डा.गोविन्द केसीको माग सम्बोधन गर्न राष्ट्रिय विद्यार्थी संघको माग

समाचार

       

काठमाडौं, १४ असोज । जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले आमरण अनसनरत् सत्याग्रही डा.गोविन्द केसीको माग सम्बोधन गर्न माग गरेको छ ।

कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रह मार्फत् सरकारलाई दबाब दिँदै आएका आदर्श व्यक्तित्व डा.गोविन्द केसीले आमरण अनशन बस्दै आएका छन् ।

सरकारले उनको जायज मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता सहित सहमति गर्ने तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको आरोप राविसंघले लगाएको छ ।

राविसंघका महासचिव रञ्जित निष्पक्षले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाल डा. गोविन्द केसीले उठाउनु भएको दुर्गम भेगकाजनतालाई शिक्षा र स्वास्थ्यमा सहजपहुँच हुनुपर्छ भन्ने उहाँको माग सही र जनहितमा छ । त्यसैले राष्ट्रिय विद्यार्थी संघले उहाँको मागप्रति पूर्ण एक्यबद्धता व्यक्त गर्दछ ।’

डा.गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रको एक असल, सादगी जीवनशैली सहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हुन् । उनले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहेका छन् ।

हाल डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् । उनको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न राष्ट्रिय विद्यार्थी संघले सरकारसँग माग गरेको छ ।

डा.गोविन्द केसीको जीवनमा लाखौं जनसमुदायको आशा र भरोसा अडिएको छ । सरकारले डा.गोविन्द केसीको जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलवाड नगरोस् भनी महासचिव निष्पक्षले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘समय धेरै छैन । यदि एक सत्याग्रहीले सरकारको बेइमानीका कारण अनसनकै क्रममा जीवन गुमाउनु प¥यो भने त्यस पछिको परिस्थिति भयानक हुनेछ । उक्त परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने चेतावनी दिन चाहन्छौं ।’ निष्पक्षले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया