पाकिस्तानले आतंकवादको प्रोत्साहन गरेको छ : भारत

विश्व

       

जेनेभा । संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मीर र आतंकवादको विषयमा विवाद भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्र संघका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन् ।

खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्म–कश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए ।

उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाएका थिए ।

त्यसपछि भारतीय राजदूतले पाकिस्तानले लगाएका आरोपको खण्डन गर्दै उल्टै पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरेको र आफ्नो देशका अल्पसंख्यक समुदाय र अन्य सम्प्रदायका मुस्लिमसँग अत्याचार गरेको दोषारोपण गरे ।

खानले जम्मु काश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको पनि आलोचना गरेका थिए । उनले भारतको राष्ट्रिय स्वयंसेवक दल अर्थात् आरएसएसका संस्थापकहरू नाजीबाट प्रेरित भएको आरोप लगाउँदै आरएसएसले मुस्लिम र इसाईँहरूलाई निसाना बनाउने गरेको दाबी गरे ।

इमरान खानको भनाइको भारतले कडा प्रतिवाद गरेको छ । संयुक्त राष्ट्र संघमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई “राजनीतिक पतन“ को सङ्ज्ञा दिएका छन् ।

उनले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरूको उत्पीडन तथा सीमापार आतंकवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी गरे ।

इमरान खानको भाषणको बेला भारतीय मिशनका प्रथम सचिव मिजितो विनितो महासभा छोडेर बाहिरिएका थिए । त्यसपछि भारतको उत्तर दिने अधिकार प्रयोग गर्दै उनले पाकिस्तानी आरोपहरूको खण्डन गरे ।

मिजितो विनितोले पाकिस्तानलाई संकेत गर्दै आतंकवादीहरूलाई पैसा उपलब्ध गराएको आरोप लगाए । पाकिस्तानले आतंकवादप्रति आफ्नो नैतिक, आर्थिक र भौतिक समर्थन छोडेर मात्र सामान्य राष्ट्र बन्न सक्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया