देउवाले नचाहे सभापतिमा निधिको जीत अप्ठ्यारो छ : भरत कुमार शाह

अन्तर्वार्ता

       

भरत कुमार शाह, प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस

० नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित देखिएको छ । तपाइँको आँकलन के छ ?

— कांग्रेसको १४औं महाधिवेशन तोकिएको मिति अर्थात् आगामी फागुनमा नहुने निश्चित नै छ । किनभने साउनभित्र सबै सक्रिय सदस्यता बनाइसक्नुपर्नेमा असोजमा पनि पूरा नहुने देखिएको छ । त्यसकारण फागुनमा त हुन सक्दैन । केही समय सारेर बैशाख वा जेठसम्म हुन सक्छ ।

० तोकिएको मितिमा महाधिवेशन हुन नसक्नु कोरोना मात्र कारण हो कि पार्टीको आन्तरिक कलह पनि हो ?

— खासमा विवाद भनेको पार्टीको नेतृत्व कसले लिने भन्ने नै हो । पार्टीभित्र चुनाव हुँदैछ, सबैले आफूलाई अब्बल देखाउनका लागि आआफ्ना किसिमले तयारी गरिरहेका छन् । ती सबै विवादको समाधानको थलो महाधिवेशन नै हो । कांग्रेसभित्र देखिएको अहिलेको विवाद सैद्धान्तिक होइन । आफू कसरी नेतृत्व तहमा पुग्ने त्यसैमा विवाद केन्द्रित छ  । कांग्रेसको सिद्धान्त त एउटै हो । पार्टीमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि विवाद जस्तो देखिन्छ ।

० तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि अब विकल्पहरु के–के छन् ?

—संविधानतः महाधिवेशन भाद्रभन्दा पछाडि लग्न पाइदैन । महाधिवेशनको मिति हामीले बढाउन सक्ने भने हाम्रो विधानले चार वर्षमा चुनाव गर्ने भनेको छ । एक वर्षमा विशेष परिस्थितिमा थप्न गर्न सकिनेछ भन्ने प्रावधान छ । त्यो थप गरियो भने बैशाख–जेठसम्म जाने हो । संविधानले त विशेष परिस्थितिमा ६ महिना थप्ने भनेको छ । भनेपछि भाद्रभन्दा उता त संवैधानिकरुपमा पनि लग्नै मिल्दैन । भाद्रभन्दा उता लगियो भने पार्टी नै कोल्याप्स हुनसक्छ ।

० रामचन्द्र पौडेलले त विशेष महाधिवेशनको कुरा गर्नुभएको छ ?

— विशेष महाधिवेशन केका लागि गर्ने ? कसले गर्ने ? सभापति शेरबहादुर देउवा र पौडेल दुई जना बसेर त महाधिवेशन हुँदैन । कांग्रेसमा हजारौं क्रियाशील सदस्यहरु छन्, उनीहरुको नवीकरण गर्नुप¥यो । विभिन्न चुनावहरुमा ज्यान फालेर उनीहरु लागेका छन्, कतिपय नयाँ सदस्यहरु पनि थपिएका छन् । उनीहरुले पनि त क्रियाशील सदस्यता पाउनुप¥यो । त्यसकारणले सम्भव नभएका कुराहरु गरेर हुँदैन ।

० विशेष महाधिवेशनको माग सान्दर्भिक होइन ?

— विशेष महाधिवेशन कसरी गर्ने ? महाधिवेशन गर्नका लागि त सक्रिय सदस्यहरु चाहियो नि । भोटर लिष्ट नै छैन भनेपछि कसरी महाधिवेशन गर्न सकिन्छ ? उहाँहरु पुरानै सदस्यताबाट महाधिवेशन गरौं भन्नुहुन्छ । पुरानामध्ये कतिले पार्टी छोडेर गइसकेका होलान्, कति मरेर गइसके होलान् । कतिपय अरु पार्टीका सक्रिय नेता कार्यकर्ताहरु आएका होलान् । तिनीहरुलाई के गर्ने त ?

० नेपाली कांग्रेसको अहिलेको नेतृत्व कतिको सफल देखिनुभएको छ ?

— नेतृत्व सफल वा असफलभन्दा पनि सभापति शेरबहादुर देउवाले राम्रै काम गर्नुभएको छ । कमी कमजोरी त सबैमा हुन्छ, केही कमी कमजोरी उहाँमा पनि होला । उहाँले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहनु भएको छ । सबै कुरा सबैका लागि सही नै हुन्छ भन्ने कुरा हुँदैन ।

० कांग्रेसको प्रमुख प्रतिपक्षीको भूमिका कमजोर रहेको पार्टीबाटै गुनासाहरु छन् नि ?

