चीनले हाम्रो भूमि मिचेको छैन भने सरकारले नाप नक्सा यहाँका जनतालाई देखाइदिनुपर्‍यो : जीवनबहादुर शाही

अन्तर्वार्ता

       

जीवनबहादुर शाही, कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नेपाली कांग्रेस

० चीनले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लिमि गाउँस्थित लाप्चामा अतिक्रमण गरी भवन निर्माण गरेको भन्ने समाचारहरु आइरहेका छन् । त्यहाँको वास्तविक वस्तुस्थिति के हो त ?

— हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित लिमि लाम्चा भन्ने ठाउँ हो । जुन ठाउँमा चीनले अहिले घरहरु बनाएको छ, त्यो ठाउँमा लिमीवासीहरुले परम्परादेखि नै बस्ने, गाईवस्तु चरिचरण गराउन काम हुँदै आएको थियो । पछि त्यो क्षेत्रमा मान्छेहरुको जनसंख्या घट्दै गयो, धेरैजसो मान्छेहरु बाहिर जान थाले र त्यसपछि पशुवस्तु पनि घट्दै गए । वि.सं. २०७३ सालमा चीनले लोलुङजोङ भन्ने ठाउँमा सानो–सानो कच्ची घरहरु बनायो । त्यो घर बनाउँदा हाम्रा लिमीका बासिन्दा र जनप्रतिनिधिहरु गएर त्यो भूमि हाम्रो हो, तपाइँहरुले किन घर बनाउनुभयो भनेर भन्दाखेरि चिनियाँहरुले भने कि पशुहरुका लागि यो क्वारेन्टिन हो । तपाइँहरुकै लागि हो, यो अस्थायी हो, तपाइँ हामी दुवैका लागि हो चिनियाँहरुले भने । त्यसपछि हामीले भन्यो ठिकै छ, हाम्रो लागि नै बनाएको हो । त्यसपछि ६ महिना पहिना चिनियाँ पक्ष करिब ६÷७ वटा बलियो भवनहरु बनायो । त्यो बनाइसकेपछि यहाँ विवाद देखियो । हामीले हाम्रो भूमिमा पक्का घर किन बनाउनुभयो भन्दाखेरि चिनियाँहरुले यो हाम्रै भूमि हो भनेर भन्न थाले । उनीहरुले यो घर बनाएको ठाउँ मात्रै नभई त्यसभन्दा अलि परसम्म पनि हाम्रो सिमाना हो भन्ने कुरा आइसकेपछि अलिकति विवाद भयो । त्यसपछि नाम्खा गाउँपालिका र जिल्ला प्रशासनबाट मान्छेहरु गए । त्यो बेलाको सहायक सिडियोले भन्नुभयो कि यहाँका बासिन्दा र जनप्रतिनिधिहरुका अनुसार नेपालकै भूमि हो । वि.सं. २०५८ सालदेखि लिमि गाविसले बाटो बनाउन सुरु ग¥यो । त्यो बेलाको पैसा भनेको आफ्नो गाउँ आफै बनाउँ भन्ने कुरा थियो । त्यो बेला चिनियाँहरुसँग नै सोधेर हामीले यता बाटो बनायौं ।

० नेपाली भूमि अतिक्रमण गरेर चीनले भवन निर्माण गरेको छ भने हाम्रो परराष्ट्र मन्त्रालयले चीनले भूमि अतिक्रमण गरेको छैन किन भनिरहेको छ त ?

— कुनै पनि भूमिमा विवाद हुँदा सरकारले हामीलाई सोध्नुपर्दथ्यो । पहिलाको नाप नक्सा के हो त्यो त हामीलाई थाहा छैन । हामीले पहिलेदेखि नै त्यहाँ भोगचलन गर्दै आएको छौं, बाटो बनाएका छौं । तर, आज हामीले बनाएको बाटो पनि चीनले उता लग्यो र भवन पनि निर्माण गरेको छ । त्यतिबेला चिनियाँ पक्षले आफ्नो दाबी नगर्ने तर अहिले आएर किन त्यो भूमि आफ्नो हो भन्ने कुराको जानकारी हाम्रो सरकारले हामीलाई दिनुप¥यो । हाम्रो परराष्ट्र मन्त्रालय वा हाम्रो सरकारले स्थानीय जनप्रतिनिधि, बासिन्दासहित आफ्नो नाप नक्सा देखाएर स्पष्ट पार्नु पर्दथ्यो । हामीले त त्यो ठाउँमा पहिलादेखि उपयोग गरिरहेकोले त्यो हाम्रो हो भन्छौं नै । आज हाम्रा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चुनाव जितेर मन्त्री हुनुभएछ, हामी पनि चुनाव जितेकै छौं, मन्त्री भएकै छौं । आज पनि हामी जनप्रतिनिधि हो, हामीसँग कम्तीमा सोध्नुपर्दथ्यो । तर, सरकारले एकै सीमा मिचेको छैन भनेर भन्यो । यहाँका सिडियो भन्छन् कि सरकारले यस विषयमा नबोल्न आदेश दिएको छ । यस्तो कुरा आइसकेपछि हामीलाई त झन् शंका लाग्यो । यिनीहरु मिलेपछि नक्सा पनि परिवर्तन गरे हुने हो कि ? हाम्रो सिधा कुरा छ, हामीले उपभोग गरेको, बाटो बनाएको हो, त्यसैले हाम्रो भूमि हो । चिनियाँहरुले नै हामीलाई पहिला भनेको थियो कि नेपालको सिमाना यहाँदेखि हो । त्यसले गर्दा हामीले दाबी गर्नु स्वाभाविक थियो । हामी यहाँका सर्वदलीय बैठक बसेर एउटा विज्ञ टोली पठाई छानबिन गर्नका लागि माग गरेका छौं । दक्षिण वा उत्तरतिर सिमानाको रक्षा गर्ने सीमावासीहरु नै हुन् । तर, तिनीहरुलाई एकपटक पनि सोध्दै नसोधेर कुनै निर्णय गर्नु उचित होइन । त्यसैले हामी हेर्दा स्पष्ट रुपमा हाम्रो भूमि हड्पिएको भन्ने गुनासो स्थानीयवासीहरुको छ ।

० हाम्रो सरकारले र काठमाडौंस्थित चिनियाँ दूतावासले पनि भूमि अतिक्रमण गरेको छैन भनिसकेपछि अब तपाइँहरु के गर्नुहुन्छ ?

— यदि हाम्रो सरकारले नै यस्तो दाबी गर्छ भने नाप नक्सा के हो भन्ने कुरा यहाँ स्थानीयवासीलाई देखाउनुप¥यो । पहिला चिनियाँहरुले पनि यो नेपाली भूमि नै हो भनेर स्वीकार गरेका थिए । चिनियाँ अधिकारीहरुले पनि नेपाली भूमि हो भनेर हामीलाई बाटो खन्न दिएको थियो । अब सरकारले उच्चस्तरीय टोली पठाएर त्यस विषयमा छानबिन गरिदिनुप¥यो । हाम्रो सरकारले नै हाम्रो भूमि अतिक्रमण भएको छैन भनेर भनिसक्यो भने हामीले गर्न सक्ने केही पनि होइन । हामीले मिडियाहरुमा आवाज उठाउने बाहेक केही गर्न सक्दैनौं ।

० चीनले भवन निर्माण गरिसकेपछि तपाइँहरुले आवाज उठाउनुभएको छ तर जब निर्माण कार्य भइरहेको थियो, त्यो बेला किन आवाज उठाउनु भएन त ?

— चीनले ती भवनहरु बनाएको ६ महिना भयो । त्यो ठाउँमा मान्छेको त्यति आवतजावत पनि छैन । पहिला दुईटा भवन बनाउँदा आवाज उठाएका थियौं, त्यसैले अहिले यी कुराहरु अहिले बाहिर आएको छ । त्यो हामीले हाम्रो भूमिमा तपाइँहरुले किन घर बनाउनुभयो भनेर सोध्दा चिनियाँ पक्षले पशुहरुका लागि यो क्वारेन्टि हो, तपाइँहरुका लागि पनि राम्रो हुन्छ भनेर जवाफ दिएको थियो । त्यतिबेला ठूला मुलुकले पशुहरुका लागि कुनै भवन बनाइदिएको छ भने ठिकै हो भनेर लागेको थियो । तब जब अझ ठूला भवनहरु निर्माण गरेर चीनले आफ्नो दाबी गर्दा हामीले आवाज उठाइरहेका छौं त । त्यहीं आवाज उठेर अहिले विवाद आएको हो नि त । चिनियाँहरुको बारेमा सबैलाई थाहै छ, सर्रर गएर एकैचोटि पाँच÷६ वटा घर बनाइदिन्छ । रातारात भवनहरु खडा गरिदिन्छन् ।

० चीनले त्यहाँ भवन निर्माण गर्नुको उद्देश्य के हुनसक्छ ?

— तिनीहरुले पहिला घर बनाउँदा पशुहरुको क्वारेन्टाइनका लागि हो भनेर भन्यो । तर अहिले त्यो भूमि उनीहरुकै हो भनेर दाबी गरिरहेको छ । यसमा उनीहरुको के उद्देश्य छ, किन बनायो भन्ने कुरा हामीलाई थाहै छैन । पहिला पशुहरुको क्वारेन्टिका लागि भन्यो तर अहिले पक्की संरचना बनाएपछि यतासम्म आफ्नै हो भन्न खोजेको होला ।

० चीनले यस्तै नै अन्य कति ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको हुनसक्छ ?

— अन्य कति ठाउँमा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने मलाई थाहा भएन । तर, यो हुम्ला जिल्ला हाम्रै भएकोले यहाँको कुरा मात्रै थाहा छ । अहिले देखिएको यहाँ छ । समग्रमा हेर्दा हाम्रा ठूलो छिमेकी मित्रराष्ट्रले यहाँ मिचेको छ भने अन्य ठाउँमा पनि मिचेको होला ।

० भारतसँगको सीमा विवाद देखिँदा हाम्रो सरकार ठूलो राष्ट्रवादी कुरा गर्छ तर, चीनले भूमि मिचेको छ भनेर त्यहाँका जनप्रतिनिधिले आवाज उठाउँदा किन मौन होला हाम्रो सरकार ?

— चीनको सन्दर्भमा हाम्रो सरकार किन मौन छ, त्यो त सरकारसँग नै सोध्नुपर्छ । तर, हामी सीमामा बस्ने चाहे त्यो पहाडका होस् वा मधेशका बासिन्दा होस्, हामीले हाम्रो अस्मितामाथि कसैले प्रहार गर्न मिल्दैन, भूमि मिच्न मिल्दैन भन्ने मान्यता राख्छौं । हाम्रो सरकारले अध्ययन अनुसन्धानबिनै चीनले मिचेको छैन भन्ने कुरामा आपत्ति छ । नाप नक्सा के हो त्यो हामीले हेर्न पाएका छैनौं । यो राष्ट्रवादी सरकार हो, एक इन्च पनि भूमि कसैले मिच्न पाउँदैन भन्छ तर चीनसँग विवादमा विज्ञप्ति निकालेर हुँदैन । यो–यो कारणले त्यो नेपालको भूमि होइन भनेर सरकारले नै प्रष्ट पार्नुपर्छ । त्यसैले सरकारको नियत के हो अनुसन्धानको विषय हो ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया