एजेन्डा र आन्दोलनका माग नै यही हो ।

० अब अन्त्यमा, जनता समाजवादी पार्टी गठन भएको पाँच महिना हुन लागेको छ, केन्द्रीय समिति गठनमा पूर्वराजपाभित्र भागवण्डा नमिलेर ढिलाई भइरहेको हो ?

— केन्द्रीय समिति निर्माणको विषयमा जसरी प्रचार गरिएको छ, त्यो किसिमको कुनै विवाद छैन । केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाँच जना नेतालाई केन्द्रीय समिति निर्माणको जिम्मा दिएको छ । त्यसअनुरुप उहाँहरु गृहकार्य गर्दै हुनुहुन्छ । दुवै पार्टीका नेताहरुको मूल्यांकनमा उहाँहरु व्यस्त हुनुहुन्छ । कोरोनाले गर्दा पनि अहिले सहज वातावरण छैन । अब छिट्टै नै केन्द्रीय समितिको निर्माण गरी सार्वजनिक हुन्छ । विभिन्न राजनीतिक स्वार्थ समूहका व्यक्तिहरुले विवाद छन् भनेर प्रचार गरिरहेका छन् । त्यो समूहले जसपामा विवाद होस्, केन्द्रीय समिति निर्माण नहोस्, आफ्नो एजेन्डामा अगाडि बढ्न नसकोस् भन्ने चाहन्छ । अर्को कुरा आफ्नै स्वार्थ बढी महत्वपूर्ण ठान्नेहरुले पनि पार्टीभित्र विवाद छ भन्ने कुराको प्रचार प्रसार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया