पाकिस्तानी प्रधानमन्त्रीलाई भारतको कडा जवाफ

विश्व

       

नयाँदिल्ली । भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ । यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा ।

न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री खानले शुक्रबार महासभालाई सम्बोधन गरे, त्यसपछि भारतीय प्रतिनिधिले जवाफ दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महासभालाई शनिबार सम्बोधन गर्ने छन् ।

शुक्रबार पाकिस्तानका प्रधानमन्त्री खान भिडियो मार्फत गरेको सम्बोधनमा जम्मू–कश्मीर विवाद, अल्पसंख्यकमाथि भएको व्यवहार र आरएसएसको हिन्दुत्ववादी एजेण्डालाई लिएर भारतमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

भारतले कश्मीरमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको तथा जनतालाई दबाउनका लागि सेनाको प्रयोग गरेको आरोप लगाए ।

त्यसपछि भारतले आफ्नो जवाफ दिन पाउने अधिकार (राइट टू रिप्लाई) को प्रयोग गरी पाकिस्तानी प्रधानमन्त्री खानको सम्बोधनको उत्तर दिएको हो । भारतले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको र आफ्नै देशमा अल्पसंख्यक तथा अन्य संप्रदायका मुसलमानमाथि अत्याचार गरेको आरोप लगायो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरको मुद्दा उठाउँदै भने, ‘जबसम्म जम्मू–कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताको आधारमा हल हुँदैन तबसम्म दक्षिण एसियामा शान्ति र स्थायित्व हुने छैन । सुरक्षा परिषदले यो खतरनाक विवादलाई रोक्नु पर्छ र आफ्नै प्रस्तावलाई लागु गर्नु पर्छ जस्तो पूर्वी टिमोरमा गरिएको थियो ।’

पाकिस्तानका प्रधानमन्त्री खानले जम्मू–कश्मीरलाई विशेष अधिकार प्रदान गर्ने संविधानको धारा ३७० हटाएको घटनाको पनि आलोचना गरेका थिए । भारत सरकारले त्यहाँ जनसांखिक बदलाव गर्ने प्रयास गरेको आरोप पनि लगाए ।

खानको भनाईमा भारतले कडा आपत्ति प्रकट गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानको भनाईलाई राजनीतिक स्तरमा नयाँ गिरावट रहेको बताए ।

खानको भनाई झुठ, व्यक्तिगत आक्रमण, युद्ध भड्काउने खालको तथा आफ्नो देशमा भएको अल्पसंख्यकमाथिको उत्पीडन र सीमापार आतंकवादलाई लुकाउने प्रयास रहेको तिरुमूर्तिले बताएका छन् ।

तपाईको प्रतिक्रिया