चीनले सिरिन्ज रोक्दा नेपाली बालबालिका जोखिममा

समाचार

       

काठमाडौं, १४ असोज । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज ल्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो । सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक रमेश खरेलले खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी रहेको बताए । स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतमका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप हो । जंगलको बीचमा अलपत्र कन्टेनरमा ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् ।

तपाईको प्रतिक्रिया