— कांग्रेसले प्रतिपक्षीको भूमिका प्रभावकारीरुपमा निर्वाह गर्न सकेन भन्ने गुनासाहरु त छन् । तर, सभापति मात्रै यसको भागेदारी होइन । पार्टीका सबै नेता कार्यकर्ता हुन्छन् । सभापतिले मात्रै गरेर हुँदैन, पार्टीका सबैले गर्नुप¥यो । प्रतिपक्षीको भूमिका सभापतिले मात्रै गर्नुपर्ने होइन नि । उहाँहरु के गरिरहनुभएको छ, उहाँहरु पनि त्यही हुनुहुन्छ । त्यसकारण ती कुराहरु भन्ने मात्रै हो । आआफ्नो जिम्मेवारी सबैले लिनुपर्छ । दुई तिहाइ नजिकको सरकारले निश्चितरुपमा नै मनपरी गरेको छ । भ्रष्टाचार गरेको छ, संवैधानिक निकायहरुलाई काम गर्न दिएको छैन । प्रजातन्त्रको मर्मअनुसार काम गर्न दिएको छैन । यो सरकारले धेरै यस्ता कामहरु छन्, गर्न नहुने हो । त्यसका लागि प्रमुख प्रतिपक्षीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने नै हो । यसमा पार्टीको कमी कमजोरी त छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन । तर, एउटै व्यक्तिको मात्रै कमी कमजोरी भन्न मिल्दैन ।

० तर, पार्टीको नेतृत्व गर्ने कमाण्डर नै मुख्य जिम्मेवार हुनुपर्छ, होइन र ?

— अलि बढी जिम्मेवारी लिनुपर्ने नेतृत्व व्यक्ति नै हो । तर, पार्टीमा त सामूहिक जिम्मेवारी छ नि । कांग्रेसभित्र सबै चुनावबाट जितेर आएका छन् । सबै पदाधिकारी, सदस्यहरु निर्वाचित भएर आएका छन् । पार्टीमा एकल नेतृत्व त होइन, सामूहिक नेतृत्व हो । त्यसमा सबै जिम्मेवारी केही न केही त बन्छ नि ।

० कांग्रेसमा पहिलोपटक मधेशी मूलका कुनै नेताले सभापतिका लागि अगाडि आउनुभएको छ, विमलेन्द्र निधि । पार्टी सभापतिमा उहाँको सम्भावना कति देख्नुहुन्छ ?

— सभापतिका लागि उहाँ पनि प्रवल दावेदार हुनुहुन्छ । उहाँले कांग्रेसबाट नै राजनीतिक यात्रा सुरु गरेर धेरै संघर्ष गर्नुभएको छ । सानै उमेरदेखि कांग्रेसमा लागेको मान्छे हुनुहुन्छ उहाँ । अहिले उपसभापति पनि भइसक्नुभो । तर सभापतिका लागि त कार्यकर्ताले चुन्ने हो । अहिले पार्टीभित्र विभिन्न समूहहरु छन्, सबैले आआफ्नो दाबेदारी गरिरहेका छन् ।

० सभापति देउवा आफै पनि आकांक्षी देखिनुभएको छ र निधिले पनि दाबेदारी गर्नुभएको छ । निधिलाई स्वीकार गर्न सक्ने अवस्था छैन ?

— सभापति देउवाले नचाहेसम्म उहाँ जित्न सक्नुहुन्न । सभापति देउवाले नै आफ्नो उम्मेदवार बनाएपछि मात्रै अन्य समूहसँग राम्ररी प्रतिस्पर्धा गर्न सक्नुहुन्छ । त्यसमा सभापति देउवा, निधि, पार्टी अन्य मुख्य–मुख्य नेताहरुको कुरा मिल्नुप¥यो । अहिलेको परिस्थितिमा कसलाई सभापति बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा निष्कर्ष निकाल्दा राम्रो हुन्छ ।

० निधिलाई यस पटकका लागि सभापति चलाउन दिनुपर्छ भन्ने कुरामा तपाइँको निजि विचार के हो ?

— म पनि शेरबहादुर गुटकै हुँ र विमलेन्द्रजी पनि त्यतै हुनुहुन्छ । हामी एकै गुटका हौं । तर, मैले फलानालाई बनाउनुपर्छ भनेर हुँदैन । हाम्रा गुटका सबै मान्छेहरु बसेर निर्णय गर्नुपर्छ । म व्यक्तिगतरुपमा बोल्दै हिंड्नु राम्रो हुँदैन । बैठक बोलाएपछि आफ्नो धारणा राख्ने कुरा हुन्छ ।

० निधिनिकट स्रोतका अनुसार सभापति देउवाले उहाँलाई सहयोग गरे पनि वा नगरे पनि आफ्नो दाबेदारी छोड्नु हुन्न । त्यसोभए, निधिले सभापतिमा जित्ने सम्भावना कतिको देख्नुहुन्छ ?

— सभापति शेरबहादुर देउवाको मन्जुरीबिना उहाँले उम्मेदवारी दिनुहुन्छ जस्तो मलाई लाग्दैन । उहाँले हाम्रो गुटबाट म मात्रै उम्मेदवार हुनुपर्छ भन्नुहुन्छ । शेरबहादुरजीलाई भन्नुभएको कि मलाई सहयोग गर्नुप¥यो । तर, अहिलेसम्म शेरबहादुरजीले पनि केही भन्नुभएको छैन । उहाँ आफैले अहिलेसम्म उठ्ने कुरा आइरहेको छ । त्यसकारणले अहिलेसम्म सभापतिको उम्मेदवारी हाम्रो समूहबाट कसले दिने निश्चित भइसकेको छैन । अहिले महाधिवेशनका लागि समय पनि बाँकी छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया