विश्वका सबैलाई खोप पुर्‍याउने भारतीय प्रधानमन्त्री मोदीको वाचा

विश्व

       

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको भ्याक्सिन उद्योगले भाइरसविरूद्धको लडाईंमा ’सम्पूर्ण मानवतालाई सहयोग’ गर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको वार्षिक महासभालाई सम्बोधन गर्दै मोदीले भारतको विशाल खोप उत्पादन उद्योगले कोरोना महामारीविरूद्धको लडाईंमा विश्वको सेवा गर्ने जनाएका हुन् ।

’विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक देश भएको नाताले म विश्व समुदायलाई आज अर्को एउटा आश्वासन दिन चाहन्छु’, आफ्नो रेकर्डेड सम्बोधनमा मोदीले भने ’भारतको खोप उत्पादन र वितरण क्षमतालाई संकटको यो घडीमा सम्पूर्ण मानवसेवाका लागि प्रयोग गर्नेछौं ।’

मोदीको यो प्रतिज्ञाले कोरोनाका कारण भर्चुअलरूपमा भइरहेको महासभा बैठकमा भ्याक्सिनको सर्वसुलभ उपलब्धतालाई लिएर पटकपटक उठेको चिन्तालाई छोएको छ । खोप निर्माणपछि कम र अतिकम विकसित राष्ट्रका नागरिकको पहुँचमा खोप नपुग्ने र विकसित र धनी राष्ट्रले मात्र खोपमा पहुँच पाउने विषयमा चिन्ता व्यक्त भएकोमा विश्वको सर्वाधिक ठूलो खोप उत्पादक राष्ट्र भारतका प्रधानमन्त्री मोदीको यो सम्बोधन महत्वपूर्ण मानिएको छ ।

बितेका सातामा राष्ट्रसंघ महासभामा पोप फ्रान्सिस लगायतका वक्ताहरूले खोप किन्नसक्नहरूकोमा मात्र जानसक्नेमा चासो व्यक्त गरेका थिए । मोदीको यो भनाइ देशभित्रै आफ्ना नागरिकलाई सरकारले कसरी खोप पुर्याउँछ भनेर प्रश्न उठिरहेका बेलामा आएको छ ।

महासभामा मोदीको सम्बोधन प्रसारण हुनुअगाडि भारतको सबैभन्दा ठूलो खोप उत्पादक अदार पूनावालाले खोप अभियानका लागि भारतको स्वास्थ्य मन्त्रालयलाई आगामी वर्ष करिब १ विलियन अमेरिकी डलर आवश्यक पर्नसक्ने बताएका थिए ।

आफ्नो राष्ट्रसंघको सम्बोधनमा मोदीले भारतको कोरोना खोप परीक्षण तेश्रो चरणमा रहेको जानकारी दिदैं व्यापकस्तरमा जारी रहेको परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको आशा देखाइरहेको बताए ।

 

तपाईको प्रतिक्रिया