चीनको सिन्जियाङमा अनुमान गरिएभन्दा बढी यातना तथा हिरासत केन्द्र

विश्व

       

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा हिरासत केन्द्रहरुको धेरै ठूलो नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अस्ट्रेलियन थिंक ट्यांकले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएको अलजजिराले जनाएको छ ।

तर, चीनले भने उइगर समुदायका लागि ‘पुनःशिक्षा कार्यक्रम’ कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ । यद्पि उक्त हिरासत केन्द्रहरुमा लाखौं उइगर समुदायहरुलाई नियन्त्रणमा राखेर यातना दिने गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट चर्को आलोचना भइरहेको छ ।

अस्ट्रेलियन रणनीतिक नीति संस्था (एसपीआई) ले उक्त क्षेत्रमा ३८० भन्दा बढी हिरासत केन्द्रहरु रहेको बताएको छ । संयुक्त राष्ट्र संघले उक्त हिरासत केन्द्रहरुमा करिब १० लाख अल्पसंख्यक मुस्लिम समुदायका मानिसहरुलाई राखिएको बताएको थियो ।

चीनले भने उक्त शिविरहरुलाई ‘आवधिक सिप प्रशिक्षण केन्द्रहरु’ भएको र अतिवादको खतराको सामना गर्न यो आवश्यक भएको बताएको छ । उक्त क्षेत्रमा यसअघि अनुमान गरिएभन्दा करिब ४० प्रतिशत हिरासत केन्द्रहरु बढी भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अन्य ६१ स्थानमा नयाँ हिरासत केन्द्रहरु बनाउन सुरु गरिएको पनि अनुसन्धानले जनाएको छ । सिन्जियाङमा मानवअधिकार हननका घटना सार्वजनिक भएसँगै अमेरिकाले सो क्षेत्रमा उत्पादित सामग्रीमा प्रतिबन्ध लगाउने जनाएको थियो । अल्पसंख्यक मुस्लिम उइगरहरुको श्रम शोषणबाट उत्पादित सामग्रीमा प्रतिबन्ध लगाउने अमेरिकाले जनाएको हो ।

तपाईको प्रतिक्रिया